Logo

झाँक्रीको हत्या आरोपमा एकजना पक्राउ

नेपालगञ्ज-बर्दियाको राजापुर ३ नंगापुरका ५५ वर्षीय जयराम थारुको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । हत्याको आरोपमा सोही गाउँमा बस्ने ४९ वर्षीय अजोध्या भनिने दोदलाल थारु घरबाटै पक्राउ परेका हुन् ।
थारुलाई बिहीबार जिल्ला प्रहरी कार्यालय बर्दियाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । पक्राउ परेका थारुले रुढीबादी परम्पराका अनुसार बदला लिन हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीको भनाइ छ । ईलाका प्रहरी कार्यालय राजापुरका प्रहरी नायव उपरीक्षक तिलक भारतीका अनुसार मृतक जयराम थारुले गाउँमा गुरुवा (धामी–झाँक्री) काम गर्दै आएका थिए । गुरुवा गर्ने क्रममा उल्टो मन्त्र पढेर श्रीमती र बुहारीको मृत्यु भएको भन्दै आफूले हत्या गरेको पक्राउ परेका दोदलाल थारुले बयान दिएको डीएसपी भारतीले जानकारी दिए ।
दुई वर्षअघि एक महिनाको अन्तरालमा श्रीमती र बुहारीको मृत्यु भएपछि आफ्नो समेत पेट फुल्ने समस्या गुरुवाले गराएकोले परिवारका अन्य सदस्यहरुलाई समेत यस्तो नहोस् भनेर बदला लिन हत्या गरेको थारुले बताएको प्रहरीको भनाइ छ ।
प्रहरीले हत्यामा प्रयोग गरिएको धारिलो हतियार फलामको गरसा समेत बरामद गरेको जनाएको छ । यही असार ४ गते राति १२ बजेको समयमा नंगापुरका ५५ वर्षीय जयराम थारुको हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस्