६ वर्षसम्म पुल अलपत्र
खाडीचौर-चरिकोट-जिरी सडक विस्तारसँगै ठेक्का आह्वान भएका सुनकोसी र तामाकोसी नदीमा निर्माणका लागि दुई वर्षमा निर्माण गर्ने गरी ठेक्का आह्वान भएका पुल ६ वर्ष बितिसक्दासमेत अलपत्र परेका छन् । ४० वर्षअघि निर्माण भएका पुल जीर्ण हुँदै गएका र सडकअनुसारको भार क्षमता थेग्न नसक्ने भएसँगै पुल महाशाखाले तामाकोसीमा पुलको २०७३ भदौमा ठेक्का सम्झौता गरेको थियो ।
सडक विस्तार सुरु भएसँगै पुलको ठेक्का लाग्यो । तर सडक विस्तारको काम सकेर ठेकेदारले एक वर्षअघि नै पूरा गरेको छ । पुलको निर्माण व्यवसायी पनि निलगिरि–नेसनल जेभीले लिएका हुन् । तर पुलको काम अँधुरै छन् । पुल बनाउने ठाउँमा स्थानीय घर टहरा भएर काम सुरु गर्न नसकेको भन्दै गुनासोपछि दोलखाको भीमेश्वर नगरपालिका–५ र वैतेश्वर गाउँपालिका–६ तामाकोसी बजारमा प्रशासन र स्थानीय तहले बलजफ्ती गरेर तीन वर्षअघि नै घरटहरा हटाए ।
तर कामले गतिलिन सकेन । ७५ मिटर लामो पुल करिब १० करोड रुपैयाँ लागतमा डबल लेनको आरसीसी आर्च पुल हो । निर्माण व्यवसायीले विभिन्न बहाना देखाएर काम सुस्त बनाएको ६ वर्षपछि बल्ल दुईतिरको जिप उठाएको छ । स्थानीय र पुल महाशाखाले ताकेता गरेपछि गत वर्ष पिलर उठ्यो । तर असारदेखि यता फेरि काम ठप्प छ । खाडीचौरदेखि चरिकोट सडक खण्ड विस्तारमा ढिलाइ हुँदा यात्रुले सास्ती भोग्नु परेको भन्दै पटकपटक स्थानीयले आन्दोलन गरे ।
तर पुरानो तर वैकल्पिक पुल भएकाले त्यसको असर स्थानीयलाई त भएको छैन । नयाँ पुल बन्ने भएपछि पुरानो पुलको मर्मत सम्भारसमेत नहुँदा खिया लागेको छ । ठेकेदारको काम देख्दा आफूलाई दिक्क लागेको वैतेश्वर गाउँपालिका–६ का ठाकुरप्रसाद घिमिरेले बताए । पुल महाशाखाले नै २०७३ सालमै ठेक्का आह्वान गरेको सोही राजमार्गको खाडीचौरको सुनकोसी पुलको ठेक्का पनि एउटै कम्पनीले पाएको छ ।
तर त्यो पनि अलपत्र छ । पुरानो पुलले ठूला सामान ढुवानीमा भार थेग्न नसकेको भन्दै सुनकोसी नदीमा माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले ६ वर्ष र तामाकोसी नदीमा चार वर्ष ठूलाठूला ह्युमपाइप राखेर वैकल्पिक व्यवस्था गर्नु पर्यो । पुल महाशाखा प्रमुख केदार नेपाल पुलको काम गराउन ताकेता गरिराखेको बताउँछन् । तर सरकारले न त ठेकेदारलाई काम गराउन सकेको छ न त ठेक्का तोडेर नयाँ ठेक्का लगाउन सकेको छ ।