कर्पोरेट पेमार्फत २ सय अर्बभन्दा बढीको कारोबार

कर्पोरेट पे प्रणालीले चालु आर्थिक वर्षको पुस मसान्तसम्म २०२ अर्ब रुपैयाँभन्दा बढीको कारोबार फर्छ्यौट गरी महत्वपूर्ण कोशेढुंगा पार गरेको छ । गत आर्थिक वर्ष भने कर्पोरेट पेमार्फत कुल १०९.५ अर्ब रुपैयाँबराबरको भुक्तानी कारोबार फर्छ्यौट भएको थियो ।
बैंक-वित्तीय संस्थाहरूका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकहरूले सहज रुपमा कर्पोरेट पेमार्फत डिजिटल भुक्तानी गर्न सक्ने हुँदा यसको कारोबार संख्या दुई गुणाले वृद्धि भएको हो । हाल ४४ बैंक-वित्तीय संस्थाहरूमार्फत् उक्त प्रणाालीमा बैंक-वित्तीय संस्थाका ६,१०० भन्दा बढी व्यावसायिक ग्राहकहरू आबद्ध भई कारोबार गर्दै आएका छन् । यस प्रणालीमार्फत फण्ड ट्रान्सफर, तलब भुक्तानी, भेण्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानीलगायत विभिन्न भुक्तानी गर्न सकिन्छ ।
यस प्रणालीमा युटिलिटी तथा क्रेडिटरहरूलाई बल्क भुक्तानी, नेपाल आयल निगम, भन्सार विभागको प्रज्ञापनपत्र भुक्तानी, बीमा समितिको इजाजत पत्रको नवीकरण भुक्तानी, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष तथा अन्य विभिन्न सेवासम्बन्धी भुक्तानीहरू उपलब्ध छन् । साथै यस प्रणालीको एउटै प्लेटफर्ममा एकभन्दा बढी बैंक खाताहरू लिन्क गरी कारोबारहरू गर्न सक्ने व्यवस्थासमेत रहेकाले ग्राहकलाई कारोबार गर्न थप सहज भएको छ ।
प्रणालीमा रियल टाइममा प्रतिकारोबार २० लाख रुपैयाँसम्म र नन–रियल टाइम कारोबारको हकमा २० करोड रुपैयाँसम्म गर्न सकिन्छ । उक्त प्रणाालीमा व्यावसायिक ग्राहकहरूलाई भुक्तानी कारोबार सुरक्षित रूपमा गर्न आवश्यक मल्टी-फ्याक्टर अगेन्टिकेशन तथा अथोराइजेसनको समेत उपयुक्त व्यवस्था छ । साथै व्यावसायिक ग्राहकहरूले बैंक खाता, रकम वा कारोबारको किसिममा आधारित विभिन्न खाता सञ्चालनका आदेशहरू सेट गरी उच्चस्तरको नियन्त्रण र जोखिम व्यवस्थापन पनि गर्न सक्दछन् ।
अनलाइन रजिष्ट्रेसनका निम्ती बैंक-वित्तीय संस्थाका व्यावसायिक ग्राहकहरूले यहाँ गई मागिएका कम्पनीसम्बन्धी विवरण दाखिला गरी, कम्पनीको आवश्यकताअनुरूप, युजरको विवरण र बैंक खातासम्बन्धी विवरण दाखिला गरी एक पटक अनलाइन रजिष्ट्रेसन प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ र सो अनलाइन रिक्वेस्टको आधारमा सम्बन्धित बैंक-वित्तीय संस्थाले उपलब्ध गराएका कागजपत्रका आधारमा सेवा सुचारु गर्न सकिने छ ।