पावर समिट २०२३ काठमाडौंमा हुने

काठमाडौंमा पावर समिट २०२३ आयोजना हुने भएको छ । नेपालको हरित ऊर्जाको बजारका लागि ढोकाहरू पहिचान गर्न र त्यसलाई खोल्नका लागि मार्ग प्रशस्त गर्ने अपेक्षासहित अगामी मार्च २० देखि २९ सम्म पावर समिट २०२३ आयोजना हुने भएको हो । पावर समिटमा व्यापारिक र व्यवसायिक संयन्त्रलाई प्रगाढ बनाउने, विद्युत ऊर्जाको विकास र बजार निर्माणका लागि धेरै सम्झौता र समझदारीमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ भने ऊर्जाको व्यापार गर्ने अवसर मिल्ने आयोजक पक्षको दावी छ ।
“पावर समिट २०२३ हरित ऊर्जा क्षेत्रमा संलग्न सबैका लागि सन्जाल बनाउने र एक अर्काबाट सिक्ने र अनुभव आदान प्रदान गर्ने ठूलो अवसर पनि हो’ समिट आयोजकाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आज हामीले जलवायु परिवर्तनको प्रभावका कारण नेपाल अति जोखिममा रहेको देशको सूचीमा परेको कुरालाई नजरअन्दाज गर्न मिल्दैन । वायुमण्डलमा अत्यधिक हरितगृह ग्यासहरूका कारण सारा विश्वले प्रभाव र बढ्दो लागतको अनुभव गरिरहेको छ । नेपालले सन् २०४५ सम्ममा नेट शून्य राष्ट्र बन्ने प्रतिबद्धता जनाएको छ । यसको ठूलो हिस्सा हाम्रो अर्थतन्त्रबाट हरित ऊर्जा उत्पादन र प्रयोग गर्न र पेट्रोलियम पदार्थलाई विस्थापित गर्न सक्षम हुनु हो ।”
यो पावर समिटमा नेपालको विद्युतको बजार, प्रशारण पूर्वाधार, नेपालको जलविद्युतको माग प्रविधि र नवप्रवद्र्धन, सोलार, हाइड्रोजन, नियामक निकाय, अन्तरदेशीय विद्युत व्यापार, दिगो र जलवायु अनुकुल विकास लगायतका विषय समेट्ने गरी विभिन्न सत्रहरु सञ्चालन गरिने विज्ञप्तिमा जनाइएको छ ।