एनआरएनएद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले राष्ट्रिय आविष्कार केन्द्रलाई ६३ लाख ९ हजार बराबरको सहयोग गरेको छ । सामाजिक साझेदारीको अवधारणा अन्तर्गत एनआरएनएले २०७२ वैशाख १२ गतेको भूकम्पपछिको पुर्ननिर्माणका क्रममा सुरु गरेको गोखराको लाप्राक बस्ती विकास आयोजनाका लागि खरिद गरिएका निर्माण उपकरण, औजार र सवारी साधन तथा बालुवाटारस्थित एनआरएनए सचिवालयले खरिद गरेका फर्निचर तथा सामग्रीहरु एनआईसीलाई सहयोगस्वरुप हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण गरिएका उपकरण एवं सामग्रीहरु आविष्कार केन्द्रको वीरगन्जस्थित कृषि औजार कारखाना लिमिटेडको पुर्नस्थापनाका लागि प्रयोग गरिनेछ । संघका कार्यकारी अध्यक्ष रबिना थापाले नेपालका वैज्ञानिक तथा समाजसेवी महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्रको स्थापनासहित मुलुकमा वैज्ञानिक अनुसन्धान, सूचना–प्रविधि तथा समाजका अन्य क्षेत्रमा राष्ट्रको उन्नति र सम्वर्द्धनका लागि पुर्याएको योगदानको प्रशंसा गरिन् । एनआरएनएले प्रदान गरेका ती उपकरणले प्रविधि र विज्ञानको क्षेत्रमा अतुलनीय योगदान पुर्याइरहेको रहेको आविष्कार केन्दलाई मद्दत पुग्ने आशा राखेको उनले बताइन् ।
संघका अध्यक्ष कुल आचार्यले विदेशमा बसेका नेपालीले आविष्कार केन्द्रलाई यथाशक्य सहयोग गर्ने प्रतिबद्धता जनाउँदै पुनको सक्षम नेतृत्वमा मुलुकभित्रै विभिन्न आविष्कार भइरहेकोप्रति खुशी व्यक्त गरे । संघले समृद्ध नेपाल निर्माणका लागि विदेशमा रहेका नेपालीहरु आ–आफ्नो स्थानबाट सहयोग गरिरहेको भन्दै अध्यक्ष आचार्यले आविष्कार केन्द्रमार्फत मुलुकमा नवीनतम विकासका लागि साझेदारी गर्न पाउँदा गौरवान्वित महसुस भएको बताए ।
संघका उपाध्यक्ष आरके शर्माले विदेशमा सिकेको ज्ञान र सीपलाई मुलुकमा प्रयोग गर्न फर्कने हुटहुटी सधैँ चलिरहने भएपनि विभिन्न कारण फर्कन नसकेको प्रसंग जोड्दै महावीर पुनले देशमा फर्केर गरिरहेको कामले एनआरएनलाई प्रेरणा प्राप्त भएको बताए । समृद्ध मुलुक निर्माण र विकासका लागि आविष्कार केन्द्रसँग एनआरएनएले सधै सहकार्य गर्ने शर्माको भनाइ थियो ।
संघका प्रवक्ता सोम सापकोटाले मुलुकमा कृषि सामग्रीको आयात बढ्दो क्रममा रहेको अवस्थामा विगत ३ दशकदेखि बन्द रहेको कृषि औजार कारखाना सञ्चालनका लागि आविष्कार केन्द्रले लिएको पहलकदमीले नेपालको कृषि क्षेत्रको विकास तथा प्रवद्र्धनका लागि थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा आविष्कार केन्द्रका संस्थापक महावीर पुनले संघले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा राखेको बताए । कृषिप्रधान देश भएपनि कृषि औजार बनाउने कारखाना नै ३ दशकदेखि बन्द रहँदा आफूलाई केही गर्नैपर्छ भन्ने महसुस भएकोले पनि वीरगञ्जस्थित कृषि औजार कारखाना पुनःसञ्चालनको योजना अघि सारेको पुनको भनाइ थियो ।
उक्त योजनामा संघले सहयोगको लागि अग्रसरता देखाएकोमा पुनले खुशी व्यक्त गरे । देशैभरिका किसानले आविष्कार केन्द्रबाट ठूलो अपेक्षा राखेकोले पनि कृषि औजार कारखाना पुर्नस्थापनाका लागि आफू अहोरात्र खटिरहेको उनको भनाइ छ । एनआरएनएले समुदायको हितका लागि खरिद गरिएका सामग्री समुदायलाई नै हस्तान्तरण गर्ने असल मनशायसहित आविष्कार केन्द्रलाई सहयोग गरेको हो ।
राष्ट्रिय आविष्कार केन्द्रको सहयोगको लागि ‘मेक इन नेपाल’ र ‘स्थानीय नवप्रवर्तन’ को अवधारणा अन्तर्गत संघ तथा संघका अभियन्ताहरुले व्यक्तिगत रुपमा आर्थिक सहयोग गर्दै आएका छन् । उक्त अवधारणाबाट प्रेरित भई संघले यसअघि पनि आविष्कार केन्द्रलाई करिब १३ लाख रुपैयाँ हस्तान्तरण गरिसकेको छ । आविष्कार केन्द्रलाई प्रोत्साहन गर्नकै लागि भन्दै संघका पूर्वअध्यक्ष भवन भट्टद्वारा स्थापित एक करोड राशीको ‘भवन कीर्ति रत्न’ पुरस्कार आविष्कार केन्द्र तथा एनआईसीका संस्थापक पुनलाई प्रदान गरिएको थियो ।