प्रविधिले जाँतो तथा सिलौटा बनाउने पेसा संकटमा

रोल्पा जिल्ला सुनछहारी गाउँपालिका–५ जैमाकस्ला थनावाङ निवासी ३९ वर्षीया जस्मान विष्टको पुख्र्यौैली पेसा जाँतो र सिलौटा बनाउने हो । घर नजिकैको पहाडमा रहेको ढुंगाखानीबाट ढुंगा निकाल्ने र त्यसलाई कुँदेर चिटिक्क परेको पिठो पिस्नलाई जाँतो र भान्सामा अचार तथा अन्य परिकार पिस्नलाई सिलौटा बनाउने गर्छन् ।
तिनै सिलौटा र जाँतो बिक्री गरेर भएको आम्दानीबाट उनले घरव्यवहार चलाउने गरेका छन् । तर पछिल्लो समय जाँतो तथा सिलौटाको बिक्री भने घट्दै गएको छ । पिठो पिस्नका लागि गाउँ–गाउँमा मिल स्थापना भएको र अचार पिस्नका लागि मिक्सर भित्रिएसँगै चाँकी (जाँतो) तथा सिलौटाको बिक्रीमा कमी भएको उनी बताउँछन् ।
“पहिले गाउँघरमा पिठो जाँतोमा पिस्ने गरिन्थ्यो, अचार सिलौटामा लोराले पिस्ने गरिन्थ्यो र व्यापार हुन्थ्यो,” जस्मान भन्छन्, “अहिले गाउँगाउँमा पिठो पिस्नलाई मील र प्रायः सबैका घरमा अचार पिस्नलाई विदेशी मेसिन छ, त्यही भएर व्यापार घट्दै गएको छ ।” सिलौटा तथा जाँतोको बिक्री घट्दै गए पनि आफूहरू परम्परात सीपको संरक्षण गर्नुका साथै थोरै भए पनि आम्दानी हुन्छ कि भनेर पुख्र्याैली पेसा गर्दै आएको बताउँछन् ।
“गाउँमा सामान्य खेती गर्छौं, व्यावसायिक खेती गर्नलाई पैसा छैन,” उनले भने, “परम्परागत खेतीले परिवार धान्न मुस्किल हुन्छ, त्यसैले पुख्र्यौली पेसा पनि गर्दै आएका छौँ ।” पुख्र्याैली पेसाका रूपमा रहेको सिलौटा तथा जाँतो बनाउने काम ढुंगाखानीमा गर्नुपर्ने भएकाले जोखिमपूर्ण भए पनि सामान्य लगानीमा गर्न सकिने भएकाले आफूहरूले पेसा छोड्न नसकेको उनी बताउँछन् ।
“ठूलो व्यापार व्यवसाय गर्ने पैसा छैन,” उनले भने, “सामान्य लगानीमै चाँकी र सिलौटा बनाउन सकिने र त्यसलाई बिक्री गर्दा पैसा कमाउन सकिने भएकाले पुख्र्याैली काम गरिराछौँ ।” ढुंगाबाट सामग्री बनाएर बिक्री गरेवापत थनावाङ टोल विकास समितिलाई प्रतिपिस दुई सय रूपैयाँ दिने गर्दछन् । जाँतो तथा सिलौटाहरू परम्परागत उपकरण छिना, घन, झब्बल, हाते घन, साबेताको सहायताले बनाउने गरेको जस्मान बताउँछन् ।
केही वर्ष अघिसम्म खानीबाटै दैनिक रूपमा ३/४ चाँकी तथा सिलौटाहरू बिक्री हुने गरे पनि पछिल्लो समय वर्षभरिमा ५० देखि ६० पिसमात्रै बिक्री हुने गरेका छन् । पिठो पिस्न तथा अचार बनाउन नयाँ–नयाँ प्रविधिको विकास भएसँगै सिलौटा तथा जाँतोको व्यवसायमा कमी आएको ४८ वर्षीय अर्का स्थानीय जितबहादुर विष्ट बताउँछन् ।
“पहिले जाँतो र सिलौटाको लागि हामीलाई अडर आउँथ्यो, अडरअनुसार विभिन्न साइजका चाँकी र सिलौटा बनाएर विक्री गथ्र्यौं,” विष्टले भने, “धेरै बिक्री गर्दा आम्दानी पनि राम्रो हुन्थ्यो तर अहिले बिक्री नै हुन छोड्यो ।” उनका अनुसार सिलौटा प्रतिपिस १५ सय र चाँकी प्रतिपिस ४ हजार ५ सय रूपैयाँका दरले बिक्री हुने गर्दछ । एउटा चाँकी तयार गर्न चारदेखि पाँच दिन र सिलौटा बनाउन दुईदेखि तीन दिनसम्म लाग्ने गरेको तर मिहिनेतअनुसारको मूल्य भने नभएको विष्ट बताउँछन् ।
“ढुंगाखानीमा गएर पहिले चट्टान फोडेर ढुंगा निकाल्ने र त्यसलाई कुँदेर सिलौटा तथा चाँकी बनाउनु पर्छ । यो जोखिमको काम पनि हो,” उनले भने, “सिलौटा तथा चाँकी बनाउँदा श्रम पनि धेरै लाग्छ तर श्रमअनुसारको न मूल्य पाइन्छ, न त बजार नै छ ।” उनका अनुसार चाँकी तथा सिलौटामा पिसेको पिठो तथा अचारको स्वाद मन पराउने कतिपयले अहिले पनि माग गर्ने गरेको बताउँछन् ।
रोल्पाको जैमाकस्ला भन्ने ठाउँमा सिलौटा तथा जाँतो बनाउनका लागि प्रशस्तै ढुंगा भए पनि बजारको अभावसँगै मिहिनेतअनुसारको मूल्य नहुँदा परम्परागत सामग्रीसँगै आफूहरूको पेसा नै हराउने अवस्था आएको उनले बताए । खानीबाट बिक्री हुन छोडेपछि पछिल्लो समय आफूहरूले गाडीमा राखेर रोल्पाका विभिन्न ठाउँदेखि दाङसम्म आउने गरेको उनले बताए ।
खानीबाट ढुंगा निकाल्नेदेखि बनाउँदासम्म करिब ६/७ दिन लाग्ने गर्दछ । सुरुमा गाउँमा १५/१६ घरपरिवार नै आबद्ध रहेको भए पनि पछिल्लो समय जाँतो तथा सिलौटा बिक्रीमा कमी आएसँगै अहिले ५/६ घरपरिवारका मानिस आबद्ध रहेको जैमाकस्लाका स्थानीय भागीराम विष्ट बताउँछन् । कुनै समय चाँकी तथा सिलौटाका लागि रोल्पादेखि दाङसम्म नै चर्चित ठाउँ जैमाकस्ला थनावाङ भए पनि पछिल्लो पेसा नै संकटमा परेको भागीराम बताउँछन् ।