Logo

चुनौतीमा राजस्व लक्ष्य, तातिए पौडेल

फाइल तस्बिर ।

चालू आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व संकलन नभएर समस्या आएका बेला अर्थ मन्त्रालयको जिम्मेवारीमा आएका अर्थमन्त्री विष्णु पौडेलका पछिल्ला दिन राजस्व बढाउनेमा केन्द्रित हुन थालेको छ । अर्थमन्त्री पौडेलले राजस्व संकलन लक्ष्य हासिल गर्न आफू मातहतमा रहेका सबै कार्यालय प्रमुखलाई आइतबार बोलाएर निर्देशन दिएका छन् । उनले कर कानुनको परिपालना गरी गल्ती गर्नेलाई छुट नदिन तथा निर्दोषलाई त्रसित नहुने गरी काम गर्न निर्देशन दिएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

यो वर्ष राजस्वले चालू खर्चसमेत धान्न नसकेपछि मन्त्रालयका अन्य अधिकारीहरु पनि दबाबमा छन् । राजस्व संकलनको वर्तमान अवस्था र तोकिए बमोजिमको राजस्व संकलन हासिल गर्न अर्थमन्त्री पौडेलले आन्तरिक राजस्व विभाग र भन्सार विभाग अन्तर्गतका सबै कार्यालय प्रमुख एवं कर्मचारीलाई छलफलमा बोलाएका थिए । त्यसक्रममा मन्त्री पौडेलले हालसम्मको राजस्व न्यूनता पूरा गरी लक्ष्यअनुसार संकलन गर्न सोहीबमोजिमको कार्ययोजना तयार गरेर काम गर्न निर्देशन दिएका थिए ।

उनले स्थानीय प्रशासन र सुरक्षा निकायसँगको समन्वयमा सीमा नाकाबाट हुने चोरीपैठारी नियन्त्रण गर्न र व्यापार सहजीकरण गर्दै भन्सार जाँचपासलाई वास्तविक र यथार्थपरक बनाउनसमेत निर्देशन दिएको ती अधिकारीले बताए । यस्तै, कार्यालयहरूका लागि तोकिएको कार्यगत सूचकहरू प्राप्तिमा केन्द्रित हुन र करदातालाई कर तिर्ने सहज वातावरण सिर्जना गरी कर परिपालना बढाउन उनले पनि उनले निर्देशन दिएका थिए ।

यस्तै, मन्त्री पौडेलले सोमबार गृहमन्त्री रवि लामिछानेसँग छलफल गर्दै भन्सार नाकामार्फत हुने राजस्व चुहावटलाई कडाइ गर्ने व्यवस्था मिलाउन सहयोग मागेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहालले विभिन्न मन्त्रालयको कार्य विवरणबारे जानकारी लिन सरकारका सचिवहरूसँग गरेको छलफलका क्रममा अर्थमन्त्री पौडेलले गृहमन्त्री लामिछानेलाई भन्सार नाकाबाट हुने राजस्व चुहावटमा कडाइ गरी सहयोग गर्न आग्रह गरेका हुन् । भन्सार नाकाहरुको सुरक्षा र चोरी पैठारी रोक्न सरकारले सुरक्षा निकायलाई खटाएको छ ।

अर्थमन्त्री पौडेलको आग्रहपछि गृहमन्त्री लामिछानेले भन्सार नाकामा हुने राजस्व चुहावट रोक्न सहयोग गर्ने प्रबिवद्धता जनाएको अर्थ मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए । प्रवक्ता काफ्लेका अनुसार अर्थमन्त्री पौडेलको आग्रहमा गृहमन्त्री लामिछानेले आफ्नो मातहतका कार्यालय प्रमुखलाई भन्सार नाकामा हुने राजस्व चुहावटमा कडाइ गर्न निर्देशनसमेत दिइसकेका छन् ।

प्रवक्ता काफ्लेले पछिल्लो केही दिनयता राजस्व संकलनमा सुधार देखिँदै आएको बताए । महालेखा नियन्त्रण कार्यालयको तथ्यांकअनुसार पुस १७ सम्म ३ खर्ब ५५ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । यो लक्ष्यको २५.३१ प्रतिशतमात्र हो । यस्तै, अहिलेसम्म चालू खर्च ३ खर्ब ९५ अर्ब रुपैयाँ पुगिसकेको छ । राजस्व असुलीभन्दा चालू खर्च ४० अर्ब रुपैयाँ धेरै छ । सरकारको राजस्व बाहेक कुल आम्दानी पनि ३ खर्ब ८८ अर्ब रुपैयाँमात्रै छ ।

प्रतिक्रिया दिनुहोस्