जापानको पाँच हजार मेट्रिक टन चामल सहयोग

नेपाललाई जापान सरकारले पाँच हजार मेट्रिक टन चामल सहयोग दिएको छ । नेपाल सरकार र जापान सरकारबीच ३ करोड ५० लाख रुपैयाँ बराबरको खाद्यान्न उपलब्ध गराउने सम्झौता भएको थियो । सोहीअनुसार जापानले पहिलो चरणमा पाँच हजार मेट्रिक टन चामल उपलब्ध गराएको हो । जापान सरकारले पहिलो चरणमा ५ हजार १ सय ७४ मेट्रिक टन चामल उपलब्ध गराएको आपूर्ति मन्त्रालयले जानकारी दिएको छ ।
जापान इन्टरनेसनल को–अपरेटिभ सिस्टम र हेलिकम कर्पाेरेसनबीच सम्पन्न सम्झौताबमोजिम सुक्खा बन्दरगाह भन्सार कार्यालयमार्फत र बाँकी चामल वीरगन्ज भन्सार कार्यलयमार्फत प्राप्त हुने मन्त्रालयले जानकारी दिएको छ । खाद्यान्न सहयोग गर्न हालै अर्थसचिव र जापानका राजदूतबीच सम्झौता भएको थियो । सोही सम्झौताअनुसार जापान सरकारले चामल उपलब्ध गराएको छ । खाद्य संस्थानका विभिन्न स्थानमा रहेका गोदाममा चामल राखिएको छ ।
खाद्यान्न अभाव हुने नेपालका दुर्गम क्षेत्रमा खाद्य सुरक्षा सुनिश्चित गर्न तथा भूकम्प, बाढीजस्ता दैवी विपत्तिका बेलामा पनि खाद्यान्न अभाव हुन नदिन जापान सरकारले खाद्यान्न उपलब्ध गराउँदै आएको छ । यसअघि पनि जापान सरकारले खाद्यान्न उपलब्ध गराउँदै आएको थियो ।
सो चामल नेपाल खाद्य संस्थानले दुर्गम तथा सुगम जिल्लामा सहुलियत दरमा बिक्री गर्नेछ । खाद्य संस्थानले सहुलियत दरमा खाद्यान्न वितरण गरिरहेको छ । दुर्गम विभिन्न २३ जिल्लामा सहुलियतमा खाद्यान्न वितरण गर्न सरकारले ढुवानीका लागि रकम विनियोजन गर्दै आएको छ । खाद्यान्न ढुवानीमा सरकारले बर्सेनि करोडौ रुपैयाँ खर्च गरे पनि वास्तविक सर्वसाधारणले सहुलियतको चामल पाउन सकेका छैनन् । संस्थानले स्थानीयस्तरमा धान खरिद गरेर कुटाएर चामल बिक्री गर्दै आएको छ । संस्थानले प्रत्येक वर्ष किसानबाट धान खरिद गर्ने गर्छ ।