Logo

नेपाल प्रहरी छात्रवृत्ति अक्षय कोषमा ग्लोबल आइएमई बैंकको सहयोग

ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल प्रहरीलाई ‘नेपाल प्रहरी–ग्लोबल आइएमई बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना गर्न बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । बैंक र नेपाल प्रहरी कल्याण कोषबीच ‘नेपाल प्रहरी–ग्लोबल आइएमई बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना, सञ्चालन एवम् व्यवस्थापनमा सहकार्य सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएसँगै रकम हस्तान्तरण गरिएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले उक्त रकमको चेक प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई हस्तान्तरण गरेका हुन् । बैंकको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै प्रहरी महानिरीक्षक सिंहले प्रहरी कर्मचारीका जेहेन्दार तथा योग्य सन्ततिलाई छात्रवृत्ति प्रदान गर्ने पुण्य कामको लागि ग्लोबल आइएमई बैंकको योगदान अमुल्य रहेको र यसले प्रहरी कर्मचारीहरूको मनोबल बढाउन थप टेवा पुग्ने उल्लेख गरे ।

महानिरीक्षक सिंहले बैंकले यसअघि पनि नेपाल प्रहरीलाई विभिन्न कार्यक्रममा सहयोग गरी सहकार्य गर्दै आएकोमा बैैंकलाई विशेष धन्यवाद दिँदै आगामी दिनमा समेत आपसी समन्वय र सहकार्यलाई निरन्तरता दिने कुरामा आफू विश्वस्त रहेको समेत जानकारी गराए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले नेपालको व्यवस्थित संगठन नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीका सन्ततिलाई सहयोग गर्ने पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा समेत नेपाल प्रहरी र बैंकबीच सहयोग र सहकार्य आदानप्रदान हुने बताए ।

बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस किसिमका आर्थिक सहयोगहरु प्रदान गरी आम नागरिक तथा समाजलाई प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्