नेपाल टेलिकमले सुधार गर्नुपर्ने कुरा

प्रतिस्पर्धा व्यावसायिक कम्पनीको विकास र प्रगतिका लागि अनिवार्य सर्त हो । व्यवसायलाई जीवन्त राख्न र व्यावसायिक सुन्दरता कायम गर्न खरो प्रतिस्पर्धामा उत्रनु अत्यावश्यक हुन्छ । आर्थिक उदारीकरणको भेलसँगै खुला अर्थतन्त्र अङ्गीकार गरिरहँदा दूरसञ्चार क्षेत्रमा स्वदेशी तथा वैदेशिक निजी लगानी खुला गरिएको हो । दूरसञ्चार ऐन–२०५३, दूरसञ्चार नीति–२०६०, सूचना तथा सञ्चार प्रविधि नीति–२०७२ मा दूरसञ्चार क्षेत्रको उदारीकरणलाई स्वीकार गरिएको छ । दूरसञ्चार नीति–२०६० मा निजी क्षेत्रको सहभागिता, खुला अनुमति प्रणाली, व्यावसायिक दूरसञ्चार सेवाको अभीष्टसहित तत्कालीन दूरसञ्चार संस्थानलाई कम्पनीमा परिणत गरी व्यावसायिक र प्रतिस्पर्धी बनाउने परिल्पना गरिएको छ ।
२०६० वैशाख ११ मा विश्वव्यापार संगठनको सदस्यता लिँदाका बखत १२ सेवाक्षेत्र र त्यसका १ सय ५५ उपक्षेत्रमध्ये ७० वटा सेवा उपक्षेत्रमा ससर्त मुलुकको बजार ५१ प्रतिशतदेखि ८० प्रतिशतसम्म वैदेशिक लगानी खुला गर्ने प्रतिबद्घता नेपालले जाहेर गरेको थियो । लगानी खुला गरिएको एउटा प्रमुख क्षेत्र दूरसञ्चार थियो, जसको फलस्वरूप दूरसञ्चार उद्यममा बहुर्राष्ट्रिय लगानी भित्रियो । हाल दूरसञ्चारको अल्पाधिकारको बजारमा ६ थान दूरसञ्चार सेवा प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतिस्पर्धा वस्तु, सेवा, गुणस्तर, मूल्य, वितरण, प्रवद्र्घन आदि सबै तह र तप्कामा छ । प्रतिस्पर्धामा युनाइटेड टेलिकम सीडीएमए प्रविधिमा आधारित ताररहित र लिमिट मोबिलिटी सेवा लिएर अगाडि आएको छ । सीजी कम्युनिकेसन, स्मार्ट, नेपाल स्याटलाइट–भिस्याट प्रविधिमा आधारित आधारभूत स्थानीय टेलिफोन र जीएसएम प्रविधिमा आधारित टेलिफोन सेवा लिएर बजारमा आएका छन् । मुख्य प्रतिस्पर्धी एनसेल जीएसएम मोबाइल सेवा लिएर प्रतिस्पर्धामा उत्रिएको छ । आजभन्दा करिब १०४ वर्ष पूर्व अस्तित्वमा आएको सार्वजनिक तहको दूरसञ्चार सेवाप्रदायक आधारभूत स्थानीय टेलिफोन, जीएसएम मोबाइल, सीडीएमए र डाटा सेवासँग जोडिएर प्रतिस्पर्धामा पैठेजोरी खेल्दो छ ।
२०७४ भदौसम्ममा कुल ३ करोड ६५ लाख लाइन भ्वाइस सेवा वितरण भएकोमा नेपाल टेलिकमले १ करोड ८० लाख, एनसेलले १ करोड ५९ लाख, स्मार्टले १६ लाख १६ हजार, युटिएलले ५ लाख २६ हजार, नेपाल स्याटेलाइटले ३ लाख ७१ हजार र एसटीएमले ३ हजार लाइन वितरण गरेका छन् । बजार हिस्सा नेपाल टेलिकम ४९ प्रतिशत, एनसेलको ४४ प्रतिशत, स्मार्टको ५ प्रतिशत र यूटीएलको १ प्रतिशत छ । डाटातर्फ नेपाल टेलिकमको ५२.७६ प्रतिशत बजार हिस्सा हुँदा एनसेलको हिस्सा ४४.० प्रतिशतमात्र छ, जहाँ युटीएललगायत अन्य ससाना आईएसपीहरूको हिस्सा एकाध प्रतिशत मात्र छ । टेलिकमले २०७४ माघ २२ चौधांै वार्षिक उत्सव मनाउँदै गर्दा सुधार गर्नुपर्ने कमी–कमजोरीहरू केलाउनु वाञ्छनीय ठानिएको छ ।
बजार मिश्रण
कम्पनीको बजार मिश्रण मूलतः वस्तु, मूल्य, स्थान र प्रवद्र्घनसँग जोडिएको विषय हो । टेलिकमप्रदत्त नमस्ते ब्रान्डका पीएसटीएन, जीएसएम, सीडीएमए, डाटा, भ्यालु एडेड सेवाहरू टेलिकम व्यवसायका वस्तुहरू हुन् । नेपाल टेलिकमको वस्तु भन्नु नै सेवा हो । त्यसमा पनि मोबाइल सेवा प्रमुख वस्तु हो । आधारभूत, मोबाइल र सीडीएमए र डाटामा असुल गरिने महसुल टेलिकम मूल्य हो । कम्पनीले वस्तु तथा सेवा बिक्री हुने गरेका काउन्टर, रिचार्ज कार्ड डिलरसिप टेलिकम स्थानसँग जोडिएका कुरा हुन् । टेलिकम जिंगल सुन्न पाइने अडियो, टेलिकमका सेवा प्रचार गरिरहेका टेलिभिजन भित्ता, चौरस्तामा ठिंग उभिएको होडिङ बोर्डहरू, टेलिकमका जर्सीलगायतका स्पोट प्लेअर टेलिकमका प्रवद्र्घन सामग्रीहरू हुन् । अपितु, टेलिकम बजार मिश्रण प्रतिस्पर्धीको दाँजोमा परम्परागत नै छ ।
बजार प्रवद्र्घन
कम्पनीका बजार प्रवद्र्घन नाजुक छ भन्ने कुरा विचार गर्न टाढा जानु पर्दैन । चौरस्तामा ठडिएका विज्ञापन सामग्रीहरूलाई नियाले पुग्छ । नयाँ–नयाँ सेवाहरूबारे जानकारी दिने बुलेटिन, ब्राउसर, फ्लेक्स, होर्डिङबोर्ड प्रशस्त रूपमा उपयोग गरिएका छैनन् । प्रतिस्पर्धीले अविच्छिन्न रूपमा नयाँ–नयाँ अफरहरू पस्किरहँदा प्रवद्र्धनबापत आम्दानीको १ प्रतिशत अंश खर्चिन कन्जुस्याइँ गरिएको छ । आव ०७३/७४ मा कुल आयको ०.३७ प्रतिशत मात्र विज्ञापन तथा व्यापार प्रवद्र्धनमा खर्च गरिएको छ, जुन रु. १ करोड ३१ लाख रुपैयाँ मात्र हो । व्यापार प्रवद्र्धन खर्च नभई लगानी हो र टेलिकमले उपभोक्तालाई बुझाउनुपर्ने कुरा तमाम छन् ।
कोर बिजनेस
जलविद्युत्, बैंकिङ, पूर्वाधारलगायतका क्षेत्रहरूमा गरिएको एक अध्ययनले सर्वाधिक प्रतिफल दूरसञ्चार क्षेत्रमै रहेको देखाएको छ । आव ०७३/७४ को वार्षिक प्रतिवेदनले रिटर्न अन इक्युटी १६.८३ प्रतिशत र रिटर्न अन क्यापिटल इम्प्ल्यायड १४.४३ प्रतिशत देखाएको छ । तर ०७३/७४ मा मुद्दती निक्षेप तथा ऋणपत्रमा ३४.३८ अर्ब र नगद तथा नगद सरह २४.२५ अर्ब रहेको छ, जहाँ ०७३।७४ मा ४ अर्ब ९ करोड ब्याज बुझेको छ ।
महसुल दर
दूरसञ्चार क्षेत्र मात्र एउटा यस्तो क्षेत्र हुनुपर्छ, जुन वार्षिक दोहोरो अंकको मुद्रास्फीति भए पनि निरन्तर मूल्य बढिरहेको हुन्छ । वर्तमान दिनहरूमा आगमन कल मात्र होइन, मुलुकभर पीएसटीएन, जीएसएम र सीडएमए सेवा लोकलसरह गरिएको छ । स्थानीय कल प्रति २ मिनेटको एक कल गणना हुने गरी १ रुपैयाँ प्रतिकल कायम गरिएको छ । नामसारी, ठाउँसारी जडानको, धरौटी महसुलमा समेत मनग्य कटौती गरिएको छ । सीयूजी, सीसीओ, नाइट प्याकेजलगायतका स्किम पस्की भ्वाइस कल अनलिमिटेडजस्तै बनाउन खोजिएको छ । मूल्य कटौती आफैंमा नराम्रो कुरा होइन, तर बुझ्नुपर्ने कुरा के हो भने उपभोक्ताले गुणस्तरमा सुधार गर भनेका छन् । सेवाको मूल्य महँगो भो, घटाइदेऊ कहिल्यै भनेका छैनन् ।
खरिद प्रक्रिया
कम्पनीले कुनै पनि वस्तु तथा सेवा उत्पादन गर्दैन । उत्पादित वस्तु तथा सेवा भेन्डर वा आपूर्तिकर्तामार्फत खरिद गर्नु कम्पनीको बाध्यता हो । खरिद–प्रक्रियाको ढिलाइका कारण कतिपय अवसर सती जान विवश पारिएका छन् । निजी क्षेत्रले चुड्कीको भरमा खरिद गर्न सक्ने कुनै वस्तु तथा सेवा टेलिकमले खरिद गर्न महिनौं लाग्ने कानुनी प्रावधान छ । ठूला खरिद कार्यका लागि समयमै आवश्यकता पहिचान, बजेट विनियोजन, बजार अध्ययन, बोलपत्र कागजात निर्माणजस्ता घरेलु कार्यमै धेरै समय खेर जाने गरेको छ । तत्पश्चात् बोलपत्र आह्वान, बोलपत्र मूल्याङ्कन, रिभ्यु कमिटीमा छलफल, एलओआई निर्धारण, पुनरावेदन, सम्झौता र आपूर्तिका लागि कम्तीमा पाँच–छ महिना व्यतीत हुने गरेको छ । सेवाप्रदायक कम्पनीले जे–जति समय विलम्ब गरे पनि जरिवानाबापत बढीमा खरिद अंकको १० प्रतिशतसम्म मात्र हर्जाना लगाउन पाइने कानुनी प्रावधान छ । सामान्य त्रुटिका कारण थोरै मूल्य राख्ने कम्पनी बाहिरिनुपर्ने, सामान कम गुणस्तरीय भए पनि मापदण्ड पुगे कम कबोल्नेमार्फत नै सामान खरिद गर्नुपर्ने कानुनी बाध्यता छ ।
युनियनबाजी
टेलिकमले अहिले पनि चार थान युनियनलाई थेगिरहेको छ । युनियनको नाममा होलटाइमर बन्न पाउने र होलटाइमरले कम्पनीको सिन्को भाँच्नु नपर्ने प्रावधान छ । युनियनमा आबद्ध र प्रभाव जमाउन सक्ने सदस्यले जायज–नाजायज लाभ लिन पछि नपरेको तीतो सत्य छ । यहाँसम्म कि सबै युनियन राजनीतिक दलको जनवर्गीय मोर्चाका रूपमा कार्य गरिरहेका छन् । एकल युनियनको चर्चा हुने गरे पनि कुर्सी, सुखसुविधा गुम्ने त्रास युनियनकर्मीमा छ । युनियन कार्यको नाममा काज भ्रमण, सवारी साधनलगायतका स्रोतसाधनको दुरुपयोग भइरहेको छ ।
(लेखक नेपाल टेलिकममा कार्यरत छन् ।)