Logo

सिधुवा-शुक्रबारे-ओख्रे सडक कालोपत्रे हुँदै

धनकुटाको सिधुवा-शुक्रबारे-ओख्रे १६ किलोमिटर सडक कालोपत्रेको तयारी भएको छ । कालोपत्रेका लागि निर्माण कम्पनीले तीव्रता दिएको छ । निर्माणकार्यले तीव्रता पाएपछि जिल्लाको पश्चिमी क्षेत्रका नागरिक हर्षित छन् । सडक निर्माणका लागि ७२ प्रतिशत काम सम्पन्न भएपछि कालोपत्रेको तयारी भएको हो ।

हिउँदमा धुलाम्ये र वर्षात्मा हिलाम्ये सडकको पीडाले ग्रसित बन्दै आएका यस क्षेत्रका नागरिक सडक कालोपत्रे हुने भएपछि हर्षित बनेका हुन् । करिब तीन दशकअघि ट्रयाक खोलिएको उक्त सडक कालोपत्रे नहुँदा बर्सेनि नागरिकले सास्ती भौग्दै आएका थिए । कोसी राजमार्गसँगै जोडिएको सिधुवा-शुक्रबारे-ओख्रे सडक कालोपत्रे हुने भएपछि यहाँको आर्थिक अस्वथा पनि फेरिने भएको छ ।

उक्त सडक ९ मंसिर २०७६ मा प्रदेश नम्बर १ का पूर्वमुख्यमन्त्री शेरधन राईले शिलान्यास गरेका थिए । सडक कालोपत्रेका लागि यतिबेला तीव्र गतिमा निर्माण कार्य भइरहेको छ । ओएसिस इन्जिनियर्स एण्ड बिल्डर्स प्रालिले सडक निर्माणको काम गर्दै आएको छ । सडकमा कटिङ, ग्याबिङ, नाली निर्माणलगायतका काम सम्पन्न गरेसँगै कालोपत्रेका लागि तयारी भएको कम्पनीका इन्जिनियर मिनराज तामाङले बताए ।

उनका अनुसार आगामी असारसम्म सिधुवा–शुक्रबारे–ओख्रे १६ किलोमिटर सडक कालोपत्रे निर्माणकार्य सम्पन्न गर्न कम्पनी लागिपरेको छ । ७० करोड लागतमा सडक कालोपत्रे हुनेछ । यो सडक जिल्लाको छथर क्षेत्रका साथै छिमेकी जिल्ला धनकुटा र पाँचथरका नागरिकले समेत उपभोग गर्न पाउने छन् । यस सडकमा दैनिक चारवटा बसका साथै साना तथा ठूला सवारी साधन सञ्चालन हुँदै आएका छन् । सडककै कारण वर्षेनी हैरान खेपेका यहाँका नागरिकलाई यो सडक निर्माणले खुसी छाएको छ ।

सडक सञ्चालनमा समस्या हुँदा वर्षाैंदेखि भोग्दै आएको समस्याबाट मुक्ति पाएको स्थानीय शुक्रराज लिम्बुले बताए । उनी भन्छन्, “हिउँदमा धुलाम्ये र वर्षात्मा हिलाम्ये हुने सडक कालोपत्रे भएपछि हामीले विगतमा भोग्दै आएको समस्या समाधान हुने भएको छ । सडक सञ्चालनमा समस्या हुँदा हामीले गाउँमा बिरामी हुँदा बोकेरै सिधुवा पुर्‍याउनु पर्ने बाध्यता पनि हट्ने भएको छ ।” सडक निर्माणसँगै सवारी साधन सञ्चालनका साथै स्थानीयस्तरमा उत्पादन भएको कृषिजन्य वस्तु र दुग्धपदार्थ ढुवानीमा सहज हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्