योजना सम्झौता र भुक्तानी सहज गर्न उपभोक्तालाई तालिम

हरेक वर्ष असार मसान्तमा गाउँपालिकाको कार्यालयमा उपभोक्ताको बाक्लो भीड हुन्छ । योजनाको भुक्तानी लिन उपभोक्ताको तछाड मछाड देखिन्छ । भुक्तानी लिन हप्तादिन लागेको, केही कागजात नपुगेको भन्ने गुनासाले प्रक्रियागत कमजोरी रहेको सहजै अनुमान लगाउन सकिन्छ ।
उपभोक्ताले समयमै काम नसक्ने सकेपनि समयमै भुक्तानी लिन नआउने र असारमा भुक्तानी लिन आउने तर धेरै कागजात अपुग ल्याउने कारणले भुक्तानी प्रक्रिया झन्झटिलो हुने गरेको छ भने उपभोक्ता समितिलाई योजना सम्झौतादेखि भुक्तानीसम्मका प्रक्रियाबारे आवश्यक ज्ञान नहुँदा पनि योजना निर्माण र भुक्तानीको काम अपेक्षाकृत रूपमा छिटो छरितो हुन नसक्नु स्थानीय तहको प्रमुख समस्या हो ।
पहिला भुक्तानी नलिने, काम पूरा नभए पनि, कागजात नपुगे पनि पछि भुक्तानी भइहाल्छ भनी असार कुर्ने प्रवृत्तिकै कारण स्थानीय तहमा बाक्लो भीड हुन्छ । जसले गर्दा विकासको गुणस्तर अनुगमन निरीक्षण चुस्त नहुने, भुक्तानी सहज नहुने समस्या छ । स्थानीय तहका योजना निर्माण र भुक्तानीलाई सहज बनाउन, असारमा हुने भीड नियन्त्रण गर्न जुम्लाको तातोपानी गाउँपालिकाले उपभोक्ता समितिलाई क्षमता विकास तालिम दिएको छ ।
योजना सम्झौता, निर्माण र भुक्तानी प्रक्रियाका विषयमा तातोपानी–४ का उपभोक्ता समितिलाई क्षामता विकास तालिम दिइएको हो । पालिकाका इन्जिनियर डिल्लीबहादुर बुढा र अधिकृत छैटौ ओमबहादुर चन्दले उपभोक्ता समितिका पदाधिकारीलाई योजना सम्झौता गर्दा, योजना निर्माण गर्दा गर्नुपर्ने अनुगमन निरिक्षण, गुणस्तर संचना कसरी बनाउने, कस्ता निर्माण सामग्री प्रयोग गर्ने र पेश्की, अन्तिम भुक्तानी लिँदा पूरा गर्नुपर्ने प्रक्रियाका विषयमा प्रशिक्षण दिएका थिए ।
उपभोक्ता समितिको क्षमता विकासले विकासमा गुणस्तर र सेवा प्रवाहका छिटो छरितो हुने विश्वास छ । तातोपानीका अध्यक्ष नन्दप्रसाद चौलागाई भन्छन्, “जिल्लामै पहिलो कामका रूपमा उपभोक्तालाई तालिम दिएका हौं । पालिकाको पुँजीगत खर्च बढाउन, सेवा प्रवाहलाई सहज बनाउन, असारे विकास रोक्न उपभोक्ताको क्षमता विकास जरुरी छ । तातोपानीको असारे विकास अन्त्य गर्ने अभियानअन्तर्गत पनि उपभोक्तालाई सक्षम बनाउँदैछौं ।” अध्यक्ष चौलागाईंका अनुसार सबै वडाका उपभोक्ता समितिको क्षमता विकास गरिने लक्ष्य छ ।
सुरुवातको चरणमा तातोपानी–४ मा सञ्चालित हुने योजनाका २१ वटा उपभोक्ता समितिका अध्यक्ष, कोषाध्यक्ष, सचिव र सदस्यसहित ६० जना उपभोक्ता समितिका पदाधिकारीलाई क्षमता विकास तालिम दिइएको तातोपानी–४ का वडाध्यक्ष अम्मरबहादुर रोकायाले बताए । गत बुधबार सम्पन्न उपभोक्ता समितिको क्षमता विकास तालिमले जिल्लामा नयाँ सन्देश दिएको छ ।
योजना सम्झौता, निर्माणलाई छिटो छरितो गुणस्तर र भुक्तानीलाई सहज बनाउन उपभोक्ता समिति सक्षम र प्रक्रियाबारे जानकार हुन सबै पालिकाले क्षमता विकासका कार्यक्रम गर्न आवश्यक छ । पहिलो पटक योजना सम्झौतादेखि भुक्तानी सम्मका प्रक्रियाबारे थाहा पाउँदा अब काम गर्न सहज हुने भन्दै ४ नम्बर वडाका उपभोक्ताले खुसी व्यक्त गरेका छन् ।