स्याङ्जामा खानेपानीको पहुँच ९० प्रतिशत

स्याङ्जाका ९० प्रतिशत घरपरिवारले सहज रुपमा खानेपानीको उपभोग गर्दै आएका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लामा धारा र पाइपको प्रयोगमा ८९ दशमलव ५ प्रतिशत नागरिकले सहज रुपमा खानेपानीको उपभोग गर्दै आएको पाइएको हो ।
जिल्लाका ६८ हजार ९ सय ५९ घरपरिवार मध्ये ६१ हजार ६९२ परिवारले धारा पाइपको पानी घरभित्र र परिसरमै उपभोग गर्दै आएको तथ्यांकमा समावेश गरिएको छ । झण्डै ६ हजारले मूलधाराको र एक हजार परिवारले खुल्ला इनारको पानी उपभोग गर्दै आएको तथ्यांकमा उल्लेख छ ।
तथ्यांकको सुविधा र साधनअन्तर्गत ६५ दशमलव ७ प्रतिशत अर्थात् ४५ हजार २९३ परिवार काठ र दाउरामार्फत् खाना बनाउने इन्धनका रूपमा प्रयोग गर्दै आएका छन् । एलपी ग्याँसको प्रयोग गर्ने नागरिकको संख्या २२ हजार ६४३ रहेको छ । वायोग्याँस र विद्युत प्रयोग गर्नेको संख्या करिब दुई प्रतिशतमात्रै छ ।
बत्ती बाल्न प्रयोग हुने इन्धनतर्फ ९९ प्रतिशत घरपरिवारले विद्युत उपभोग गर्दै आएको तथ्यांकमा देखिन्छ । नेपालकै ठूलो १४४ मेगावाटको जलविद्युत ‘कालिगण्डकी ए परियोजना’ मार्फत् विद्युत प्राधिकरण र ९ दशमलव ४ मेगावाटको बुटवल पावर कम्पनी (बीपीसी) आँधीखोला वितरण केन्द्रले जिल्लाका शतप्रतिश घरधुरीका नागरिकले विद्युत सेवा उपभोग गरेको दाबी गरेका छन् ।
तथ्यांकअनुसार जिल्लाका ५० हजार ३३० ले सुविधा सम्पन्न र १५ हजार परिवारले साधारण शौचालयको प्रयोग गरेको देखिन्छ । शौचालयको रुपमा दुई हजार ६ सयले सार्वजनिक ढल प्रयोग गर्दै आएका छन् भने १ प्रतिशत घरपरिवारको शौचालय नै छैन् । साधन र सुविधाअन्तर्गत स्याङ्जाका करिब ९८ प्रतिशत घरपरिवारले कुनै न कुनै साधन र सुविधा प्रयोग गर्दै आएका छन् ।
रेडियो ३४, टेलिभिजन ६४, साधारण मोबाइल ८० प्रतिशत घरपरिवारले प्रयोग गरेका छन् भने, स्मार्ट मोबाइल फोन प्रयोग गर्नेको संख्या करिब ७६ प्रतिशतले हुने ५३ हजार घरपरिवार रहेको छ । जिल्लामा २५ हजार घरपरिवारले इन्टरनेटको प्रयोग गर्दै आएको तथ्यांकले देखाएको छ ।
तथ्यांकअनुसार आठ हजार घरपरिवारले ल्यापटप वा कम्प्युटर प्रयोग गरेका छन् भने करिब दुई हजार घरपरिवारले कार, जीप भ्यान प्रयोग गरेको देखिन्छ । झण्डै २० प्रतिशतले हुने १५ हजार घरपरिवारले मोटरसाइकल वा स्कुटर प्रयोग गर्दै आएको तथ्यांकले देखाउँछ ।