Logo

सचिवको गलत निर्णयले सरकार विवादमा : मन्त्री यादव

“सचिवहरूले मलाई भन्दै भनेनन् । पूर्वाधार नभइ निर्णय गर्नु मेरो गल्ती थियो । सबै जिम्मा म लिन्छु ।”

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सचिवको गलत निर्णयका कारण सरकार विवादमा परेको बताएका छन् ।
सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मन्त्री यादवले पूर्वाधार भए नभएको नहेरी भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णय गर्दा सचिवले कारणले गर्दा चौतर्फी विरोध भएको बताएका हुन् । “सचिवको भर परेर मैले नहेरेर प्रस्ताव लगे,” मन्त्री यादवले भने, “यसको जिम्मेवार म पूर्णरूपमा लिन्छु र माफीसमेत माग्छु ।” सचिवहरूले गुमराह राखेका कारण गलत निर्णय लिन पुगेको भन्दै उनले त्यसको जिम्मेवारी आफूले लिने बताए ।
“हामीसँग केन्द्रमा एउटा मात्रै ल्याव रहेछ, त्यसले दिएको रिपोर्ट पनि भरपर्दो रहेनछ सचिवहरूलाई यो कुरा थाह थियो,” उनले भने, “थाहा भएको कुरा त मन्त्रीलाई जानकारी दिनु प-यो नि ।” यद्यपी प्रधानमन्त्री वा अरु कसैको पत्र वा दबावमा निर्णय फिर्ता नलिएको उनको स्पष्टीकरण छ ।
मन्त्री यादवले पूर्वाधार नभई निर्णय गर्नु आफ्नो गल्ती भएको भन्दै माफी मागे । “सचिवहरूले मलाई भन्दै भनेनन् । पूर्वाधार नभइ निर्णय गर्नु मेरो गल्ती थियो । सबै जिम्मा म लिन्छु,” उनले भने, “म जनतालाई विषादी खान दिने छैन । अहिलेलाई गल्ती भयो ।” प्रधानमन्त्री कार्यालयका सचिव, वाणिज्य सचिव तथा कृषि सचिवले गल्ती गरेको मन्त्री यादवको भनाइ थियो ।
यस्तै उद्योग सचिव यमकुमारी खतिवडाले पनि सचिवहरूले गल्ती गरेको स्वीकार्दै यसमा सबैभन्दा धेरै जिम्मेवारी कृषि सचिवको रहेको बताइन् । “गल्ती गर्ने सचिवले त्यसको जिम्मेवारी लिनुपर्छ,” उनले भनिन, “मैलै गल्ती गरेको भए पनि जिम्मा लिन्छु तर यस विषयमा म संलग्न छैन ।”
कृषि मन्त्रालयअन्तर्गत विषादी तथा क्वारेन्टाइन परीक्षण ल्याब ७ वटा भए पनि ती प्रयोग भएका छैनन् । तर पूर्वाधार अभाव देखाउँदै सरकार विषादी परीक्षणपछि मात्र तरकारी भित्र्याउने निर्णयबाट पछि हटेको छ । ती ल्याब कर्मचारी अभावले प्रयोगहीन बनेका छन् ।
सरकारसँग ल्याब भए पनि धेरै बन्दकै अवस्थामा रहेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जानकारी दिएको छ ।
केन्द्रका अनुसार हाल अत्तरिया, नेपालगन्ज, बुटवल, पोखरा, सर्लाही, बिर्तामोड र कालीमाटीमा गरी ७ वटा ल्याब छन् । तर तरकारी तथा फलफूल परीक्षण गर्न केन्द्रका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा प्रयोगशाला छ ।
सरकारले असार २ गते राजपत्रमा प्रकाशित गरेर भन्सार विन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादी अवशेष परीक्षण अनिवार्य गरेको थियो । प्रयोगशाला अभावका कारण फलफूल तथा तरकारी बोकेका गाडी भन्सारमै रोकिएपछि भारतले दबाब दिँदै आएको थियो । त्यसको दुई साता वित्न नपाउदै सरकार आफैले गरेको निर्णय फिर्ता लिएपछि अहिले त्यसको चौतर्फीरूपमा विरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्