एनसेल बाह्रखरी गल्फ र आर्थिक परिसंवाद वैशाख ९ मा

बाह्रखरी मिडियाले यस वर्षको बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद आगामी वैशाख ९ मा गर्ने भएको छ । मिडियाले वार्षिक रुपमा आयोजना गर्दै आएको गल्फ तथा आर्थिक परिसंवाद यो वर्ष काठमाडौंको गोकर्ण गल्फ कोर्टमा हुने भएको हो ।
राजधानीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइयो । यस वर्ष कार्यक्रमको नाम ‘एनसेल बाह्रखरी गल्फ एन्ड इकोनोमिक सिम्पोजियम’ रहेको छ । यसको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने तय भएको छ । बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यका अनुसार कार्यक्रममा एक हजार पाँच सयभन्दा बढी पाहुना सहभागी हुनेछन् ।
बाह्रखरीका कार्यकारी अध्यक्ष तथा प्रधान सम्पादक प्रतीक प्रधानले खेल र आर्थिक क्षेत्रलाई जोड्नका लागि बाह्रखरीले यस्तो कार्यक्रम आयोजना गरेको बताए । “खेल र आर्थिक क्षेत्रलाई जोड्न हामीले यो कार्यक्रम आयोजना गरेका हौं,” उनले भने । उनका अनुसार खेलसँगै बाह्रखरीले वार्षिक रुपमा कथा प्रतियोगिता आयोजना गरेर साहित्य क्षेत्रको विकासमा समेत सहयोग पुर्याएको छ ।
आर्थिक परिसंवाद कार्यक्रममा प्रधानमन्त्री, अर्थमन्त्री, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, गभर्नर, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सका प्रमुख, पदाधिकारीसहित अर्थविद्, बैंकर, उच्च तहका कर्मचारी, व्यवसायीलगायत करिब चार सय जना सहभागी हुनेछन् । एक जना विज्ञबाट वर्तमान आर्थिक अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।
अर्को चरणको आर्थिक सुधारमा सहयोग पुगोस् भन्ने उद्देश्यले ‘आर्थिक परिसंवाद’ आयोजना गरिएको हो । गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरेले प्रतियोगिता जित्नेले पाउने ‘सुनको बल’ सार्वजनिक गरेका थिए । यस्तै गोकर्ण गल्फ क्लबका निर्देशक दीपक आचार्यले यस्ता कार्यक्रमको निरन्तरता ठूलो विषय भएको बताउँदै बाह्रखरीले विगत पाँच वर्षदेखि निरन्तरता दिएकोमा प्रशंसा गरेका थिए ।
प्रतियोगितामा काठमाडौं, धरान, विराटनगर, वीरगन्ज, चितवन, पोखरा, बुटवल, नेपालगन्ज, धनगढीसहित केही विदेशी ‘कर्पोरेट’ गल्फर पनि उपस्थित हुनेछन् । प्रतियोगिताामा सहभागी गल्फरले गोकर्ण गल्फ क्लबको १८ होलमा ‘स्टेबल फोर्ड फम्र्याट’मा प्रतिस्पर्धा गर्नेछन् । यस प्रतियोगितामा ‘खेलाडी छनोट समिति’ले छनोट गरेका खेलाडीले मात्रै भाग लिन पाउनेछन् । १८ होलमा स्टेबल फोर्ड फम्र्याटमा प्रतिस्पर्धा हुनेछ ।