Logo

रघुगंगा नदीमा चार जलविद्युत आयोजना निर्माणाधीन

रघुगंगा गाउँपालिकामा चार जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा छन् । धौलागिरि हिमालको फेदीमा मुहान रहेकोे रघुगंगा नदीमा अहिले चार जलविद्युत आयोजनाले पूर्वाधार निर्माण गरिहेका छन् । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले रघुगंगा–३, ४ र ५ मा ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना निर्माण गरिरहेको छ भने वडा नम्बर ८ छरीमा संयुक्त ऊर्जा प्रालिले २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

त्यस्तै तुण्डी पावर कम्पनीले रघुगंगा गाउँपालिका–७ चिमखोला र ८ कुइनेमंगलेमा ३७.५ मेगाघाट क्षमताको राहुघाट मंगले र सोही जलविद्युतको पानीलाई पुनः प्रयोग गरेर वडा नम्बर ७ चिमखोला र वडा नम्बर ४ दग्नाममा ४८.५ मेगावाटको अपर राहुघाट जलविद्युत निर्माणको काम धमाधम गरिरहेका छन् । तुण्डी पावर कम्पनीले दुबै आयोजनामा अहिले दैनिक करिब एक हजार जनशक्ति परिचालन भएको आयोजनाले जनाएको छ ।

यी दुई आयोजनाको बाँध, सुरुङमार्ग, विद्युतगृह र पेनस्टक पाइप जडानलगायतका पूर्वाधार निर्माण गर्न रामेछाप शेर्पा कन्स्ट्रक्सन, साउथ एसियन इन्फ्रास्ट्रक्चर र हाइ हिमालय हाइड्रोपावर कन्ट्रक्सनले ठेक्का लिएका छन् । ३७ मेगावाटको राहुघाट मंगले जलविद्युत आयोजनाको बाँधस्थल बन्दीघाटदेखि विद्युतगृह रहने चिमखोलासम्मको पाँच हजार ३ सय २० मिटर सुरुङमार्गमध्ये २ हजार ३ सय ९३ मिटर सुरुङ निर्माण भएको छ ।

आगामी एक वर्षभित्र ब्रेकथ्रु गर्ने लक्ष्यसहित दुई वटा अडिटबाट सुरुङमार्गको कामलाई तीव्रता दिएको आयोजनाले हेडबक्स र विद्युतगृहतर्फको कामलाई समेत अघि बढाएको कम्पनीका इन्जिनियर इन्द्र ढकालले जानकारी दिए । हेडबक्सतर्फ बाँधलगायतका पूर्वाधार निर्माणको काम अघि बढाइएको छ । बाँधतर्फ ४० प्रतिशत पूर्वाधार निर्माणको प्रगति भएको छ । चिमखोलाको मलाङमा रहने विद्युतगृहका लागि जग खन्ने काम अघि बढाइएको छ ।

अहिलेसम्म ४४ प्रतिशत भौतिक प्रगति सम्पन्न गरेको यस आयोजनाबाट आगामी ३० महिना भित्रमा विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको इन्जिनियर ढकालले बताए । तुण्डी पावर कम्पनीले नै यस आयोजनाको विद्युतगृहबाट निस्केको पानी र चिमखोलाको बगरखोलाबाट आउने पानीलाई उपयोग गर्ने गरी ४८.५ मेगावाटको अपर राहुघाट जलविद्युत आयोजना निर्माण गरिरहेको छ । चिमखोलाबाट ६ हजार ३ सय मिटर सुरुङमार्गबाट ल्याइने पानीलाई दग्नामको पुछारमा रहेको लगरको बगरमा रहने विद्युतगृहमा खसालेर विद्युत उत्पादन गर्ने तयारी गरिएको छ ।

दुई वटा अडिटबाट सुरुङमार्ग निर्माण सुरु गरेको यस आयोजनामा अहिलेसम्म ३ हजार १ सय मिटर सुरुङ निर्माण गरिसकिएको छ । अपर राहुघाटको विद्युतगृहको कामले समेत गति लिएको छ । दग्नामको पुछारमा रघुगंगा नदीमाथि झिँको पुछारबाट बेलिब्रिज निर्माण गरेर पहुँचमार्ग पुर्‍याएपछि अहिले पहाड काटेर विद्युतगृहको फाउण्डेशन निर्माण गर्ने काम सुरु गरिएको छ । विद्युतगृह निर्माणमा परिचालित हाइ हिमालय हाइड्रोपावरले काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्