Logo

धादिङ महोत्सवमा ७५ जना किसान पुरस्कृत

“धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पूर्वाधार” नारासहित शुरु भएको आठौं धादिङ महोत्सवमा कृषि मेला प्रदर्शनी विधामा ७५ जना किसान पुरस्कृत हुँदैछन् । धादिङ उद्योग वाणिज्य संघको आयोजनामा पुष ७ देखि १७ गतेसम्म सञ्चालन भएको महोत्सवको एउटा विधा थियो कृषि मेला प्रदर्शनी ।

कृषि मेला प्रदर्शनीमा माग लिन व्यावसायी कृषकदेखि निर्वाहमुखी कृषकसम्मका २७३ जना किसानहरुले विभिन्न जातका उत्पादन प्रदर्शनीमा ल्याएका छन् । किसानहरुले उत्पादन गरेर प्रदर्शनीमा ल्याएका कृषि उपजलाई कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनाले नौ समूहमा विभाजन गरेर मूल्यांकन गरेको कृषि ज्ञान केन्द्रकी कृषि प्रसार अधिकृत तारादेवी गुरुङले बताइन् ।

प्रदर्शनीमा ल्याइएका कृषि उपजहरुलाई खाद्यन्न वाली, रैथानेवाली समूह, विविध अन्य वाली समूह, नगदेवाली समूह, फलफूलवाली समूह, आलुवाली समूह, दलहनवाली समूह, काउलीवाली समूह र तरकारी वाली समूहमा विभाजन गरिएको छ । सबै वाली समूहका प्रथम हुनलाई एक हजार पाँच सय, द्वितीय हुनेलाई एक हजार, तृतीय हुनेलाई सात सय र सान्त्वना हुनेलाई पाँच सय नगर पुरस्कार दिने तयारी भएको प्राविधिक गुरुङले बताइन् ।

खाद्यन्नवाली समूहमा वेनिघाट रोराङ ७ का दिपक कडेल मकै उत्पादनमा प्रथम भएका छन् र यस विधामा पाँच जनालाई पुरस्कृत गरिएको छ । रैथानेवाली समूहमा ज्वालामुखी ६ का फडेन्द्र ढुवाडी जुनेलो उत्पादनमा प्रथम भएका छन् । यस विधामा चार जनालाई पुरस्कृत गरिएको छ । विविध अन्य समूहमा ज्वालामुखी ४ का प्रकाश ढुवाडी मौरीमा प्रथम भएका छन् । यस विधामा छ जनालाई पुरस्कृत गरिएको छ ।

यसैगरी नगदेवाली समूहमा वेनिघाट रोराङ ७ का दिपकान्त थपलिया अखु वालीमा प्रथम भएका छन् । यस विधामा १२ जना पुरस्कृत भएका छन् । फलफूल वाली समूहमा वेनिघाट रोराङ १० का शुक्रबहादुर घले सुन्तलामा प्रथम भएका छन् । यस विधामा नौ जनालाई पुरस्कृत गरिएको छ । आलुवाली समूहमा ज्वालामुखी ४ का वालीराज राउत पिडालुमा प्रथम भएका छन् । यस विधिमा छ जनालाई पुरस्कृत गरिएको छ ।

यसैगरी दलहन वाली समूहमा त्रिपुरासुन्दरी ३ का साना किसान सहकारी सस्था लिमिडेट कालो मासमा प्रथम भएका छन् । यस विधामा ७ जनालाई पुरस्कृत गरिएको छ । काउलीवाली समूहमा थाक्रे ८ का रामकुमार श्रेष्ठ काउलीमा प्रथम भएका छन् । यस विधामा ११ जनालाई पुरस्कृत गरिएको छ । तरकारी वाली समूहमा धुनीवेसी ५ का युद्ध प्रसाद न्यौपाने भेडे खुसार्नीमा प्रथम भएका छन् । यस विधामा १५ जनालाई पुरस्कृत गरिएको छ ।

उद्योग वाणिज्य संघले उमेश रुवालीको संयोजकत्वमा कृषि मेला प्रदर्शनी व्यवथापन समिति गठन गरेको छ । यस समितिले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियाजना इकाई कार्यालय धादिङ प्रमुख होमनाथ लम्साल, कृषि ज्ञान केन्द्रकी कृषि प्रसार अधिकृत तारादेवी गुरुङ र उद्योग वाणिज्य संघका प्रतिनिधि नानीवावु तिवारी सदस्य रहेको मूल्यांकन समिति गठन गरेको छ । समितिले मूल्यांकन गर्ने काम सम्पन्न गरिसकेको र महोत्सवको नवौं दिन १५ गते शुक्रबार पुरस्कार वितरण गर्ने कृषि प्रसार अधिकृत गुरुङले बताइन् ।

प्रतिक्रिया दिनुहोस्