व्यापारीको दबाबमा छोटी भन्सार खुल्याे

बाराको सीमावर्ती क्षेत्रका व्यापारीले राजस्व तिर्न दबाबपूर्ण आन्दोलन गरेपछि बन्द रहेको सिम्रौनगढ छोटी भन्सार सुचारु भएको छ । जिल्लाको सीमावर्ती क्षेत्रका चार स्थानमा स्थापित छोटी भन्सारमध्ये सिम्रौनगढ सञ्चालन गर्न स्थानीय व्यापारीले दबाब दिएपछि सुचारु भएको हो ।
स्थानीय व्यापारीले भारतीय बजारबाट ल्याएका सामानको राजस्व तिर्न गौर र वीरगन्ज भन्सार जानुपर्ने बाध्यता रोक्न बन्द छोटी भन्सार सुचारुका लागि उद्योग वाणिज्य संघ सिम्रौनगढले पटक–पटक सरकारसँग माग गरेको थियो । व्यवसायीको चर्को दबाबपछि सो छोटी भन्सार सुचारु भएको छ ।
वीरगन्ज भन्सारअन्तर्गत बाराको कोर्चबा, कबहिगोठ, सिम्रौनगढ र मटिहवामा २०१३ सालमै छोटी भन्सार कार्यालय स्थापना भएको थियो । सिम्रौनगढ उद्योग वाणिज्य संघका अध्यक्ष लालबाबु पण्डितले अब बाँकी दुई कोर्चबा र कबहिगोठमा रहेका बन्द छोटी भन्सार सुचारु गर्न सरकारसँग आग्रह गरेका छन् ।
माओवादीको सशस्त्र द्वन्द्व सुरु भएसँगै बन्द रहेका चार छोटी भन्सारमध्ये मटिहर्बा केही वर्षअघि र सिम्रौनगढ हालै सञ्चालनमा आएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी रामचन्द्र ढकालले कोर्चबा र कबहिगोठमा भने तत्काल छोटी भन्सार सञ्चालन हुने कुनै जानकारी नआएको बताए ।
प्रहरीका अनुसार कोर्चबा र कबहिगोठ नाका बिनाभन्सारका सामान तस्करी हुँदै नेपाल भित्रने नाकाको रुपमा चिनिन्छन् । ती भन्सार पनि सञ्चालन गर्न उद्योग वाणिज्य संघ कलैयाले माग गरेको छ । सिम्रौनगढमा छोटी भन्सार सञ्चालनमा आए पनि पर्याप्त जनशक्ति नहुँदा फेरि व्यापारीले नै सास्ती भोग्नुपर्ने अवस्था रहेको अध्यक्ष पण्डितले बताए ।
उनले सोही बाटो हुँदै नेपाल भित्रने भारतीय पर्यटक र उनीहरुले प्रयोग गर्ने सवारीको भन्सार काट्न वीरगन्ज जानुपर्ने बाध्यता पूर्ण रुपमा हटाउन थप जनशक्तिको माग गरेको जानकारी दिए । ५ हजार रुपैयाँसम्मको घरायसी सामानमात्रै एउटा प्रज्ञापनपत्र काट्न मिल्ने गरी कार्यालय सञ्चालनमा आए पनि स्थानीय व्यापारीले सामान्य राहत पाएको बताएका छन् ।