व्यवसायीमा डर र त्रास उत्पन्न भयो: महासंघ «

व्यवसायीमा डर र त्रास उत्पन्न भयो: महासंघ

राजस्व अनुसन्धान मध्यमाञ्चल क्षेत्रीय कार्यालय पथलैयाले व्यवसायीमा डर र त्रास उत्पन्न हुने गरी छापा मारेको घटनाप्रति असन्तुष्टि जनाउँदै नेपाल सुनचाँदी व्यवसायी महासंघले अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको ध्यानाकर्षण गराएको छ । महासंघका अध्यक्ष मोहनकुमार सुनारको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले बिहीबार राजस्व कार्यालयको हस्तक्षेपले स्वतन्त्रपूर्वक व्यवसाय गर्न पाउने अधिकारको हनन भएको भन्दै मन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाइएको हो ।
त्यसक्रममा मन्त्री कार्कीसँग अर्थ मन्त्रालयका सचिव शंकरप्रसाद पाण्डे र राजस्व सचिव शिशिर ढुंगाना तथा व्यवसायीका तर्फबाट अध्यक्ष सुनार, वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्य, उपाध्यक्ष विपिन रामुदामु तथा कोषाध्यक्ष महेन्द्ररत्न शाक्यलगायतको उपस्थिति रहेको महासचिव धर्मसुन्दर बज्राचार्यले जानकारी दिए । महासंघका प्रवक्ता मनोरकुमार शाहका अनुसार वीरगन्जस्थित ओम ज्वेलर्स र बालाजी ज्वेलर्समा माघ १५ गते राजस्व अनुसन्धान मध्यमाञ्चल क्षेत्रीय कार्यालय पथलैयाले गरेको छापाप्रति नेपाल सुनचाँदी व्यवसायी महासंघको ध्यानाकर्षण भएको छ ।
)“कुनै पनि व्यवसायी राज्यको जिम्मेवार नागरिक मात्र नभई जिम्मेवार करदातासमेत रहने वास्तविकता हामी सबैलाई विदित नै छ । यही सन्दर्भमा राजस्व अनुसन्धान विभागबाट ललितपुर र चितवनमा भएका छापापछि उस्तै शैलीमा अत्यधिक बल प्रयोग गरी पर्सा जिल्लामा पनि छापामारेको घटना दोहोरिएकोमा यस महासंघ खेद व्यक्त गर्दै आपत्ति प्रकट गर्छ,” विज्ञप्तिमा भनिएको छ ।
वीरगन्जमा भएको उक्त छापामा दुई ट्रकभन्दा बढी प्रहरी परिचालन गरी व्यावसायिक कार्यस्थलमा प्रहरी प्रवेश गरी ग्राहकवर्गलाई बाहिर निकाल्ने, व्यवसायीलाई नियन्त्रणमा लिई मोबाइल स्वीच अफ गराउने र व्यावसायिक कार्यस्थलमात्र नभई घरको प्रत्येक व्यक्तिगत कोठा र कुनाकाप्चा नियन्त्रणमा लिई खानतलासी लिने कार्यले आतंकको सिर्जना भएको छ । यसले स्वतन्त्र रूपमा व्यवसाय गर्ने संविधान प्रदत्त मौलिक हकमा अतिक्रमण भएको हामीले ठानेका छौं । व्यवसाय क्रममा हुने कमी कमजोरीलाई सच्याउन/सुधार गर्न यथासम्भव अवसर प्रदान गर्नु लोककल्याणकारी राज्यको कर्तव्य हो भन्ने कुरामा विश्वास गर्ने महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्