Logo

लालपुर्जा पाउने वर्षैंको सपना पूरा

अव्यवस्थित बसोबासीलाई प्रक्रिया पुर्‍याई जग्गा धनी प्रमाणपुर्जा वितरण गरिएपछि पाल्पाको रामपुरबासी खुसी भएका छन् । विगतमा गाविस, विद्यालयले बिक्री गरेको जग्गा रसिदको भरमा स्थानीयले भोगचलन गर्दै आएका थिए । पुर्जाविहीन रामपुर बजार क्षेत्रसहित रामपुर नगरपालिका वडा नम्बर ५, ६ र ७ का नागरिकलाई १ सय ३ पुर्जा वितरण गरिएको हो ।

राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाले लामो समय पुर्जाका लागि भौतारिएका निवेदकलाई जग्गाधनी पुर्जा वितरण गर्दै भने, “देश मेरो भन्दै गर्व गर्दा आफैंले टेकेको जमिन आफ्नो थिएन तर आज तपाईं जग्गाको मालिक बन्नुभएको छ,” उनले भने, “आयोग पाल्पा गठनलगत्तै रामपुर आएर सुन्दर रामपुर पुर्जाविहीन हुनुहुन्न भनेर समस्या समाधान गर्ने वचन दिएका थियौं आज पूरा गरेका छौं आयोग जे बोल्छ त्यो पूरा गर्छ ।” पुर्जा वितरणका लागि लाग्ने सबै पक्षलाई धन्यवाद दिँदै उनले आयोग र स्थानीय तह मिलेर भूमिको समस्यालाई समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

राष्ट्रिय भूमि आयोग पाल्पाका अध्यक्ष मोहनलाल गैरेले लामो समयदेखि पर्खाइएको अव्यवस्थित घडेरीको पुर्जा वितरणको सुरुवात भएको बताउँदै अब रामपुर नगरपालिकामा निवेदन आएका ७ सय ८३ घडेरीकै पुर्जा वितरणलाई तीव्रता दिइने जानकारी दिए । कार्यक्रममा अध्यक्ष गैरेले विभिन्न समस्याको बावजुद १ सय ३ लालपुर्जा वितरण गर्ने स्थितिमा आइपुगेको भन्दै क्रमशः सबै घडेरीको पुर्जा वितरण गर्ने बताए ।

पहिलो चरणमा ३ सय ७७ जनाले राजस्व दाखिला गरी पुर्जामा नाम दर्ता गराएकाको वितरण सुरु गरेकाले राजस्व बुझाउनेको पुर्जा निरन्तर दिने, दोस्रो चरणमा २ सय ८६ घडेरीको अन्तिम सूचना प्रकाशन गरी लगत्तै पुर्जाको काम गर्ने र अन्य १ सय २० घडेरी प्रक्रियामा नै रहेकाले केही बाझिएको विषयमा काम गर्ने जानकारी दिए ।

राष्ट्रिय भूमि आयोग पाल्पाले अब जिल्लाका तानसेन र माथागढीमा पनि अब्यवस्थित र पहिले दर्ता भएको भनिएका तर कतै अभिलेख नभएका जग्गा निक्र्याेल गरी पुर्जा दिने गरि अघि बढ्ने जनाएको छ । साथै आयोगसँग सम्झौता गरेका जिल्लाका अन्य पालिकामा पनि निवेदन माग गरी काम थाल्ने अध्यक्ष गैरेले बताए ।

लुम्बिनी प्रदेश महिला तथा बालबालिकामन्त्री रमा घर्तीले पुर्जाविहीन नागरिकको मुहारमा खुसी आएको मात्र नभई प्रदेशबासीको समस्या केही हदमा हल भएको बताइन् । आयोगले प्राप्त उपलब्धिलाई रक्षा गर्दै सबैमा पुर्जा दिने वातावरण गराउन आग्रह गरे ।

प्रदेश सांसद राजुप्रसाद श्रेष्ठले अव्यवस्थित जग्गा व्यवस्थापनका काम अब वडा तहले गर्नुपर्नेमा जोड दिँदै २०५६ सालमा गाविसले गरेको जग्गा व्यवस्थापनले अहिलेसम्म सहज बनाएको स्मरण गराए । जहिले पनि जिल्लामा आयोग गठन भयो पहिलो काम रामपुरमा ग¥यो यसले सफलता पाएकोमा खुसी व्यक्त गरे । उनले सार्वजनिक जग्गा संरक्षण मञ्चले सार्वजनिक जग्गाको संरक्षणमा लागेकोले साथ दिन आग्रह गरे ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापा, आयोगका केन्द्रीय सदस्य भैरवराज रेग्मी, राष्ट्रिय भूमि आयोगका पूर्वसदस्य लेखनाथ पोखरेलले समन्वय र भएका कामको सार्थकता हातमा पुर्जा पाउनु भएको बताए ।

नेपाली कांग्रेस जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, नेकपा एमालेका रामपुर नगर अध्यक्ष विष्णुप्रसाद रेग्मी, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष यमबहादुर सुनार, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामी, जनता समाजवादी पार्टीका नवीन सुनुवार, नेकपा एकीकृत समाजवादीका जिल्ला उपसचिव कमल सेन, सहजीकरण समिति सदस्य देवेन्द्रप्रसाद पोखरेल र चिरञ्जीवी सिग्देलले पुर्जा वितरणले रामपुरको विकासमा फड्को मार्न सफल भएको बताए ।

पुर्जाधनी पहिलो लाभग्राही राजेन्द्र बस्ताकोटीले पुर्जा हातमा पर्दा खुसी लागेको बताउँदै विगतदेखिका आयोगका टिमले गरेको कामले सार्थकता पाएको बताए । राष्ट्रिय भूमि आयोग पाल्पाका अध्यक्ष मोहनलाल गैरेको अध्यक्षता, आयोगका विज्ञ सदस्य कृष्णप्रसाद अधिकारीको स्वागत र सदस्य सचिव अर्जुन पौडेलको सञ्चालनमा कार्यक्रम चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्