पाइपलाइन विस्तार अगाडि बढाइँदै

लामो समयदेखि चर्चामा रहेको मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन विस्तार कार्य अगाडि बढाइने भएको छ । इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले यसका लागि आवश्यक पर्ने सवै काम अन्तिम चरणमा पु¥याएसँगै विस्तार कार्य अगाडि बढ्न लागेको हो । आईओसीले कन्स्ट्रक्सन, पाइप उत्पादन, पम्प हाउस (विद्युतीय सामान) र इन्स्ट्रुमेसन गरी चार खण्ड गरेर काम गरिसकेकाले विस्तारको काम अगाडि बढ्न लागेको नेपाल आयल निगमले जानकारी दिएको छ ।
आईओसीले पाइपलाइन बिच्छ्याउन आवश्यक पर्ने पाइप खरिदका लागि टेन्डर आह्वान गरिसकेको छ । पाइपलाइन विस्तारका लागि आईओसीका तर्फबाट काम अगाडि बढिसके पनि नेपालका तर्फबाट बाटोमा पर्ने रूख कटान गर्न वन मन्त्रालयले स्वीकृति नदिँदा ढिलाइ भइरहेको निगमको भनाइ छ । निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टराईले पाइपलाइन विस्तारको काम अगाडि बढ्न लागेको बताए ।
“आईओसीले आफ्नो तर्फबाट सबै तयारीको काम गरिरहेको छ,” उनले भने, “आगामी नोभेम्बरभित्र पाइप भित्रिसक्ने र त्यसपछि विस्तारको काम अगाडि बढ्नेछ ।” पाइप राख्नका लागि मासिक २ लाख रुपैयाँ भाडा तिरेर चिनी कारखानाको जग्गा लिइएको उनले जानकारी दिए । जग्गाका बारेमा वातावरण मन्त्रालयमा प्रतिवेदन पुगिसके पनि निर्णय नहुँदा काम अगाडि बढ्न सकेको छैन । अमलेखगन्जदेखि पथलैयासम्म सडकको बाटोमा १२ हजार रुख काट्नुपर्ने अध्ययनले देखाएको छ । रूख कटान गर्न वातावरण प्रभाव मूल्यांकन प्रतिवेदन वातावरण मन्त्रालयमा पुगेको छ । वन मन्त्रालयले स्वीकृति दिएपछि रूख कटानको कार्य अगाडि बढ्ने भट्टराईले जानकारी दिए ।
स्थानीय प्रशासनको सहयोगमा बाटोमा पर्ने बिजुलीका पोल, घर, टेलिकमका टावर हटाउने काम भइरहेको निगमले जानकारी दिएको छ । बाटोमा पर्ने ८ सय ९ वटा बिजुलीका पोल हटाउनुपर्ने छ । २ सयवटा बिजुलीका पोल हटाइसकेको र बाँकी प्रक्रियामा रहेको निगमले जनाएको छ ।
कुन–कुन प्वाइन्टमा पाइप बिच्छ्याउने भनेर मार्किङसमेत भइसकेको निगमले जानकारी दिएको छ ।
निगमले सडक विभागलाई ८ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ । पाइप भित्रिइसकेपछि खन्ने, बिच्छ्याउने र वाइल्डिङ गर्ने काम एकैसाथ हुने निगमको भनाइ छ । मोतीहारीदेखि रक्सौलसम्म आईओसीकोे एउटा पार्टीले काम गरिहेको र बाँकी रक्सोलदेखि अमलेखगन्जसम्म अर्काे पार्टीले काम गरिरहेको छ । अमलेखगन्ज डिपोमा केही परिवर्तन गर्नुपर्ने छ तर त्यसको जिम्मा आईओसीलाई दिइएको निगमले जानकारी दिएको छ । पाइपलाइन विस्तारको प्राविधिक सहयोग आईओसीको रहेको छ ।
आईओसीले मोतीहारीमा डिपो निर्माणको काम सुरु गरेको छ । पहिलो चरणमा मोतीहारीबाट रक्सोलसम्म ३५ र रक्सोलबाट अमलेखगन्जसम्म ३७ गरी ७२ किलोमिटर पाइपलाइन बिच्छ्याइनेछ । दोस्रो चरणमा चितवनसम्म पाइपलाइन विस्तार गर्न आईओसी तयार भएको निगमको भनाई छ ।
आईओसीका प्रतिनिधिले अमलेखगन्जदेखि चितवनसम्म स्थलगत अध्ययन गरी प्राविधिक रूपमा पाइपलाइन विस्तार गर्न उपयुक्त हुने प्रतिवदेन पेस गरेको छ । अमलेखगन्जदेखि चितवनसम्मको ६२ किलोमिटर लामो पाइपलाइन आईओसी र निगमको संयुक्त लगानीमा अगाडि बढ्नेछ । पाइपलाइन निर्माणका लागि ४ अर्ब २० करोड लागत लाग्ने अनुमान गरिएको छ । निगमले एक अर्ब र बाँकी रकम आईओसीले बेहोर्नेछ ।
पाइपलाइन विस्तारपछि मुलुकमा इन्धन आपूर्ति व्यवस्था सहज हुनेछ । इन्धन ढुवानीबापत बाहिरिने वार्षिक अर्बौं रुपैयाँसमेत बचत हुने निगमको भनाइ छ । नेपाल र भारत सरकारबीच दुई वर्षअघि पाइपलाइन विस्तार गर्ने सम्झौता भए पनि काम शुरु हुन सकेको थिएन । निर्माण कार्य सुरु भएको ३० महिनाभित्रमा सक्ने सम्झौतामा उल्लेख छ ।