‘विकास र सेवा प्रवाहमा हिमा कर्णालीकै नमुना पालिका बन्छ’

हिमा गाउँपालिकाको १३औँ हिउँदे गाउँसभा सकिएको छ । विभिन्न ऐन, नियम र कार्यविधि पारित गर्दै साढे सात महिनाको अवधिमा भएका प्रगतिको समीक्षा र नमुना पालिका बनाउने संकल्प गर्दै गाउँसभा सम्पन्न भएको हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले बताए ।
उनका अनुसार हिमाको १३औं हिउँदे गाउँसभाबाट तीनवटा ऐन कार्यविधि पारित भएका छन् । जसमा युवा विकास समिति नियम २०७९, निर्माण व्यावसायिक कार्यविधि, २०७९ र निर्माण व्यवसायी ऐन, २०७९ गाउँसभाबाट पारित भएको अध्यक्ष शाहीले जानकारी दिए ।
जुम्लाका आठ पालिकामध्ये हिउँदे गाउँसभा गर्ने हिमा दोस्रो पालिका हो । पालिकाभित्रका युवालाई रोजगारी सृजना, उद्यम विकास, गुणस्तर एवं आवश्यकतामुखी पूर्वाधार निर्माणलाई निरन्तरता, कार्यसम्पादनमा प्रभावकारिता, छिटो छरितो सेवा प्रवाहदेखि सातवटै वडा कार्यालयबाट जग्गा रजिस्ट्रेसन सेवालाई प्रभावकारी बनाइनेलगायतका विषयमा सबै जनप्रतिनिधि एकमत भएर लाग्ने संकल्प भएको समेत अध्यक्ष शाहीले उल्लेख गरे ।
उनले भने, “हिमा सरकारले सात महिनाको अवधिमा तीन पटक विभिन्न स्वास्थ्य शिविर चलाएको छ । गाउँमै विपन्न नागरिकले विशेषज्ञ उपचार पाएका छन् । विकास, सेवा प्रवाहमा हामी कर्णालीकै नमुना र उदाहरणीय पालिका बन्ने संकल्प र अठोटमा छौं । सोहीअनुसार नियमित काम भइरहेका छन् ।”
करारका कर्मचारीको म्याद थप, प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि आवश्यक प्राविधिक जनशक्ति व्यवस्थापन, कर्मचारी प्रोत्साहनको व्यवस्था, मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत प्रदेश सरकारबाट आएका योजनाको कार्यान्वयन गर्नेलगायतका विषय क्र्मचारी जनप्रतिनिधिबीच समन्वय भएर काम गर्ने निर्णयसमेत गाउँसभाबाट पारित भएको हिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले बताए ।
हिमाका ४ सय ४३ घरपरिवारको माटोको छाना फेरिँदै छ भने सातवटै वडा कार्यालय आफ्नै भवनमा छन् । गाउँपालिकाको प्रशासकीय भवन निर्माण प्रक्रिया पनि अघि बढेको छ । पालिकाका प्रवक्ता तथा वडा नं. १ का वडाध्यक्ष रतनबहादुर शाहीले हिमाका नागरिकको अपेक्षाअनुसार काम भइरहेको बताए ।
गाउँपालिकाको प्रशासनिक केन्द्रसम्म रहेको बैंकसम्म सामाजिक सुरक्षा भत्ता बुझ्न आउने ज्येष्ठ नागरिकलाई निःशुल्क यातायात सेवा दिएको वडाध्यक्ष शाहीको भनाइ छ । हिमावासीको आवश्यकता, चाहानाअनुसारको विकासलाई जोड दिइने हिमा सरकारले जनाएको छ ।