Logo

रैथाने बालीको संरक्षण गर्न राष्ट्रिय जैविक विविधता दिवस

सरकारले पहिलो पटक राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाएको छ । जीवन र वातावरणको लागि कृषि जैविक विविधता नाराका साथै विभिन्न कार्यक्रम आयोजना गरी सबै प्रदेश तहमा मनाएको छ । आइतबार रैथाने एग्रि प्रडक्ट्स नेपालसँगको सहकार्यमा काठमाडौंमा परम्परागत खानाका परिकार एवं कन्दमूल आदिको प्रदर्शन गर्दै कृषि जैविक विविधताको महत्व बारे अन्तरकृया कार्यक्रम गरेको छ ।

विभिन्न सचेतनाका कार्यक्रमहरूको आयोजना गरी देशैभरी यो एकसाता भरी राष्ट्रिय जैविक विविधता दिवसका कार्यक्रम हुनेछन् । चालू आर्थिक वर्षको बजेटमा उल्लेख गर्नुका साथै गत असोज २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय जैविक विविधता दिवस मनाउन निर्णयले समेत गरेको थियो ।

कृषि मन्त्रालयका खाद्य सुरक्षा तथा खाद्य प्रविविध महाशाखा प्रमुख सहसचिव संजिव कुमार कर्णले दिवसले कृषि जैविक विविधताको महत्वको बारे आम जनमानसमा चेतना बढाइ दिगो संरक्षण तथा उपयोगमा टेवा पुर्‍याउन दिवस मनाएको बताए । उनले तीन तहका सरकारहरूको विकास नीति एवं कार्यक्रममा कृषि जैविक विविधतालाई मूल प्रवाहिकरण गर्ने बताए ।

उनले साथै दिगो रूपमा कृषि जैविक विविधता संरक्षण र उपयोगको लागि उपयुक्त विधि एवं पद्दतिहरूको विकास र अवलम्वन तथा मूल्य श्रृंखला विकास गर्ने जानकारी दिए । सहसचिव कर्णका अनुसार रैथाने परिकार तथा कन्दमुलको महत्व उजागर गर्ने प्रकृतिका कार्यक्रमहरु सञ्चालन गरि हरेक वर्ष १ माघलाई राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाइने छ ।

माघ महिनाको पहिलो हप्ता अवधि भरी साताब्यापी रूपमा राष्ट्रिय कृषि जैविक विविधता सप्ताह कार्यक्रम संचालन गरीनेछ । माघ १ गते राष्ट्रिय बिदा पर्ने भएकाले माघ पहिलो हप्ता भित्रको अनुकुल कुनै एक दिन राष्ट्रिय कृषि जैविक विविधता दिवसको रूपमा मनाउने कार्य यसै वर्षबाट सुरु गरेको सहसचिव कर्णले जानकारी दिए ।

यस दिवसले घरेलु कृषि आनुवंशिक स्रोतहरूको संरक्षण एवं दिगो उपयोगको लागि कृषि वंशाणु आरक्ष स्थल स्थापना एवं वातावरण संरक्षणमा समेत टेवा पुर्‍याउने अपेक्षा मन्त्रालयको छ । नेपाल विश्वव्यापी जैविक विविधता हटस्पटको हिस्सा हो र जैविक विविधताका लागि विश्वमा ४९औं स्थानमा रहेको कृषि जैविक विविधता तथा वातावरण शाखा प्रमुख उपसचिव विष्णुहरि देवकोटाले जानकारी दिए ।

उपसचिव देवकोटाका अनुसार कृषि जैविक विविधता देशका कुल २४ हजार ३ सय प्रजातिहरू मध्ये २८ प्रतिशत कृषि आनुवंशिक स्रोत हुन् । जसलाई कृषि जैविक विविधता भनिन्छ । नेपालमा कृषि जैविक विविधतामा छ वटा घटक (बिरुवा, घाँस, पशुधन, पानीजलचर, कीरा र सूक्ष्मजीवहरू) र चार उपघटकहरू (घरेलु, अर्ध–घरेलु, जंगली नातेदारहरू, र खानयोग्य जंगली बोटबिरुवा तथा जीवहरू) हुन्छन् । ६० देखि ५ हजार मिटरको उचाइको दायरा भित्र कृषि पारिस्थितिक प्रणालीमा प्रत्येक घटकको लागि कृषि जैविक विविधता छ ।

प्रजाति, खेती/जाति/प्रजाती/जिनप्ररुप स्तर, ६० देखि ५ हजार मिटरको उचाइ दायरामा १२ कृषि पर्यावरण छन् । जुन १ हजार २६ प्रजातिहरू छन् । बिरुवाहरू अन्तर्गत १ हजार २६ प्रजातिहरू छन् । चारा, पशुपालनमा ३५, जलचरमा २५०, जलचर वनस्पतिमा १७, कीरामा ३ हजार ५ सय र सूक्ष्मजीवमा ८ सय छन् । जैविक विविधताको अभिन्न अङ्गको रुपमा रहेको कृषि जैविक विविधता, खाद्य तथा पोष्ण सुरक्षा, जीविकोपार्जन, गरिबी निवारण, पर्यावरणीय सन्तुलन र दिगो विकासको प्रमुख आधार भएको उपसचिव देवकोटाको बताए ।

पछिल्लो समय जलवायु परिवर्तन तथा आधुनिक खेती प्रणालीका कतिपय नकरात्मक प्रभावका कारण समग्र जैविक विविधताको कृषि जैविक विविधताको हास्रलाई तीव्र बनाएको मन्त्रालयले जनाएको छ । नेपालमा रैथाने कृषि जैविक विविधता (बाली, घाँसे बाली, पशुपन्छी, जलीय, किरा र सूक्ष्म जीवाणुजन्य आनुवंशिक स्रोत) मध्ये करिव ४० प्रतिशत लोप भै सकेको हुन सक्ने अनुमान कृषि मन्त्रालयको छ ।

ह्रासोन्मुख अवस्थामा रहेका रैथाने कृषि जैविक विविधताको संरक्षण र दिगो उपयोगमा ध्यान पुर्‍याउन नसकेमा कृषि पर्यावरणीय प्रणालीमा नै नकरात्मक असर पर्न गइ समग्र खाद्य एवं कृषि प्रणाली नै जोखिममा पर्न सक्ने अवस्था आएको उपसचिव देवकोटाले जानकारी दिए । कृषि जैविक विविधताको संरक्षणबारे आम सर्वसाधारण र सरोकारवाला पक्षहरु जानकार र सचेत भइ तिनको संरक्षण र दिगो उपयोगमा जोड दिन अति आवश्यकता रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्