सुदूरपश्चिममा सवारी साधन खरिद घट्यो, राजस्व संकलन बढ्यो

सुदूरपश्चिम प्रदेशमा नयाँ सवारी साधन खरिद गर्ने दर घटेको छ । विगत दुई वर्षयता सवारी साधन खरिद गर्ने क्रम ओरालो लागेको छ । यातायात व्यवस्था कार्यालयका अनुसार प्रदेशमा नयाँ सवारी साधन दर्ता हुने क्रम घट्दै गएको छ ।
तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशमा सबै भन्दा बढि २०७७/०७८ मा २४ हजार १६० वटा नयाँ सवारी साधन गर्दा भएको थियो । त्यस वर्ष सबै भन्दा बढि १९ हजार ८८५ वटा मोटरसाइकल/स्कुटर दर्ता भएको थियो । २०७९/०८० मा १७ हजार ६४ वटा मोटरसाइकल/स्कुटर दर्ता भएकोमा चालु आर्थिक वर्षको फागुन मसान्तसम्म चार हजार ४६ वटा मात्रै दर्ता भएको छ ।
२०७९/०८० मा २१ हजार ७५५ वटा र चालु आर्थिक वर्षको फागुन मसान्तसम्म चार हजार ९६५ वटा नयाँ सवारी साधन दर्ता भएको छ । २०७६/०७७ मा १४ हजार ६५९, २०७५/०७६ मा १८ हजार ९११ र २०७४/०७५ मा १६ हजार ६३७ वटा नयाँ सवारी साधन गर्दा भएको थियो । चार पांग्रे सवारी साधन २०७५/०७६ मा सबै भन्दा बढि दर्ता भएको थियो ।
सो वर्ष तीन हजार १९१ वटा चारपांग्रे सवारी साधन गर्दा भएकोमा त्यसपछि निरन्तर नयाँ दर्ता घट्दै गएको छ । २०७६/०७७ मा दुई हजार ६३ र २०७७/०७८ मा दुई हजार ६२०, २०७८/०७९ मा दुई हजार ५३४ र चालु आर्थिक वर्षमा फागुन मसान्तसम्म ५१४ वटा चार पांग्रे सवारी साधन दर्ता भएको छ । २०७४/०७५ मा दुई हजार ८६९ वटा नयाँ चार पांग्रे सवारी साधन गर्दा भएको थियो ।
तीन पांग्रे सवारी साधन (अटो रिक्सा) आर्थिक वर्ष २०७५/०७६ मा सबै भन्दा बढि दुई हजार १७६ वटा दर्ता भएकोमा त्यसपछि गत आर्थिक वर्ष २०७८/०७९ मा दुई हजार १५७ वटा अटो रिक्सा दर्ता भएको छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ४०५ वटा मात्रै अटो रिक्सा दर्ता भएको छ । आर्थिक वर्ष २०७४/०७५ मा एक हजार ८४३, २०७६/०७७ मा एक हजार ३७८ र २०७७/०७८ मा एक हजार ६५५ वटा नयाँ अटो रिक्सा दर्ता भएको थियो ।
कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा अटोमोवाइल्स व्यवसायी पुस्कर ओझाले सरकारले चार पांग्रे सवारी साधन आयातमा रोक लगाएको कारण नयाँ चार पांग्रे खरिद गर्ने दर घटेको बताए । उनले महंगी, बैंकको बढ्दो व्याजदर र नागरिकको आयस्रोत घटेको लगायतका कारण सवारी साधन खरिद गर्ने दर घट्दै गएको बताए । मानिसहरुसँग आफ्नै सवारी साधन चढ्ने, यातायात व्यवसाय गर्ने चाहना हुँदा हुँदै पनि पैसा नभएको कारणले गर्दा गाडी खरिद गर्न नसकिरहेको उनले बताए ।
सवारी साधन खरिद दर घटेपनि राजस्व वृद्धि
सवारी साधनको खरिद तथा दर्ता हुने क्रम घटेको भएपनि सवारी साधन दर्ता वापत् सरकारले पाउने राजस्व वृद्धि भएको छ । आर्थिक वर्ष २०७४/०७५ देखि गत आर्थिक वर्ष २०७८/०७९ सम्म क्रमशः ५२ करोड ६२ लाख, ५५ करोड ८८ लाख, ५७ करोड ५२ लाख, ६८ करोड सात लाख र ७८ करोड २९ लाख रुपैयाँ नयाँ सवारी सधान दर्तावापत् राजस्व संकलन भएको प्रदेश सरकारको प्रतिवेदनमा उल्लेख छ ।
सवारी साधन कम दर्ता भएपनि सवारी साधनको मूल्य वृद्धि र सरकारले नयाँ सवारी साधन दर्ता शुल्कमा लगाउने कर वृद्धि गरेको हुनाले राजस्व संकलन वृद्धि हुँदै गएको छ ।