पुस २७ देखि ११औं गोरखा महोत्सव

गोरखा सदरमुकाममा २७ पुसदेखि ११औं गोरखा महोत्सव एवं प्रदेशस्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला हुने भएको छ । गोरखा उद्योग वाणिज्य संघको आयोजनामा हरमटारीस्थित खेलकुद मैदानमा २७ पुसदेखि ७ माघसम्म महोत्सव हुने भएको हो । संघले पत्रकार सम्मेलन गरी महोत्सवका बारेमा जानकारी दिएको हो ।
ऐतिहासिक तथा धार्मिक रूपमा जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने र स्थानीय उत्पादन, कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको संघका जिल्ला अध्यक्ष कृष्णकुमार श्रेष्ठले बताए । “जिल्लामा उत्पादन हुने सुन्तला, जडिबुटी, कृषि उत्पादनका क्रेता बिक्रेताबीच छलफलका अवसर उपलब्ध गराई बजारीकरणमा सहयोग पुर्याइनेछ,” उनले भने, “समग्र जिल्लाको उद्योग व्यवसाय सुचारु रूपले सञ्चालन गर्ने वातावरण बनाउने प्रयासमा छौं ।” महोत्सवमा लघु, साना तथा ठूला उद्योगबाट उत्पादित सामग्री, कृषि, वनजन्य र पशुसम्बन्धी वस्तुहरूको एक सयवटा प्रदर्शनी स्टल रहने आयोजकले जनाएको छ ।
स्थानीय कृषि, घरेलु पशुपालनबाट उत्पादित वस्तु परम्परागत खानपान, खेलकुद मनोरन्जनलाई प्रोत्साहन पनि दिइने भएको छ । संघका अध्यक्ष श्रेष्ठले भने, “कृषि, घरेलु र महिला उद्यमीका केही स्टललाई प्रोत्साहनस्वरुप निःशुल्क राख्ने व्यवस्था मिलाएका छौं ।” महोत्सव अवधिभर विविध सांस्कृतिक कार्यक्रम, पर्यटकीयस्थलको फोटो र वृत्तचित्र प्रदर्शनी, हस्तकला प्रविधि र सामग्री प्रदर्शनी, उत्कृष्ट स्टल प्रदर्शनी र रमाइलो मेलाका कार्यक्रम हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
पस्लाङदेखि गोरखा दरबारसम्मको आठ किलोमिटर दूरीमा म्यान अफ द गोरखा दौड प्रतियोगिता, कृषि प्रदर्शनी, खाना महोत्सव, गोरखा नगरपालिकाभित्र माविस्तरीय नृत्य प्रतियोगिता, हास्यव्यंग्य कार्यक्रम, चौथो गोरखा तारा गायन, प्रदेशस्तरीय ब्याडमिन्टन, जिल्लास्तरीय वक्तृत्वकला, रत्यौली, गाउँपालिका तथा नगरपालिकास्तरीय खेलकुद तथा सांस्कृतिक कार्यक्रम पनि हुने भएका छन् । महोत्सव स्थलमा स्वस्थ, स्वच्छ खानेपानी र सञ्चारको सुविधासहित सिसि क्यामरा जडान गरी सुरक्षाको व्यवस्था मिलाइने भएको छ ।
महोत्सव अवलोकन गर्न आउनेलाई लक्षित गर्दै जिल्लाको मुख्य बजार क्षेत्रसम्म सहज यातायातको व्यवस्थापन पनि गरिने आयोजकले जनाएको छ । महोत्सवले जिल्लाको प्रचार प्रसारका साथै स्थानीय र निजी क्षेत्रको सम्बन्ध विस्तार हुने, स्थानीयस्तरमा व्यापारिक गतिविधि बढ्ने, जिल्लाको लोकसंस्कृति एवं विविध संस्कृतिको जगेर्ना हुने अपेक्षा गरिएको संघका अध्यक्ष श्रेष्ठले बताए । महोत्सवमा ५७ लाख ३९ हजार रुपैयाँ खर्च लाग्ने र ५१ लाख ८१ हजार ३ सय रुपैयाँ खर्च भई पाँच लाख ५७ हजार सात सय रुपैयाँ बचत हुने अनुमान गरिएको छ ।
बचत भएको रकम बहुउद्देश्यीय सभाहल निर्माण, व्यापार व्यवसाय तथा पर्यटन प्रवर्द्धनका कार्यक्रम तथा पत्रकार महासंघ गोरखाको भवन निर्माणका लागि सहयोग गर्ने संघले जनाएको छ । महोत्सव प्रवेशका लागि विद्यार्थी, अशक्त, ज्येष्ठ नागरिकलाई ५० रुपैयाँ र अन्यलाई एक सय रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको आयोजकले जनाएको छ । महोत्सव सम्पन्न गर्न विभिन्न २३ उपसमिति गठन गरी काम भइरहेको उद्योग वाणिज्य संघ गोरखाले जनाएको छ ।