Logo

सामाजिक सञ्जालको प्रयोग : सुविधा कि विकृति ?

नेपालमा मात्र होइन, विश्वका अधिकांश देशमा सूचना–प्रविधिले फड्को मरिसकेको सबैमा विदितै छ । आजको २१ औं शताब्दीमा सूचना र प्रविधिले राम्रो सेवा र सुविधा दिएको छ । एउटा पुरानो युगको अन्त्य नै भएको छ । सूचना–प्रविधि हुँदा पहिले गरिँदै आएका सबै कार्य एकादेशको कथा नै बनेको छ । उदाहरणका लागि अहिले नेपालमा भएका घटनाहरू संसारका जुनसुकै देशमा बसोबास गर्ने जो–कोहीले सजिलै थाहा पाउन सक्छन् । यो एउटा सूचना–प्रविधिमा आएको चमत्कार नै हो, तर यसो भनिरहँदा यस्ता प्रविधिका फाइदाभन्दा बढी बेफाइदा देखिन थालेको छ ।
प्रविधिको प्रयोग बढाउनुपर्छ, किनकि प्रविधि र विकास एक–अर्काका परिपूरक हुन्, तर हिजोआजका युवा जनशक्तिमा हुनुपर्ने जे हो, त्यसको ठीक उल्टो प्रविधिको अवलम्बन गरिन थालेको छ । मानौं, एउटा सोसल मिडिया कतिसम्म प्रयोग गर्दा ठीक होला भन्ने बुझ्नु आवश्यक छ । उदाहरणका लागि फेसबुक, इन्स्टाग्राम, टिकटक इत्यादि । नेपाली आमजनसमुदायमा यस्ता खालका सोसल मिडियाको क्रेज बढ्दै गएको छ । मानिसहरू धेरै व्यस्त हुन थालेका छन् । विद्यार्थीले पुस्तक पढ्न छाडेका छन् । आमाबाबुले आफ्नो दैनिकी भुलेका छन् । शिक्षकले सिकाइ प्रक्रिया कमजोर बनाउँदै गएका छन् र सोसल मिडियामा बढी समय बिताउन थालेका छन् ।
हिजोआज सहरिया जीवनशैली फेरिँदै गएको छ । इन्टरनेट घरमा र स्मार्टफोन हातमा भएन भने संसार विरानो बनेकझैं लाग्न थालेको छ । घर–परिवारमा पारिवारिक गफगाफ कमै हुन्छ । बरु विदेशमा रहेका साथीले यसो गरेछ, उसो गरेछ, त्यसको यस्तो गेटअप भएछ र फलानोको आज जन्मदिन रहेछ अनि कलेजी गफगाफको त कुरै छोडौं, केके हो केके ? यस्ता प्रवित्तिले शिक्षण सिकाइमा धेरै ठूलो नकारात्मक असर पारेको छ । यसतर्फ कसको ध्यान जाला खै ?
हामी र हाम्रा छोराछोरीले शिष्टता बिर्संदै गएका छन् । दुनिया नै मोबाइल, ल्यापटप र सामाजिक सञ्जाल मात्रै हो भन्नेमा छोराछोरी पुगिसकेका छन् । त्यसैले छोराछोरीमा रहेको प्रविधि मोहलाई अभिभावकले बेलैमा सम्झाउनु जरुरी छ । पहिला–पहिला शिक्षा हासिल गर्नका निमित्त हामीले कतिको मेहनत गरेका थियौं, तर आज त्यस युगको अन्त्य हुँदै गएको छ । गाउँघरमा पनि विद्यालयको स्थापना बढ्दै गएको छ । छोराछोरीका बारेमा निगरानी गर्नु सबै बाबुआमाको कर्तव्य हो । उनीहरू साथी–संगतिले पनि यस्ता सोसल साइडमा फस्ने गरेका हुन्छन् । साना नानी–बाबुलाई यस्ता खालका सोसल साइडका बारेमा थाहा भएर र थाहा नभएरै फस्ने गरेका छन्, त्यसैले समयमै आफ्ना नानी–बाबुलाई सचेत गराउनु आवश्यक छ, ताकि भविष्यमा यसले डरलाग्दो अवस्था सिर्जना नहोस र अभिभावकले पनि यस्ता साइडमा व्यस्त हुने भन्दा पनि कति गर्दा ठीक हुन्छ भन्ने बुझ्नुपर्छ ।
अब अभिभावकहरूको कुरा गरौं, अभिभावकहरूले पनि आफ्नो बानी सुधार्नैपर्छ, किनकि तपाईंको नातागोता, इष्टमित्रले संवाद गर्दा वास्ता नगर्ने र गरिहाले पनि सोसल मिडियाका बारेमा अनावश्यक गफ गर्ने प्रवृत्ति रहेको देखिन्छ । त्यसैले यस्ता फाल्तू गफगाफभन्दा पनि व्यावहारिक ज्ञान र उपयोगी कुरा गर्नुपर्छ । आर्थिक समृद्धिको कुराकानी गर्नुपर्छ अनि मात्रै देशले आर्थिक समृद्धि र समृद्ध नेपाल पाउन सक्छ । नेपालमा बस्ने हामी नेपाली दाजुभाइ तथा दिदीबहिनीले सोसल मिडियाको प्रचारप्रसार गर्नुभन्दा हाम्रो देशमा उत्पादित वस्तु, तरकारी, अन्न, फलफूल इत्यादिको प्रवद्र्धन गर्न सकेको खण्डमा हाम्रो देश समृद्ध बन्न सक्छ । जे काम गर्दा पनि व्यावहारिक हिसाबको सोच राखौं, त्यसलाई हँसीमजाकमा नउडाऔं । उदाहरणका लागि टिकटकमा वाहियात भिडियो भाइरल बनाउनुको साटो हाम्रो देशको कृषि उत्पादनलाई प्रवद्र्धन गर्न सके सामाजिक सञ्जालको सही सदुपयोग हुन्थ्यो कि ? एकपटक सबैलाई चेतना होस् ।
—झलनाथ खतिवडा

प्रतिक्रिया दिनुहोस्