चियाले देखाएको संकेत

नेपाली अर्गानिक चियाले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा आफूलाई अब्बल साबित गरी सुनौलो भविष्य देखाएको छ । चीनको टी मार्केटिङ एसोसिएसनले आयोजना गरेको चियाको गुणस्तर मूल्यांकनसम्बन्धी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली चियाले ‘ग्रान्ड गोल्ड मेडल’ जितेको छ । यो समग्र चिया उद्योगका लागि निकै सुखद क्षण हो । चीन, भारत, श्रीलंका, केन्याजस्ता विश्वका ठूला चिया उत्पादक मुलुकहरू सहभागी प्रतिस्पर्धामा नेपाली चियाले अब्बल साबित हुनु पक्कै पनि सानो विषय होइन ।
दर्जनौं मुलुकमा उत्पादित चियाका सयौं नमुना प्रतिस्पर्धामा भएका बेला नेपालको इलामस्थित तीनजुरे किसान सहकारी संस्थाले उत्पादन गरेको चियाले ‘ग्रान्ड गोल्ड मेडल’ जितेको छ । प्रतिस्पर्धामा योबाहेक किसान चिया उत्पादक उद्योग, हिमालयन सांग्रिला चिया उत्पादक, गोरखा टी स्टेट प्रालि, सिद्धदेवी चिया स्टेट प्रालि, कञ्चनजंघा अर्गानिक अर्थोडक्स चिया उद्योगले गोल्ड मेडल पाएका छन् ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार नेपाली चिया अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट गुणस्तरको ठहरिएपछि ग्रान्ड गोल्ड मेडल प्राप्त भएको हो । यो चियाको गुणस्तरका सवालमा नेपालको ऐतिहासिक सफलता हो । प्रतिस्र्धामा चियाका अन्तर्राष्ट्रिय टेस्टरबाट विभिन्न प्यारामिटर तय गरी परीक्षण गरिएको थियो । त्यस क्रममा नेपाली चियाको गुणस्तर उत्कृष्ट ठहरिएर पदक पाउन सफल भयो ।
प्रतिस्पर्धाअघि सहभागी हुनसमेत अन्तर्राष्ट्रिय मापदण्डअनुसार विभिन्न प्यारामिटरमा चियाको गुणस्तर मापन गरिन्छ । नेपाली चियालाई बोर्डले एक्जिम कोड लिएर प्रतिस्पर्धामा भाग लिन पाउने व्यवस्था मिलाएकोे थियो । सुरुमा बोर्डले मुलुकका ४० चियाका नमुना संकलन गरी स्वाद एवं गुणस्तर परीक्षण गरेर त्यसमध्ये १६ नमुनालाई प्रतिस्पर्धाका लागि चीन पठाएको थियो ।
सरकारी तथ्यांकअनुसार नेपालमा करिब १७ हजार हेक्टरमा चियाखेती हुँदै आएको छ । यसबाट वार्षिक २३ हजार ७ सय ४५ मेट्रिक टन चिया उत्पादन भइरहेको छ ।
यो प्रतिस्पर्धामा अन्य पाँचवटा कम्पनीले गोल्ड मेडल र चारवटा कम्पनीले सिल्भर मेडल पाएका छन् । प्रतिस्पर्धामा पदक जित्ने उत्कृष्ट चिया उत्पादकलाई बोर्डले प्रमाणपत्र प्रदान गरेको छ । नेपालमा ताप्लेजुङ, संखुवासभा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, झापा, मोरङ, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, ललितपुर, रामेछापलगायत दर्जनौं जिल्लामा व्यावसायिक चिया खेती हुँदै आएको छ । पहिलो पटक १९२० सालमा इलामबाट सुरु भएको चिया खेती अहिले दर्जनौं जिल्लामा पुगेको छ ।
सरकारी तथ्यांकअनुसार नेपालमा करिब १७ हजार हेक्टरमा चियाखेती हुँदै आएको छ । यसबाट वार्षिक २३ हजार ७ सय ४५ मेट्रिक टन चिया उत्पादन भइरहेको छ । चियामा १७ हजारभन्दा बढी किसान, ६० हजारभन्दा बढी श्रमिक र सयौंको संख्यामा लगानीकर्ता जोडिएका छन् । यसमा अर्बौंको लगानी भएको छ । सरकारले नेपालमा उत्पादित अर्थोडक्स चियालाई अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङ गर्न ‘ट्रेडमार्क’ बनाएको छ ।
अहिले ‘नेपाल टी क्वालिटी फ्रम दि हिमालय’ ब्रान्डमा चिया निर्यात हुँदै आएको छ । नेपालका ३६ उद्योगले यही ट्रेडमार्क लिएर चियाको व्यवसाय गर्दै आएका छन् । सरकारी मापदण्डअनुसारको गुणस्तर जाँच गरेपछि मात्र चियालाई ट्रेडमार्क दिने व्यवस्था छ । ट्रेडमार्क पाउन रासायनिक विषादी प्रयोग नगरेको हुनुपर्ने पहिलो सर्त छ । मुलुकले बर्सेनि उच्च व्यापारघाटा बेहोर्दै आएको छ र यो प्रत्येक वर्ष बढिरहेको छ । आयातको तुलनामा निर्यात बढ्न सकेको छैन ।
यस्तो बेला चिया निर्यातको पछिल्लो सम्भावनाले मुलुकलाई हौसला प्रदान गरेको छ । पछिल्लो तथ्यांकअनुसार नेपालबाट वार्षिक ४ अर्ब रुपैयाँ हाराहारीमा चिया निर्यात हुने गरेको छ । नेपालको कुल निर्यात हेर्दा यो ज्यादै सानो रकम नभए पनि विश्व चिया बजार र नेपालको निर्यात सम्भावनालाई हेर्दा यो सानो रकम हो । चिया व्यवसायीहरूका अनुसार सरकारी सेवा सुविधा पाए वार्षिक १० अर्ब रुपैयाँ हाराहारीमा चिया निर्यात गर्न सकिने सम्भावना छ ।
यो भनेको अहिलेको कुल निर्यातको ७ प्रतिशतभन्दा धेरै हो । गत वर्ष नेपालको कुल निर्यात २ खर्ब माथि पुगे पनि यो वर्ष डेढ खर्ब रुपैयाँ नजिक रहने देखिएको छ । नेपालको अर्थोडक्स चिया तेस्रो मुलुकमा र सिटिसी चिया भारतलगायतका मुलुकमा निर्यात हुँदै आएको छ । विश्व बजारमा नेपाली चियाको गुणस्तर सर्वोत्कृष्ट प्रमाणित भएपछि चिया निर्यातको आकार व्यवसायीहरूले भनेजस्तै बढाउन धेरै सजिलो बनेको छ ।
अहिलेसम्म ब्रान्ड र गुणस्तरको अभावमा नेपाली चियाको उचित बजारीकरण हुन सकेको थिएन । अब नेपाली चियाले ब्रान्ड र गुणस्तर दुवैको मान्यता पाएको छ । यसले अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको निर्यात व्यापार बढाउन पक्कै सहयोग पुग्नेछ । ठूलो र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अब्बल साबित भएपछि विश्व बजारमा नेपाली चियाको माग पनि स्वभावैले बढ्नेछ ।
अहिलेको विश्वमा चियाका पारखीले स्वाद र गुणस्तर नहेरी यसको उपभोग गर्दैनन् । अब हामीसँग यी दुवै छन् । चियाको सबैभन्दा ठूलो बजार चीनमै नेपाली चिया उत्कृष्ट हुनुले यसको निर्यात सम्भावना झनै बढाएको छ । विगतमा नेपाली व्यवसायीमा छिटो धनी हुने प्रवृत्तिले गुणस्तरमा खेलाँची गरेका बग्रेल्ती उदाहरण छन् ।
गलैंचा, पस्मिना, तयारी पोसाकजस्ता वस्तुको निर्यात गुणस्तरमा गरिएको खेलाँचीकै कारण अहिलेको अवस्था आएको हो । चियाले अहिले हासिल गरेको गुणस्तरमा पनि विगतमा जस्तै खेलियो भने भविष्य चाँडै अन्धकार बन्नेछ । त्यसैले यसमा व्यवसायी र सरकारी निकायहरू बढी चनाखो हुनु जरुरी छ । गुणस्तर कायमै राख्न सके चियाको भविष्य सुखद देखिन्छ ।