Logo

झापामा जग्गाको कित्ताकाट खुला

झापाका विभिन्न स्थानीय तहमा जग्गाको वर्गीकरण गरिएसँगै कित्ताकाट सुरु भएको छ । सरकारले जारी गरेको भू–उपयोग ऐन २०७६ अनुसार जग्गालाई १० किसिमबाट वर्गीकरण गर्नुपर्ने र त्यसको अधिकार स्थानीय तहलाई दिएपछि झापाका स्थानीय तहहरुले धमाधम जग्गा वर्गीकरण अगाडी बढाएका छन् । झापाको दमक नगरपालिकामा जग्गाको कित्ताकाट खुलेको छ ।

दमक नगरपालिकाले जग्गाको वर्गीकरणसहितको प्रतिवेदन पारित गरेसँगै जग्गाको कित्ताकाट खुलेको हो । नगरपालिकाको गत मंसिर २० गतेको कार्यपालिका बैठकले भू–उपयोग कार्यविधि २०७९ पारित गरेपछि अब वडा कार्यालयले कित्ताकाटका लागि सिफारिस दिन थालेको प्रमुख प्रशासकीय अधिकृत शशी राईले बताए । उनले जग्गाको वर्गीकरण गरिएपछि रोकिएको कित्ताकाट खुलाउन मालपोत कार्यालय दमकलाई पत्राचार गरी कार्यान्वयनमा समेत आइसकेको जानकारी दिए ।

नगरपालिकाले पारित गरेको भू–उपयोग कार्यविधि २०७९ कार्यविधिमा जग्गालाई शहरी, कृषि, औद्योगिकसहितका विभिन्न क्षेत्रमा वर्गीकरण गरिएको र सोही कार्यविधि अनुसार कित्ताकाटको काम सुरू गरिएको मालपोत कार्यालयका कर्मचारी मेदनी पोखरेलले बताए । त्यस्तै बिर्तामोड नगरपालिकाले वडा नम्बर १ देखि ५ सम्मको जग्गाको चैत १२ गतेदेखि कित्ताकाट खुल्ने भएको छ ।

बिर्तामोड नगरपालिकाले वडा नम्बर १ देखि ५ सम्मको जग्गाको वर्गीकरणको टुंगो लगाएको नगर प्रमुख तथा स्थानीय भू–उपयोग परिषद् अध्यक्ष पवित्रा महतारा प्रसाईंले बताइन् । बिर्तामोड नगरपालिकाले जग्गा वर्गीकरणको टुंगो लगाएको र प्रक्रिया टुंगिएका १ देखि ५ सम्मका वडाको कित्ताकाट चैत १२ गतेदेखि खुलाउने गरी तयारी गरेको उनले बताइन् । बाँकी रहेका वडा नम्बर ६ देखि १० सम्मका वडाको पनि जिआइएस प्रणालीको माध्यमबाट धमाधम काम भइरहेकाले जतिसक्दो चाँडै टुंग्याइने उनले बताइन् ।

भू–उपयोग नियमावली, २०७९ परिच्छेद ३ दफा १० बमोजिम बिर्तामोड नगरक्षेत्र भित्रका वडा नम्बर १ देखि ५ सम्मको जग्गाको जग्गाधनी दर्ता स्रेस्ता र जग्गाधनी दर्ता प्रमाण पुर्जा अद्यावधिक गर्ने कार्य चैत १२ देखि सुरु गर्ने र कित्ताकाट गरिने भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरले पत्र पठाएर जानकारी दिएको उनले बताइन् ।

बिर्तामोड नगरपालिकाले भू–उपयोग ऐन २०७६ को दफा ४ तथा भू–उपयोग नियमावली २०७९ को नियम ५ बमोजिम भू–उपयोग क्षेत्र नक्सा तथा विवरण प्राप्त भएकाले उक्त क्षेत्रमा पर्ने जग्गाहरुको भू–बनोट, भूमिको क्षमता तथा उपयुक्तता, भूमिको मौजुदा उपयोग र आवश्यकताका आधारमा जग्गालाई भू–पयोग ऐन २०७६ को दफा ४ को उपदफा १ बमोजिमका क्षेत्रमा वर्गीरकण गर्ने निर्णय गरेको उनले बताइन् ।

सरकारले केही महिनाअघि जग्गाको वर्गीकरणअनुसार त्यसको उपयोग गराउने नीतिलाई कार्यान्वयन गर्न आवश्यक पर्ने नियमावली जारी गरेको र त्यही अनुसार जग्गाको वर्गीकरण गरिएको बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौलाले बताए ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जारी गरेको भू–उपयोग नियमावलीमा जग्गालाई कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्विक महत्व र आवश्यकता अनुसार तोकिएका अन्य क्षेत्रसहित विभिन्न १० वटा समूहमा वर्गीकरण गरिने रहेको र त्यसैका आधारमा रहेर जग्गा वर्गीकरण गरिएको बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले जानकारी दिए ।

उनले निर्णय गरिएका नगरपालिकाका ५ वटा वडा बजारक्षेत्रमा रहेका कारण आवास, व्यावसायिक, औद्योगिक र केही मात्रामा कृषि क्षेत्रमा पनि परेको बताए । नगरपालिकाले कृषि क्षेत्रमा वर्गीकरण हुने जग्गामा मालपोत/भूमिकर लागु गर्नेछ भने अन्य व्यावसायिक, आवासीय र औद्योगिक क्षेत्रमा भएको जग्गामा सम्पत्ति कर लागु गर्ने उनले बताए ।

यस सम्बन्धी सम्पूर्ण जानकारी नगरपालिकाले कार्यालयको वेबसाइटमा समेत राखेको उनले जानकारी दिए । त्यस्तै झापाकै बुद्धशान्ति गाउँपालिकाले पनि जग्गा वर्गिकरणको काम अन्तिम चरणमा पुर्‍याएको गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंले बताए । जग्गाको वर्गीकरण नहुँदा झापामा जग्गाको कारोबार अहिले ठप्प प्रायः छ ।

प्रतिक्रिया दिनुहोस्