Logo

दबाबपछि भेरी करिडोरको काम तीव्र

फाइल तस्बिर ।

तोकिएको समयमा सडक स्तरोन्नतिको काम नभएको भन्दै आलोचना भएपछि भेरी करिडोरको कामलाई तीव्रता दिइएको छ । यती बिल्डर्सले सडक पिच गर्नका लागि सडकको साइट कटिङको कामलाई तीव्रता दिएको हो । जाजरकोट सदरमुकामस्थित पासागाडबाट नलगाड नगरपालिकाको तल्लु बगरसम्म पिचका लागि ठेक्का पाएको यती बिल्डर्सले पिच भइसक्ने समयमा सडकको साइटमा कटिङको काम सुरु गरेको छ ।

शक्ति केन्द्रको भरमा काममा ढिलाइ गरेको निर्माण कम्पनी बारम्बारको ताकेतापछि बल्ल काममा अग्रसर भएको हो । जाजरकोट सदरमुकामदेखि डोल्पाको दुनै हुँदै चीनको सिमानासम्म भेरी करिडोर पर्छ । उपल्लो डोल्पाका लागि समेत कच्ची कटानको काम गराउनका लागि सडक डिभिजन चौरजहारीले ठेक्का लगाएको वर्ष दिन बिते पनि निर्माण व्यवसायीले काम गर्न ढिला गर्दा समस्या हुँदै आएको छ ।

खलंगा–पासागाड–रिम्नासम्मको सडक अघिल्लो वर्ष पिच भइसक्नुपर्ने सम्झौता रहेको छ । तर निर्माण कम्पनीले अहिलेसम्म एक मिटर पिचको काम नगरी नाला कटिङदेखि तारजालीको काममै समय लगाइरहेको छ । सम्झौता भएको ६ महिना बित्न लाग्दा रिम्नादेखि तल्लुसम्मको काम हप्ता दिनअघिदेखि सुरु भएको हो ।

आठबीसकोट नगरपालिकाका पूर्वमेयर तथा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य गोरखबहादुर केसीले लिएको यो ठेक्का धिमा गतिमा काम हुँदा यो सडकभित्र यात्रा गर्ने स्थानीय हैरान भएका छन् । भाका नाघेको एक वर्षपछि कामलाई तीव्रता दिन लागेको निर्माण कम्पनीले यही आर्थिक वर्षभित्र रिम्नासम्म पिच गर्ने बताए पनि त्यो लक्ष्यमा पुग्न मुस्किल हुने देखिएको छ ।

यो सडक निर्माणको ढिलाइले जाजरकोट, रुकुम पश्चिम र डोल्पा जिल्लामा निर्माण हुने विकास निर्माणका कामहरु प्रभावित हुँदै आएका छन् । कच्ची सडकमा यातायातका साधन सञ्चालन हुँदा भाडा दरसमेत चर्को हुँदै आएको छ । भेरी करिडोरमा पुल निर्माणमा समेत समस्या हुँदै आएको छ ।

यस क्षेत्रमा निर्माण हुने ठूला जलविद्युत आयोजनासमेत सडककै समस्याले गर्दा काम प्रभावित भएको छ । यो आर्थिक वर्षमा पासागाड रिम्नासम्म पिच गर्ने लक्ष्य रहेको कम्पनीका प्रतिनिधि गोरखबहादुर केसीले बताए । काम छिटो गराउनका लागि युद्धस्तरमै खटिएको सडक डिभिजन कार्यालय चौरजहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्