भूकम्पीय सुरक्षाका लागि एनसेटसँग सहकार्य

व्यास नगरपालिका र भूकम्पप्रविधि राष्ट्रिय समाज (एनसेट) बीच सहकार्य गरिने भएको छ । भूकम्पीय सुरक्षा अभिवृद्धिका लागि व्यास नगरपालिकामा विगतमा सञ्चालन गरिएका प्रयत्नलाई संस्थागत गर्दै हाल अवलम्बन गरिएका प्रणाली र अभ्यासलाई थप व्यवस्थित र मजबुत बनाउन व्यास र एनसेटबीच शुक्रबार सम्झौता गरिएको हो ।
व्यास नगरपालिकाका कार्यपालिका सदस्य र वडाध्यक्षहरू समेतको उपस्थितिमा नगर प्रमुख बैकुण्ठनाथ न्यौपाने र एनसेटका उपकार्यकारी निर्देशक डा. रमेश गुरागाईंले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
सो अवसरमा कार्यपालिकाका सदस्य, वडाध्यक्षहरू, प्राविधिक समूहबीच सहकार्यका अवधारणा, क्षेत्र र भावी कार्ययोजनाको खाकासमेत प्रस्तुत गरिएको थियो । सहकार्यअन्तर्गत नगरपालिका क्षेत्रभित्र भवन संहिताको पालना गर्न÷गराउन आवश्यक नीति, कार्यक्रम तथा निर्देशिका तर्जुमा गरी कार्यान्वयन गर्ने, नगरपालिका क्षेत्रको भूकम्पीय जोखिम तथा क्षमता मूल्यांकन गर्ने र भूकम्पीय जोखिम न्यूनीकरणका लागि कार्ययोजना तयार पार्ने, भूकम्पीय जोखिम न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्ने क्रममा प्राप्त हुने ज्ञान, अनुभव तथा सूचनालाई वरपरका गाउँपालिका तथा नगरपालिकामा प्रसारित गर्ने तथा कार्यक्रम सञ्चालन गर्ने काम गर्ने तय भएको छ ।
नगरपालिका क्षेत्रमा भूकम्पीय जोखिम न्यूनीकरण तथा पूर्वतयारीका साथै समग्र विपद् जोखिम व्यवस्थापनको विषयमा काम गर्ने र त्यसका लागि नगरपालिका क्षेत्रमा कार्यरत अन्य संघसंस्थासँग समन्वय गर्ने कुरामा समेत सहमति भएको छ ।
साथै व्यास नगरपालिकामा जनचेतना अभिवृद्धि, क्षमता अभिवृद्धि, अध्ययन तथा अनुभव आदानप्रदानका कार्यहरू सञ्चालन गरिने छन् । यसका साथै भूकम्पीय जोखिम न्यूनीकरणका लागि नगरपालिका क्षेत्रको जोखिम तथा क्षमता मूल्यांकन र कार्ययोजना तयार पार्ने, नगरपालिका क्षेत्रमा भूकम्प प्रतिरोधात्मक नयाँ भवन निर्माण तथा बनिसकेका घरहरूको भूकम्पीय प्रवलीकरणसम्बन्धी नमुना परियोजना कार्यान्वयन गर्ने, तालिम तथा जनचेतना कार्यक्रमका लागि नगरपालिकामा उपलब्ध प्राविधिकबाट प्राविधिक प्रशिक्षक उपलब्ध गराउनेलगायतका काम हुनेछन् ।
कार्यक्रमको कार्यान्वयन प्रभावकारी तथा समन्वयात्मक बनाउन नगरपालिकाको प्रमुखको संयोजकत्वमा नौं सदस्यीय अनुगमन तथा समन्वय समिति गठन गरेको छ । सहमति पत्रबमोजिम एनसेटले हाल अमेरिकी सहायता नियोगको सहयोगमा नेपालका विभिन्न नगरपालिकामा राष्ट्रिय भवन संहिता कार्यान्वयनका लागि सहकार्य गर्ने र प्राविधिक सहायता पु¥याउने उद्देश्यका साथ सञ्चालन गरिरहेको भवन निर्माण संहिता कार्यान्वयनमा प्राविधिक सहायता कार्यक्रममार्फत सघाउने छ ।
–कृष्ण न्यौपाने