नयाँ प्रविधि हस्तानतरण गर्न अमेरिकालाई आग्रह «

नयाँ प्रविधि हस्तानतरण गर्न अमेरिकालाई आग्रह

उद्योग संगठन मोरङका प्रतिनिधि र नेपालका लागि अमेरिकी राजदूत डिन आर थोम्सनबीच भेटवार्ता भएको छ । भेटमा नेपाल र अमेरिकाको व्यापारका विविध आयाय र द्वीपक्षिय हितका बारेमा छलफल भएको छ ।

संगठनका अध्यक्षसुयश प्याकुरेलले अमेरिकाले नेपाललाई सहुलियतपूर्ण प्रवेशको अनुमति दिएको ७७ वटा वस्तुहरु खासै निर्यात हुन नसकेको तथ्यलाई मध्यनजर गरी उक्त वस्तुहरुको सूची पुनरवलोकन गर्न अनुरोध गरे । उनले उर्जाका क्षेत्रमा नेपालमा भइरहेको लगानी रन अफ रिभरमा आधारित रहेकाले आगामी दिनमा अमेरिकी सरकारले एमसीसी जस्ता ठूला र दीर्घकालिन महत्वका राख्ने परियोजना अन्तर्गत लगानी गर्दा जलाशययुक्त विद्युत गृह र नेपालको जलमार्ग विकास तर्फ लगानी गर्न सुझाव दिए ।

त्यसैगरी अध्यक्ष प्याकुरेलले नेपालको उद्योग व्यवसायहरुको प्रतिष्पर्धी क्षमता र उत्पादकत्व अभिवृद्धिका साथै हरित उत्पादनलाई दृष्टिगत गरी अमेरिकाले प्रयोगमा ल्याएको नविनतम प्रविधि प्रयोग र हस्तान्तरणमा सहजीकरण तथा अनुभव आदान प्रदानमा सहयोग गर्न अनुरोध गरे ।

नेपालका लागि अमेरिकी राजदूत डिन आर थोम्सनले नेपाल र अमेरिकाबीचको व्यावसायीक विस्तारका लागि आफू सकारात्मक रहेको बताए । उनले अमेरिकाले सहुलियतपूर्ण निकासीका लागि अनुमति दिएका वस्तुको सूचीलाई पुर्नविचार गर्न पहल गर्ने बताउँदै निजी क्षेत्रको विकास र विस्तारले देशको आर्थिक विकासमा दुरगामी महत्व राख्ने उल्लेख गर्दै दुवै देशको व्यापारिक हितलाई मध्यनजर गरी सहयोगका लागि सहजीकरण गर्ने बताए ।

सो अवसरमा राजदूत थोम्सनले उद्योग संगठन मोरङमा रहेको अमेरिकन कर्नरको अवलोकन गरी विराटनगरमा रहेका अल्मुनाइहरुका साथ अन्तरक्रिया समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्