Logo

विद्युतीय सवारीसाधनमा उपभोक्ताको आकर्षण

पछिल्लो समय विद्युतीय सवारीसाधनतर्फ उपभोक्ताको आकर्षण बढेको छ । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा झापाको बिर्तामोडमा सञ्चालन भइरहेको अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा राखिएको विद्युतीय सवारीसाधनको स्टलमा उपभोक्ताको आकर्षण बढेको हो ।

पेट्रोलियम पदार्थको पटक पटकको मूल्य वृद्धिबाट आजित भएर महोत्सवमा आउने अवलोकनकर्ताले विद्युतीय सवारीसाधनको विषयमा जान्न र खरिद गर्न थालेको अलस्का अटो मोवाइल्स प्रालिका सेल्स म्यानेजर एजन न्यौपानेले जानकारी दिए ।

टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले बजारमा ल्याएको नेक्सन इभीको एक्सजेड प्लस लग्जरी कार बिर्तामोडमा रहेको टाटा मोटर्सको झापाका लागि आधिकारीक बिक्रेता अलस्का अटो मोवाइल्स प्रालिले बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा बिक्रीका लागि स्टल राखेसँगै झापा सुरुंगाका त्रिलोचन उप्रेतीले नेक्सन इभीको एक्सजेड प्लस लग्जरी कार खरिद गरे ।

उनलाई बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव मूल आयोजक समितिका संयोजक राजु न्यौपाने र बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले नेक्सन इभीको एक्सजेड प्लस लग्जरी कारको साँचो हस्तान्तरण गरेका थिए । उक्त कारको बजार मूल्य ४२ लाख ९९ हजार रहेको अलस्का अटो मोवाइल्स प्रालिका सेल्स म्यानेजर न्यौपानेले बताए ।

उनले पेट्रोलियम पदार्थको मूल्य वृद्धि निरन्तर बढी रहेका बेला आफूले विद्युतीय सवारीसाधनको रुपमा नेक्सन इभीको एक्सजेड प्लस लग्जरी कार खरिद गरेको बताए । वातावरणमैत्री विद्युतीय सवारीसाधनको प्रयोगले पेट्रोलियम पदार्थको खपत कम गर्ने भएकाले महोत्सव स्थलमा विद्युतीय सवारीसाधन कार, साइकल, स्कुटरलगायतका स्टल राखिएको मेला आयोजकले जनाएको छ ।

विद्युतीय चारपाग्रे सवारीको सकारात्मक पक्षकै कारण नेपालीहरु इलेक्ट्रिक गाडीहरुमा आकर्षण भएको आयोजकको दावी छ । औद्योगिक व्यापार महोत्सवमा कोमाकी कम्पनीका विद्युतीय स्कुटरको स्टलबाट ६ वटा स्कुटर बुक भइसकेको र महोत्सव अवधिभर ५० वटा सवारी बिक्री गर्ने लक्ष्य राखेको कम्पनी प्रतिनिधिले बताए । महोत्सवकै अवधिमा खरिद गर्नेलाई १९ हजार रुपैयाँ छुटको समेत अफर रहेको उनले बताए । त्यस्तै विद्युतीय साइकलतर्फ पनि उपभोक्ताको आकर्षण बढेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्