सहकारीमार्फत अनुदानमा चिया काट्ने मेसिन

इलामका चिया किसानलाई नगरपालिकाले आधुनिक चिया काट्ने मेसिन वितरण गरेको छ । इलाम नगरपालिका–१ साखेजुङमा चिया काट्ने मेसिन वितरण गरिएको हो । चालु आर्थिक वर्ष २०७९/०८० मा कृषि, पशु तथा फलफूल विकास कार्यक्रमबाट पाँच वटा चिया सहकारीलाई ६० प्रतिशत अनुदानमा चिया काट्ने मेसिन वितरण गरिएको जनाइएको छ ।
सहकारीलाई नगरपालिकाका प्रवक्ता तथा कार्यवाहक नगरप्रमुख नुतन देव दुलालले सो सामाग्री हस्तान्तरण गरेका छन् । किसान अझै पनि सिक्कल र घरायसी औजारले नै चिया काट्दै आएका थिए । औजार आएपछि चिया काट्न सहज हुने अपेक्षा लिइएको छ । चिया काट्ने जनशक्तिको अभाव हुने हुँदा यस औजारले छिटो र सहज गरी चिया काट्न सकिने बताइएको छ ।
घरेलु हतियार प्रयोग गर्दा चिया काँटछाँट गर्न समस्या समेत हुने गरेको छ । मेसिनरी औजारको प्रयोगले चिया खेतीमा थप सहजता हुने किसानको भनाइ छ । जाडो बढेसँगै चियाको उत्पादन समेत ठप्प हुन्छ । यहि सिजनमा चियाका छाँटकाँट समेत गर्नु पर्दछ । हाल इलामका चिया किसान चिया छाँटकाँटमा ब्यस्त हुने गरेका छन् ।
यस सिजनमा छाँटकाँट गरेको चियालाई फागुन चैतमा मल लगाउने र गोडमेल गरेपछि वैशाखदेखि उत्पादन पुन सुरु हुने गरेको छ । जिल्लामा पछिल्लो समय आधुनिक औजारबाट नै चिया छाँटकाँट गरिँदै आइएको छ । साना किसानहरुले भने घरायसी हतियार प्रयोग गरेर नै चिया काट्ने गरेका छन् ।
चियालाई लेवल मिलाएर काट्न सके मात्र पछि सिजनमा हरियो पत्ति टिप्न समेत सहज हुने गरेको छ । चियालाई नमिलाई माटेमा उत्पादन समेत घट्ने किसानहरुको भनाइ छ । गएको वर्ष चिया काट्न चिया तथा कफी विकास बोर्डले सहजीकरण गरेको थियो । यस वर्ष किसान आफैँले चिया काट्न सुरु गरेका छन् । चिया रोपिएको तीन वर्षदेखि उत्पादन सुरु हुन्छ । तर दुई वर्षदेखि नै छाँटकाँट गर्नु पर्ने हुन्छ ।