व्यवसाय बचाउन सरकारको ध्यान जाओस्

कोरोना भाइरस कोभिड–१९ को प्रत्यक्ष प्रभावको मार खेपेको नेपालको व्यापार–व्यवसाय बिस्तारै अगाडि बढ्न खोज्दै छ, तर गति लिन भने सकिरहेको अवस्था पटक्कै छैन । नेपाल पर्यटनको प्रचुर सम्भावना भएको मुलुक मात्र नभई कृषि तथा कृषिसँग सम्बन्धित उत्पादनशील कार्यको राम्रो सम्भावना भएको मुलुक पनि हो । उचित व्यवस्थापन गर्न नसक्दा यहाँ साना तथा घरेलु उद्योग–व्यवसाय कोभिडको प्रभावले धाराशायी बन्दै गइरहेका छन् ।
मुलुकले कोरोना भाइरसको क्रमशः पहिलो, दोस्रो र तेस्रो लहरलाई समेत पार गरिसकेको छ । कोरोना भाइरसका कारण विश्वको अर्थतन्त्र तहसनहस भएको छ । नेपालको अवस्था पनि उही रह्यो, तर भाइरसको संक्रमण बिस्तारै कम हुँदै जाँदा विश्व अर्थतन्त्र पनि चलायमान बन्दै गइरहेको अवस्था छ । तर, नेपालमा भने गति लिन सकिरहेको छैन ।
कोरोनाका कारण यहाँका विभिन्न व्यापार–व्यवसाय, उद्योगधन्दा, कलकारखानामा निकै ठूलो धक्का पर्यो । पछिल्लो समय यस्ता व्यवसायहरू बिस्तारै माथि उकासिँदै जाने प्रयासमा छन् । नेपालजस्तो विकासोन्मुख मुलुकलाई कोभिड महामारीले अर्थतन्त्रमा निकै ठूलो असर पार्यो । कोरोनाको त्रासमा बन्द भएका प्रमुख प्रमुख उद्योगधन्दाहरू बिस्तारै सञ्चालनमा आएपछि यहाँको आर्थिक क्षेत्र केही चलायमान बन्न प्रयासरत छ ।
त्यसपश्चात् मुलुकको अर्थतन्त्रमा प्रत्यक्ष टेवा पुर्याउने व्यापार–व्यवसाय, उद्योगधन्दा, कलकारखाना बिस्तारै माथि बढ्दै गर्दा सिंगो मुलुकको आर्थिक विकासमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । कोरोनाको मारमा ठूला उद्योगसँगै घरेलु तथा साना उद्योगमा पनि प्रत्यक्ष असर पर्दै गयो । यस्तै कोभिड महामारीको पीडाले दुःखले खोलेको घरेलु उत्पादित व्यवसायबाट घाटा बेहोर्दा, राजनीतिक वितृष्णा, ठूला व्यवसायीको मार खेप्न नसक्दा एक व्यवसायीले आत्मदाह गर्न बाध्य बनेको घटना सार्वजनिक भएसँगै व्यावसायिक क्षेत्र तरंगित भएको छ ।
माघ १० गते मंगलबार दिउँसो संसद् भवनअगाडि सूर्योदय नगरपालिका–११, इलामका प्रेमप्रसाद आचार्यले आत्मदाहको प्रयास गरेका थिए । आफ्नो व्यक्तिगत फेसबुक एकाउन्टमार्फत सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै उनले देशमा गरिखाने अवस्था नभएकाले आफूले मृत्यु रोज्न खोजेको भन्ने उल्लेख गरेका थिए । आफूलाई युवा उद्यमी भन्दै ३६ वसन्त पार गर्दा पनि गरिएको कुनै पनि व्यावसायिक कार्यबाट केही उपलब्धि हासिल नभएको भन्दै व्यवसाय असफलताको कथा, राजनीतिक वितृष्णा र असहयोगको विषयमा लेख्दै सामाजिक सञ्जालमा पोखेका थिए । देशमा उद्यम गर्दादेखि विदेश जाँदासम्म भोगेका विषयवस्तु उल्लेख गर्दै उनले सरकारमाथि थुप्रै प्रश्नसमेत गरेका छन् भने सरकारका प्रतिनिधिलाई सल्लाह पनि दिएका छन् । संघीय संसद् भवनअगाडि गएको मंगलबार दिउँसो आफैंलाई आगो लगाएर आत्महत्या प्रयास गरेका प्रेमप्रसाद आचार्यको भोलिपल्ट बुधबार मृत्यु भएको छ ।
आत्मदाह गर्नुपर्ने प्रमुख कारण व्यवसायमा असफलता, साना व्यवसायलाई बेवास्ता, सरकारका सम्बन्धित निकायको उदासीनता, पारिवारिक असहयोग मुख्य कारण बनाउँदै आत्महत्या गर्नुपर्ने बाध्यता उनले लेखेको स्टाटसले बताउँछ । उनको जस्तो हालत मुलुकका अन्य व्यवसायीका नभएका छैनन् होला । तर, यस्तै वितृष्णा मुलुकका अन्य व्यवसायीलाई पनि हुँदै जाने हो भने मुलुकको अवस्था कस्तो रहला ? कल्पनासमेत गर्न सकिँदैन । केही गर्न खोज्ने उद्यमीलाई सरकारका निकायहरूले बचाइराख्नुपर्छ । यो घटनाबाट सरकारलाई हेक्का होस्, देशका नागरिक कुन रूपमा बाँचिरहेका छन् ।
आफ्नै मुलुकमा केही गर्न खोज्ने व्यवसायीलाई सरकारले संरक्षण गरोस्, नत्र मुलुक अधोगतितर्फ जाने निश्चय नै देखिन्छ । तर, व्यवसायीले आफ्नो व्यवसायमा असहयोग भयो भन्दैमा मृत्युको बाटो रोज्नु उपयुक्त हुँदैन । ऋण कसलाई लाग्दैन र ? ऋण लाग्यो भन्दैमा मृत्युकै बाटो रोज्ने, केही विकल्पलाई अगाडि नबढाउने हो भने यहाँ कोही व्यवसायी नै रहँदैनन् होला भन्दा फरक नपर्ला । तर, यो घटनापश्चात् सरकार गम्भीर हुनुपर्ने आवश्यकता रहेको छ । व्यवसायमा ठूलो समस्याको खाडल रहेको छ भन्ने यो घटनाले पुष्टि गर्छ । खाडलभित्र पसिसकेपछि उम्कन निकै गाह्रो तीतो यथार्थ आज हामीसामु छर्लङ्ग छ ।
प्रेमप्रसाद आचार्य आज एक प्रतिनिधि पात्र मात्र हुन् । यस्ता प्रेमप्रसादको जस्तो घटना दिनहुँ बाहिर आउने र दुर्घटना मात्र निम्तिने हो भने मुलुकको अवस्था के होला अनि नागरिक कुन हालतमा रहन सक्ला ? यसको पनि हेक्का रहोस् यो सरकारलाई । यदि उनको स्टाटसमा उनका उत्पादित सामग्री उधारोमा खरिद गरी भुक्तानी नगरेको विभिन्न व्यक्ति, संस्था जो उनले उल्लेख गरेका छन् तिनको छानबिन गरी कारबाहीको दायरामा ल्याउन जरुरी छ । यो सरकारले ध्यान देओस्, कतै आत्मदाह गर्ने दुरुत्साहन तिनैले गरेका हुन् या अन्य कारण छन्, त्यसका पाटाहरू केलाउनु जरुरी छ ।
प्रेमप्रसादको जस्तो अवस्था अन्य व्यवसायीले भोग्नु नपरोस्, जसका लागि यसै घटनाबाट सम्बन्धित निकायले समयमा नै यसको समाधानका उपायहरू केलाउनुपर्ने आवश्यकता रहेको छ । वैदेशिक भूमिमा कमाएर नेपालमै केही गर्छु भन्ने मनसाय बोकेका प्रेमप्रसादजस्ता व्यक्ति राज्यका निकाय अनि ठूला व्यवसायीको मारमा पर्दा जीवन आहुति दिन बाध्य हुन्छन् भने यो देशमा भविष्य खोज्ने अन्य नागरिकको अवस्था कस्तो रहला, सोचनीय छ । यस्तै घटना मात्र निम्तिने हो भने यो देशमा युवा जमात नेपाल बस्नै चाहँदैनन् । यही देशमा केही गर्ने सोच र हुटहुटी भएका धेरै छन् तर राज्यका निकायले आफ्नो मात्र दुनो सोझ्याउँदा असली युवा उद्यमी पलायन, या त संसारबाटै बिदा हुनुपर्ने अवस्था देख्दा विरक्त लाग्छ ।
देशमा नयाँ सरकार छ, केही गर्ने जोस–जाँगरका जनप्रतिनिधि संसद्मा छन् । त्यसैले होला, प्रेमप्रसाद आचार्यले नेपाल सरकार, देश चलाउने हुटहुटीमा सत्तामा पुगेका नयाँ पार्टी तथा नयाँ सांसदहरूको नाम किटान गरी जनतालाई पिल्साएका मुद्दाहरू आँखा च्यातेर केलाउनुहोस्, समाधान गर्नुहोस् भन्दै उनको स्टाटसको अन्त्यमा करका समस्या, वैदेशिक रोजगारीमा जाँदाका समस्या, सहकारी फाइनान्स खारेजी, शिक्षा–स्वास्थ्यमा सरलता, गाँजा खेतीलाई वैधानिकता, स्वदेशी उत्पादनमा शून्य भ्याटसहितका अन्य विभिन्न विषयका सुझावहरू राखेर ध्यानाकर्षणसमेत गराएका छन् ।
उनका सुझावमा कत्तिको यथाचित छ या छैन, राज्यका संयन्त्रले ध्यान दिनुपर्ने हुन्छ । मुलुकको वर्तमान अवस्था हेर्ने हो भने चरम आर्थिक संकटमा गुज्रिरहेको छ । भ्रष्टाचारले निकै जरो गाडेकाले मुलुकलाई थिलथिलो पारिसकेको छ । मुलुक यस्तो अवस्था रहँदा पनि मानिसले केही स्वदेशी उत्पादन गर्छु, उत्पादित सामग्रीलाई यहीं खपत गर्छु भनिरहँदा खुट्टा तान्ने प्रवृत्तिले यहाँ अनाहकमा ज्यान गुमाउनुपरेको अवस्था छ । जुन घटना प्रेमप्रसाद आचार्यसँग सम्बन्धित छ । यो उनले व्यक्त गरेका कथा हुन्, यस्ता अव्यक्त कथा कति छन् कति ! त्यता ध्यान पुर्याउन यो नयाँ सरकारले तदारुकता देखाउन जरुरी छ । प्रेमप्रसाद आचार्यको जस्तो नियति अन्यले भोग्नु नपरोस्, प्रेम प्रसाद आचार्यप्रति हार्दिक श्रद्धाञ्जली ।