Logo

युरोप-अमेरिकाको लोभले अफ्रिकामा नेपाली अलपत्र

अमेरिका तथा युरोप प्रवेश गराउने लोभमा कैयौं नेपालीलाई दक्षिण अफ्रिका पुर्‍याएर अलपत्र पार्ने क्रम बढेको छ । अमेरिका तथा युरोप जाने क्रममा अफ्रिकामा अलपत्र पर्ने नेपालीको संख्या बढ्दै गएपछि दक्षिण अफ्रिकाको प्रिटोरियास्थित नेपाली दूतावासले ट्राभल एडभाइजरी नै जारी गरेर यात्रा नगर्न सुझाव दिएको छ ।

दूतावासका काउन्सिलर ज्ञानबहादुर मगरले अमेरिका तथा युरोप प्रवेश गर्न विभिन्न मुलुक हुँदै अफ्रिकामा आएर अलपत्र पर्नेको संख्या बढेको कारोबारसँगको टेलिफोन संवादमा बताए । मगरका अनुसार दक्षिण अफ्रिकामा अहिले मुख्य गरी दुई किसिमबाट नेपालीहरु पुग्ने गरेका छन् । एउटा-भारतलगायत विभिन्न मुलुकको बाटो भई अमेरिका र युरोपेली मुलुकहरुमा जाने क्रममा दक्षिण अफ्रिका पनि आउने गरेका छन् ।

अर्को–दक्षिण अफ्रिकामा नै राम्रो रोजगारीका असर पाइने प्रलोभनमा फसेर पनि नेपालीहरु यहाँ आउने गरेका छन् । यीमध्ये दक्षिण अफ्रिकाबाट युरोप, अमेरिकामा जान सहज हुने लोभमा परेर आउने नेपालीहरु धेरै छन् । एजेन्टहरुको लोभमा अफ्रिकासम्म आएर धेरै नेपाली अलपत्र बनेका छन् ।

अमेरिका तथा युरोप जाने क्रममा अफ्रिकामा अलपत्र पर्ने नेपालीको संख्या बढ्दै गएपछि दक्षिण अफ्रिकाको प्रिटोरियास्थित नेपाली दूतावासले ट्राभल एडभाइजरी नै जारी गरेर यात्रा नगर्न सुझाव दिएको छ ।

“युरोप तथा अमेरिकामा पठाउन सहयोग गर्ने प्रलोभन देखाई नेपाली नागरिकबाट लाखौं रुपैयाँ उठाएर भारत लगायत अन्य मुलुकको बाटोबाट दक्षिण अफ्रिका ल्याएर अलपत्र पारी छाड्ने गरिएको छ,” दूतावासले जारी गरेको एडभाइजरीमा भनिएको छ ।

दूतावासका अनुसार एजेन्टहरुले भारतीय बाटोबाट संयुक्त अरब इमिरेट्स, कतार, तान्जानिया, मोजाम्बिक, केन्या, मलावी, मौरिसस, रुवाण्डा, कंगोलगायतका अफ्रिकी मुलुक हुँदै दक्षिण अफ्रिकामा ल्याई अलपत्र छोड्ने गरेका छन् । लामो समयदेखि अफ्रिकालाई ट्रान्जिट बनाएर केही नेपाली अन्य देश जाने गरेकामा पछिल्लो समय यो संख्या बढेको हो । काउन्सिलर मगरले कति नेपाली बाटोमा अलपत्र परेका अवस्था छन् भन्नेबारे यकिन तथ्यांक नभएको बताए ।

उनले दक्षिण अफ्रिकामै रोजगारी पाइन्छ भन्ने लोभमा पनि नफस्न आग्रह गरेका छन् । काउन्सिलर मगरका अनुसार दक्षिण अफ्रिकाको कानुनअनुसार विशेष ज्ञान र सीप आवश्यक पर्ने १ सय ४० किसिमका पदमा विदेशीले काम पाउन सक्छन् । तर यस्ता पदमा सबैभन्दा पहिलो प्राथमिकता स्वदेशी नागरिकलाई दिइन्छ ।

दूतावासका सहचारी विष्णु ढकालले पनि भारतको बाटो हुँदै अफ्रिका ल्याउने एजेन्टको संख्या बढ्दै गइरहेको बताए । नेपालीलाई अलपत्र पर्ने काममा सक्रिय व्यक्तिको सूचना माग गरिएको समेत उनले जानकारी दिए । गन्तव्यका क्रममा बीचमा रहेका नेपालीलाई अफ्रिका नआउन र आउनुपर्ने अवस्था भए श्रमस्वीकृति लिएर मात्र आउन उनले सुझाव दिए ।

उनका अनुसार भारतमा रहेको दक्षिण अफ्रिकाको हाइ कमिसन र कन्सुलेट जनरलबाट जारी हुने पर्यटक भिसा दक्षिण अफ्रिका आउने प्रयोजनका लागि मात्र हो र यो भिसाका आधारमा काम पाइँदैन । पर्यटक भिसा लिएर कुनै पनि किसिमको रोजगारीमा संलग्न हुने कार्य यहाँ गैरकानुनी हो । पर्यटक भिसा लिएर कसैले काम गरेको छ भने त्यसलाई दक्षिण अफ्रिकी निकायले पक्राउ गरी कानुनबमोजिम दण्ड-जरिवाना र देश निकाला गरिरहेको छ ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अफ्रिकामा अलपत्र पर्ने नेपालीका सम्बन्धमा मन्त्रालयको ध्यानाकर्षण भइसकेको जानकारी दिइन् । अलपत्र पर्ने क्रम बढेको भन्दै उनले मन्त्रालयले यस सम्बन्धमा नियोगसँग समन्वय गरिरहेको बताइन् । दूतावासका काउन्सिलर मगरले अफ्रिकामा भ्रमण भिसामा आएर अपलत्र परेका कतिपय नेपाली घर फर्कन दूतावासमा ट्राभल डकुमेन्ट बनाउन आउने गरेको बताए ।

“पछिल्ला दिनमा अफ्रिकामा अलपत्र परी नेपाल फर्कन ट्राभल डकुमेन्ट बनाउनेको संख्या औषतमा महिनाको ७-८ जनासम्म पुगेको छ,” उनले भने, “यो विगतका तुलनामा धेरै संख्या हो ।” वैदेशिक रोजगार विभागको तथ्यांकमा दक्षिण अफ्रिकामा काम गर्न श्रमस्वीकृति लिएर जानेको संख्या ३ वर्षमा २७ जनामात्र छ । यसले पनि पछिल्ला दिनहरुमा दक्षिण अफ्रिकामा जाने नेपाली बढेको पुष्टि गर्छ ।

प्रतिक्रिया दिनुहोस्