म्याग्दी र बागलुङ जोड्ने झोलुंगे पुल निर्माण

म्याग्दी र बागलुङ जोड्ने तीन सय ८८ मिटर लामो झोलुंगे पुल निर्माण भएको छ । म्याग्दी जिल्लाको बेनी नगरपालिका–१ रत्नेचौरदेखि बागलुङ नगरपालिका-४ कुडुँले फाँट जोड्ने झोलुंगे पुल निर्माण भएसँगै यात्रा सहज भएको छ । रत्नेचौर– कुडुँले पुल बनेपछि एक घण्टाको यात्रा गर्नुपर्ने बाध्यता दुई गाउँका बासिन्दालाई हटेको छ। लामो पुल निर्माण भएपछि आन्तरिक पर्यटकको घुइँचो लागेको छ ।
उक्त पुल निर्माणसँगै एक घण्टाको बाटो पाँच मिनेटमा छोट्टिएको भानु मावि रत्नेचौरका प्रअ भरत खत्रीले बताए । पुल बनेपछि रत्नेचौरमा उत्पादन हुने तरकारी र दूध बजारीकरण गर्न र पैदलमार्ग हुँदै बेनी–बागलुङ आवतजावत गर्ने सर्वसाधारण र विद्यार्थीहरुलाई सहज हुने खत्रीले बताए ।
म्याग्दी जिल्लाको रत्नेचौर, ज्यामरुककोट आसपासका क्षेत्रका बासिन्दाले सदरमुकाम बेनी बजारमा भन्दा बागलुङ बजारमा आर्थिक कारोबार र व्यापार व्यवसाय लगायतका गतिविधि गर्ने भएकाले पुलले आवतजावतमा सहजता थपेको छ । बागलुङ बजार र रत्नेचौरलाई पर्यटनसँग जोडेर विकास गर्न पुलले सहयोग गर्ने स्थानीयवासीको भनाइ छ ।
बेनीको रत्नेचौर र बागलुङको कुडुँले फाँटमा तोरी फुल्ने सिजनमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेकोमा यसवर्ष पुल निर्माणसँगै पर्यटकको संख्यामा समेत वृद्धि हुने अपेक्षा बेनी नगरपालिका १ रत्नेचौर पूर्व वडाअध्यक्ष एवं स्थानीयबासी टेकबहादुर रावलले बताए । गत असार मसान्तभित्र काम सक्ने गरी गत वर्षको असोजमा पुल शिलान्यास गरिएको थियो ।
तोरीबारीले चर्चित रत्नेचौरमा पर्यटन प्रर्वद्धन र स्थानीय व्यवसायलाई वृद्धि गर्न पुलले सहयोग पुग्ने देखिन्छ । कुडुँलेदेखि रत्नेचौर जोड्ने पुल थानी हिमशिखर जेभी निर्माण कम्पनीले निर्माण गरेको थियो । संघीय सरकारको ‘सस्पेन्सन ब्रिज’ डिभिजन काठमाडौंले म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरदेखि बागलुङ नगरपालिका–४ कुडुँले जोड्ने झोलुंगे पुल तीन करोड ५० लाख रुपैयाँमा निर्माण गरेको थियो । पछिल्लो समयमा म्याग्दीमा लामो झोलुंगे पुल निर्माणले प्राथमिकता पाएको छ ।