बाढीले पुल बगाएपछि मनाङमा खाद्य संकटको संकेत

बाढीले बगाएको लमजुङ–मनाङ जोड्ने एकमात्र मोटरेवल पुल दुई साताभित्र पुनः निर्माण गरिने भएको छ । ८ असारमा म्यार्दी खोलामा आएको बाढीले पुल बगाएपछि मनाङको यातायात प्रभावित भएको थियो ।
क्षतिग्रस्त पुलको स्थलगत निरीक्षणपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले पुल निर्माणको लागि सडक डिभिजन कार्यालयलाई निर्देशन दिएका हुन् । मोटरेवल पुल बाढीले बगाएपछि मनाङको जनजीवन प्रभावित भएको भन्दै यथाशक्य पुल निर्माण गर्न मुख्यमन्त्रीले निर्देशन दिएका हुन् ।
लमजुङको मस्र्याङ्दी–४ र मनाङको नासोङ–१, सिमानामा वग्ने म्यार्दी खोलाले मोटरेवल पुल बगाएपछि हाल मनाङमा यातायात ठप्प भएको छ । यातायात अवरुद्ध भएर मनाङमा खाद्यान्न लगायत ढुवानी नभएपछि मनाङको जनजीवन प्रभावित हुँदै गएको छ ।
लगातार चार दिनसम्मको अविरल वर्षापछि आएको बाढीले लमजुङ मनाङ जोड्ने एकमात्र मोटरेवल पुल बगाएको थियो । मोटरेवल पुल बगाएपछि विगत १० दिनदेखि मनाङमा सवारी आवागमन बन्द भएको छ ।
यातायात बन्द भएपछि मनाङमा खाद्यान्नलगायतका दैनिक उपभोग्य सामग्री पुग्न सकेको छैन । केही दिनभित्र यातायात सञ्चालन नभएमा मनाङमा महंगी बढ्नुका साथै खाद्यान्न संकट हुने अनुमान गरिएको छ । खाद्य संकट समस्यालाई मध्यनजर गर्दै छिटो भन्दा छिटो यातायात सुचारु गराउन प्रतिनिधिसभाका लागि मनाङबाट निर्वाचित सांसद पोल्देन छोपाङ गुरुङले आग्रह गरेका छन् । “अब यातायात सुचारु हुन पाएन भने मनाङमा खाद्यसंकटको संकेत देखिएको छ,” सांसद गुरुङले भने, “स्थानीयभन्दा पनि जिल्लाका कर्मचारी र बाहिरबाट गएकाहरूको विजोग हुन्छ ।”
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङसहित प्रदेश सरकारले क्षतिग्रस्त मोटरेवल पुलको स्थलगत निरीक्षण गरेका छन् । स्थलगत निरीक्षण पश्चात हाल अस्थायी विकल्प व्यवस्थापन गरी यातायात सञ्चालन गर्ने र दीर्घकालिन रूपमा क्षति नहुने गरी संरचना निर्माण गर्न संघीय सरकारसँग समन्वय गरिने गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले बताए । “अहिलेलाई अस्थायी व्यवस्था गर्नुप¥यो,” मुख्यमन्त्री गुरुङले भने, “यसको दीर्घकालिन व्यवस्थापनका लागि संघीय सरकारसँग समन्वय गरेर काम अघि बढाउँछौँ ।”
म्यार्दीखोलाले दोस्रोपटक मोटेरेवल पुल बगाएको हो । यसअघि गत साउनमा पनि सोही ठाउँमा निर्माण भएको मोटरेवल पुल खोलामा आएको बाढीले बगाएको थियो । भौगोलिक विकटता अनुकूल संरचना नबन्दा प्राकृतिक विपत्तिकै कारण पटक–पटक मनाङबासी सँगै उत्तरी लमजुङका बासिन्दाले सास्ती खेप्दै आएका छन् ।
खोलामा पानी घटेका बेला खोलाबाटै सवारी आवतजावत गर्ने गरे पनि खहरेखोलामा उच्च जोखिम हुँदा सवारी चल्न सकेका छ्रैनन् । सडक डिभिजन कार्यालय दमौलीले भने एकसाताभित्र अस्थायी पुल निर्माण गरेर यातायात सुचारु गराउने जनाएको छ । डिभिजन कार्यालयका प्राविधिक ठाकुर भण्डारीका अनुसार पहिल्यै बनेका पुलका पिल्लरहरूमा बेलिब्रिज जडान गरिने भएकाले सम्भवतः एक साताभित्र पुल निर्माण हुने बताए ।
“पिल्लरहरू बगाएको छैन, त्यही पिल्लरलाई मर्मत गरी माथिल्लो भागमा बेली व्रिज जडान गर्न परीक्षण हुँदैछ,” भण्डारीले भने “बेलीब्रिज जडानका लागि मात्रै समय लाग्दैन, बढीमा दुई साताभित्र पुल सञ्चालनमा ल्याउन प्रयास गर्छौं ।”
पुल बगाएर यातायात अबरुद्ध भएपछि मुख्यमन्त्रीसहित गण्डकी प्रदेश भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेत, प्रतिनिधिसभाका लागि मनाङका सांसद पोल्देन छोपाङ गुरुङ, लमजुङबाट निर्वाचित प्रदेश सांसद धनञ्जय दवाडी, सडक डिभिजन कार्यालयका प्रतिनिधिले स्थलगत निरीक्षण गरेका छन् । स्थलगत निरीक्षणपछि छिटो भन्दा छिटो काम गर्न र जनतालाई सहज गराउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
सन्देश पौडेल