सिंजाका दुर्गम गाउँमा ‘फोरजी’ सेवा सञ्चालन

वर्षौंदेखि टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेका सिंजाका दुर्गम गाउँमा फोरजी सेवा सञ्चालनमा आएको छ । बुधबारदेखि सिंजा गाउँपालिकाका सबै गाउँमा फोरजी सेवा सञ्चालन भएसँगै स्थानीय उत्साहित भएका छन् ।
गाउँमै फोरजी सेवासहितको इन्टरनेट र टेलिफोन सञ्चालनमा आएपछि स्थानीयले राहत महसुस गर्नुका साथै स्थानीय तहको दैनिक कार्यसम्पादनमा समेत सहज भएको सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए । इन्टरनेट सेवा नहुँदा यहाँका नागरिकलाई निकै सकस भएको थियो । अध्यक्ष धितालले भने, “फोरजी सेवा विस्तारले गाउँमा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवा र मनोरञ्जन, सूचना आदान प्रदानको कामसमेत सहज हुने अपेक्षा छ ।”
गाउँपालिकाभित्र रहेका नागरिकलाई सूचना थाहा पाउनका लागि मात्रै नभई देश तथा विदेशका समसामयिक घटनाबारे सिंजाबासी अब इन्टरनेटका माध्यमबाट घरमै बसेर थाहा पाउने छन् । सिंजाका सातवटै वडा कार्यालयमा फोरजीसहितको इन्टरनेट सेवा सञ्चालन भएको छ । जसले गर्दा सेवाग्राहीलाई छिटोछरितो सेवा प्रवाह गर्न सहज भएको सिंजा गाउँपालिका र वडा वडापालिकामा इन्टरनेट सेवा विस्तार भएपछि जुनसुकै तालिम, गोष्ठी, अनलाइन फर्म भर्न र अनलाइनबाट कक्षा लिन यहाँका विद्यार्थीलाई समेत सजिलो भएको उनको भनाइ छ ।
यसअघि सिंजा क्षेत्रमा घाम लागेपछि मात्रै टेलिफोनले काम गर्ने र नाम मात्रको थ्रिजी आउँथ्यो । तर सिंजाको अध्यक्षमा पूर्णप्रसाद धिताल निर्वाचित भएलगतै उनको पहलमा सिंजाका गाउँगाउँमा फोरजी सेवा विस्तार भएको सिंजा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले बताए । टावरमा थप ठूलो क्षमताको सोलार पावर जडान गरेकाले विगतको जस्तो घाम नलागेसम्म टेलिफोन इन्टरनेट नआउने समस्या अन्त्य भएको छ ।
सिंजा गाउँपालिकाको साझेदारीमा नेपाल टेलिकमको लगानीमा फोरजी सेवा सञ्चालनमा ल्याइएको हो । वायु ऊर्जाको विद्युत सिधै टावरमा जडान गरेपछि निरन्तर सञ्चार सेवाप्रवाह हुने भएको नेपाल टेलिकम कर्णाली प्रदेश कार्यालयका इन्जिनियर चन्द्रभूषण शाहले जानकारी दिए ।
उनका अनुसार कर्णाली प्रदेशमा फाइबरसहितको इन्टरनेट विस्तारको काम थालिए पनि ठेकेदारका कारण ढिलाइ भएको छ । यद्यपि सिंजा गाउँपालिको निरन्तर पहलमा सिंजामा फोरजी सेवा विस्तार भएको हो । उक्त टावरले सिञ्जा क्षेत्रका कनकासुन्दरी र हिमा गाउँपालिकाका विभिन्न गाउँमासमेत काम गरेको पाइएको छ ।