पोके व्यापारीलाई गाउँ छिर्न रोक

गैरकानूनी रुपमा ग्रामीण क्षेत्रमा व्यापार व्यावसाय गर्दै हिडेका पोके तथा घुमुवा व्यापारीलाई नियन्त्रणमा लिन थालिएको छ । व्यवसाय गर्दा सम्बन्धित निकायमा दर्ता गरेर तोकिएको ठाउँमा मात्र गर्नु पर्ने भएपनि विना दर्ता र कर, विलविजक नै जारी समेत नगरी कपडालगायत विभिन्न सामग्री बिक्रीका लागि पर्वतका गाउँ छिर्न लागेका व्यापारीलाई नियन्त्रणमा लिइएको हो ।
पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष गोपी अधिकारीसहितको टोलीले पछिल्ला केहि दिन यता सदरमुकामवाट गाउँ जान थालेका त्यस्ता पोके व्यापारीलाई नियन्त्रणमा लिएर व्यापार गर्न रोक लगाएको छ । कानुन विपरित पोके र घुमुवा व्यपारीका कारण राज्यलाई कर तिरी वैधानिक रुपमा सामाजिक उत्तरदायीत्वसमेत बहन गर्दै आएका जिल्लाका हजारौ व्यवसायीलाई असर परेको भन्दै नियन्त्रणमा लिइएको अधिकारीले जानकरी दिए ।
अनाधिकृत पोके व्यवसायीलाई सम्वन्धित निकायमा व्यावसाय दर्ता गरी कानून बमोजिम सञ्चालन गर्नसमेत आग्रह गरिएको छ । यस्ता व्यावसायीबाट जिल्लाको समग्र व्यापार व्यवसायमा प्रभाव पर्ने मात्र नभई ग्रामीण क्षेत्रमा सामाजिक अपराधका घटना समेत घटेकोले आवश्यक निगरानी गर्न प्रशासनलाई समेत अनुरोध गरिएको छ । पर्वतका ग्रामीण क्षेत्रमा भाडा, लत्ताकपडा, नक्कली गरगहना, कस्मेटिक सामान तथा विभिन्न औषधीको घुमुवा व्यापार गर्नेको विगविगि रहेको छ ।
जिल्लाभर सयौंको संख्यामा व्यापारी यस्तो व्यापारमा लागेको देखिएपनि नियन्त्रणका लागि प्रभावकारी कदम भने चालिएको छैन । उनीहरु मौसम अनुसारका कपडा, भाडाकुडा, तथा अन्य वस्तुहरु घरघरमै लगेर बिक्री वितरण गर्ने हुँदा सदरमुकाममा चहलपहल समेत कम हुन थालेको छ । पोके व्यापारीले स्थानीय बजारमै सस्तो र गुणस्तरहीन सामान बेच्दा राज्यलाई वर्षैनी लाखौ रुपैयाँ कर गुमाउनु परेको भन्दै स्थानीय व्यापारीकै आग्रहमा नियन्त्रणमा लिन थालिएको पर्वत उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष ठाकुरवि पौडेल जानकारी दिए ।