Logo

विद्युत अभावमा टिस्यु कल्चर सुरु हुन सकेन

फाइल तस्बिर ।

लमजुङको क्होलासोँथार गाउँपालिका-८, घाम्राङमा स्थापना भएको टिस्यु कल्चर विद्युत अभावका कारण सञ्चालन हुनबाट रोकिएको छ । बीउ बिना बिरुवा उत्पादन गर्ने प्रविधि टिस्यु कल्चरका लागि संरचनासहित उपकरण जडान भएको दुई वर्ष पुगेपनि विद्युत अभावमा सञ्चालन हुन नपाएको हो ।

कृषि तथा जडिबुटी प्रवर्द्धनमा काम गर्दै आएको हिमालयन हव सेन्टरले टिस्यु कल्चर सुरु गर्न लागेको हो । तर उक्त ठाउँमा आवश्यक मात्रामा विद्युत जडान हुन नसक्दा अहिलेसम्म सञ्चालननै गर्न नसकिएको कल्चरका अध्यक्ष गमप्रसाद गुरुङले बताए । स्थानीयस्तरमा उत्पादित लघु जलविद्युतले उपकरण सञ्चालन नहुने अध्यक्ष गुरुङको भनाइ छ ।

टिस्यु कल्चर सुरु गर्नका लागि घाम्राङमा राष्ट्रिय विद्युत प्रसारण लाइन पुगेपनि हालसम्म विद्युत जडान हुन सकेको छैन । कृषि, जडिबुटी तथा फलफूलका लागि भाइरसमुक्त नयाँ बिरुवा उत्पादनका लागि करोडौं रुपैयाँको लगानीमा “तन्तु प्रजनन प्रयोगशाला” अर्थात टिस्यु कल्चर सुरु गर्न लागिए पनि विद्युत अभावमा सञ्चालन नै गर्न नपाएपछि नोक्सानी व्यहोर्नुपरेको अध्यक्ष गुरुङले बताए ।

गण्डकी प्रदेश सरकार अन्तर्गत कृषि निर्देशनालयको केही प्रतिशत अनुदान सहयोगमा हवमा आवद्ध स्थानीय कृषकहरुको समूहले टिस्यु कल्चर सुरु गर्न लागेका हुन् । गत वर्षको दशैंसम्म संरचना निर्माण र उपकरण जडानका काम सकेर विरुवा उत्पादनको काम सुरु गर्ने तयारी गरेपनि हालसम्म सञ्चालन गर्न नसकिएको संस्थाले जनाएको छ ।

करिब ७० लाख रुपैयाँको लगानीमा स्थापना भएको सो टिस्यु कल्चरको लागि प्रदेश सरकारले २९ लाख अनुदान उपलब्ध गराएको हो । पछिल्लो समय कृषि, जडिबुटीमा शुद्ध तथा भाइरस मुक्त बिरुवा पाउन मुश्किल भएको अवस्थामा टिस्यु कल्चर स्थापना गरिएको र यहाँबाट भाइरसमुक्त बिरुवा उत्पादन गरी बिक्री वितरण गरिने अध्यक्ष गुरुङको भनाइ छ ।

टिस्यु कल्चरमा कुनैपनि नयाँ बिरुवा उत्पादनको लागि सम्बन्धित बिरुवाको तन्तु, केशिका आदिबाट नयाँ बिरुवा उत्पादन गरिन्छ । बिरुवा उत्पादन अघि भाइरस परीक्षण गर्ने तथा भाइरस मुक्त भएपछि मात्रै प्रयोगशालामा लगिने हुँदा उत्पादित बिरुवा पनि भाइरसमुक्त हुने प्राविधिकहरुको दाबी छ ।

कृषि, जडिबुटी तथा फलफूलको नयाँ बिरुवा उत्पादनका लागि लमजुङमा सुरु हुन लागेको टिस्यु कल्चर गण्डकी प्रदेश अन्तर्गतकै पहिलो हो । टिस्युकल्चरमा उत्पादित बिरुवा बिक्री वितरणमा पहिलो प्राथमिकता जिल्लाभित्र र त्यसपछि प्रदेश र अन्य जिल्लाहरुमा पनि बिक्री वितरण गरिने कम्पनीले जनाएको छ ।

कृषि विज्ञहरुका अनुसार जीवित बिरुवाको रोगरहित भाग वा एउटा कोषको प्रयोग गरी टेस्ट ट्युबमा नियन्त्रित वातावरणमा प्रसारण गर्ने विधिलाई टिस्युकल्चर प्रविधि भनिन्छ । अति बायो सेक्युरिटीसहित टिस्युकल्चर ल्याबमा उच्च प्रविधि र केमिकलको प्रयोग, प्राविधिकद्वारा नियमित जाँच गर्ने, उपचार गर्ने, कटिङ गर्ने गरी प्रोसेसमा राखिएको टिस्युलाई प्राविधिकहरुले नै रेखदेख गरी बिरुवा उत्पादन गर्ने गरिन्छ ।

प्रयोगशालामा तयार भएको त्यही सानो बिरुवा नर्सरी फार्ममा ल्याई आधुनिक प्रविधिको प्रयोगले टिस्युमा जरा, पात निकाल्ने र हुर्काउने गरिन्छ । उच्च बायो सेक्युरिटी अपनाएको हुनाले यस्ता बिरुवामा कुनै पनि रोग र भाइरस लाग्न नसक्ने र बिरुवा एकै समयको हुने भएकाले एकनासको फल लाग्ने प्राविधिकहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्