Logo

पहाडी जिल्लामा कुखुराको मूल्य मनपरि

इलामलगायत पहाडी जिल्लामा बोइलर कुखुराको मूल्य वृद्धि भएको छ । जाडो सिजनमा चल्ला फारममा नलगाइएका कारण मासुको अभावसँगै मूल्य वृद्धि भएको हो । मूल्य वृद्धिसँगै व्यवसायीले मनपरि मूल्य लिने गरेका छन् । जिल्लामा पहिला जस्तो बोइलर कुखुरा नभएका कारण मूल्य वृद्धि भएको व्यवसायीको भनाइ छ ।

करिब दुई साता अघिदेखि इलामलगायत पहाडी जिल्लामा बोइलर कुखुराको मासु अभाव भएको छ । केही महिनाअघि जाडो भएकै कारण इलाममा कुखुराका चल्ला नआएको र सोही कारण यस सिजनमा मासु अभाव भएको बताइएको छ । महँंगो मूल्यमा आएकै कारण मासुको मूल्य बढेको मासु व्यापारी हरि खड्काले बताए । उनले केही समय अघिदेखि नै कम मात्रामा मासु पाइँदै आएको बताए ।

हाल सहज भए पनि प्रतिकिलो एक सय रुपैयाँ वृद्धि भएको उनले बताए । बजारमा एक साताअघिको तुलनामा एक सयदेखि डेढ सयसम्म प्रतिकिलो मूल्य वृद्धि भएको छ । अभाव हुनुअघि इलाम बजारमा प्रतिकिलो चार सयमा खरिद बिक्री भइरहेको तयारी मासु हाल वृद्धि भएर पाँच सयदेखि ६ सयसम्म पुगेको छ । ग्रामीण क्षेत्रमा भने सामान्य अवस्थामा नै ६ सयसम्म मूल्य पर्ने गरेको थियो । ती क्षेत्रमा हाल तयारी बोइलर कुखुराको मूल्य नै सात सयसम्म पर्ने गरेको व्यवसायीको भनाइ छ ।

इलाममा व्यवस्थित खोर नभएका कारण पनि कम मात्रामा कुखुरा पालन हुने गरेको छ । यहाँ व्यावसायिक रूपमा कुखुरापालन गर्ने किसान कम नै छन् । अन्य पेसा गर्दै कुखुरापालन गर्ने किसान बढी छन् । चिसो मौसममा धेर चल्ला नसप्रिने, मृत्युदर संख्यासमेत वृद्धि हुने गरेकाले किसानले चिसो सिजनमा कमै मात्रामा कुखुरापालन गर्ने गरेको बताइएको छ । बोइलर कुखुरा लोकल कुखुराको तुलनामा कफल्लो हुने गर्दछ ।

चिसोमा उत्पादन नहुने भएकाले पनि हाल यो समस्या आएको कुखुरा व्यवसायीको भनाइ छ । इलाम पहाडी जिल्ला भएका कारण पनि हिउँदमा बढी चिसो भएकै कारण भएका कुखुरा जोगाउन नै समस्या हुने किसानहरूको भनाइ छ । बढी जाडो सहन नसक्ने भएकाले पनि जाडो सिजनमा उत्पादन कम हुने गर्दछ । हाल तातो मौसम सुरु भए पनि केही महिनाअघि उत्पादनमा समस्या भएकाले हाल यस्तो प्रभाव परेको हो ।

चिसो मौसमसँगै किसानले चल्ला नलगाएका कारण यस सिजनमा उत्पादन कम भएकाले मासु अभाव भएको कुखुरा व्यवसायी संघ इलामका अध्यक्ष तथा उद्योग वाणिज्य संघ इलामका अध्यक्ष दिनेश महतले बताए । उनले माग बढी भएपछि स्वाभाविक रूपमा मूल्य वृद्धि हुने गरेको छ । सम्बन्धित निकायले अनुगमन नगर्दा समेत मूल्यमा एकरूपता नआएको उनको भनाइ छ ।

मापदण्डविपरीत सञ्चालित फ्रेस हाउसलाई सरकारी निकायबाट नै बन्द गराउन पहल गर्न आफूहरूको समेत समर्थन रहने उनले बताए । सम्बन्धित पालिका र करमा दर्ता नभएका फ्रेस हाउसलाई नियमन गर्न सकेमात्र उपभोक्ताले एकरूपता मूल्य पाउने उनको भनाइ छ । उद्योग वाणिज्य संघसँगकै सहकार्यमा सुधारको पहल भइरहेको उनले बताए । इलाममा दैनिक २५ सय किलोदेखि तीन हजार किलोग्रामसम्म बोइलरको मासु खपत हुने गरेको उनको भनाइ छ ।

बिहे तथा अन्य कार्यक्रम हुने महिनामा मागसमेत बढ्ने बताइएको छ । साना तथा ठूला फर्ममार्फत् उत्पादित कुखुरा इलाम सदरमुकामसहित जिल्लाका अन्य बजारसम्म लैजाने गरिएको छ । हाल इलाममा इलाममा जिउँदो बोइलर कुखुराको मूल्य नै चार सयदेखि ६ सयसम्म पर्ने गरेको छ । जिउँदो लोकल कुखुराकै मूल्य ६ देखि आठ सयसम्म खरिद बिक्री हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्