Logo

विराट एक्स्पो प्रवर्द्धनका लागि मोटर र्‍याली

मंसिर २९ गतेदेखि विराटनगरमा आयोजना हुन लागेको विराट एक्स्पोको प्रचारप्रसारका लागि मोटर र्‍याली आयोजना गरिएको छ ।

कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनीको प्रचारप्रसारका लागि उद्योग संगठन मोरङबाट निकालिएको र्‍याली एक्स्पो आयोजना स्थल विराटनगरस्थित डिग्री क्याम्पस, विराटनगरको महेन्द्र चोक, बरगाछी हुँदै सुनसरीको दुहबी, इटहरी, धरान पुगेको थियो । र्‍यालीले मोरङको विराटचोक, उर्लाबारी हुँदै विर्तामोड पुगेर पुनः विराटनगर आएको आयोजक समितिले जनाएको छ ।

आयोजक समितिका प्रचारप्रसार संयोजक नन्दकिशोर राठीले एक्स्पोको प्रचारप्रसारका लागि मोटर र्‍यालीको आयोजना गरिएको जानकारी दिए । र्‍यालीको अग्रभागमा विराट एक्स्पोको मस्कट राखिएको थियो । मस्कटले अहिलेको आधुनिक प्रविधिलाई उद्योग, कृषि, पर्यटन क्षेत्रमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने संकेत गरेको विराट एक्स्पोका ब्राण्डिङ आशिष लामिछानेले बताए ।

उनले एक्स्पोमा राखिएको ट्याक्टर हाँकिरहेको मस्कटले शेयर बजारको बुलिस ट्रेण्डको संकेत जस्तै उद्योग, व्यापार, व्यवसाय, कृषि, पर्यटनको प्रगतिको संकेत रहेको बताए । मस्कटको नाकमा भएको मुन्द्र्राले महिलाको संकेत गरेको र उद्योग, व्यापार, व्यवसायीक क्षेत्रमा महिलाको भूमिका महत्वपूर्ण रहेको संकेत गरिरहेको बताए ।

त्यसैगरी, एक्स्पोको प्रवर्द्धनका लागि भारत विहारको पूर्णियामा पत्रकार सम्मेलन गरिएको छ । सीमावर्ती क्षेत्रबाट ठूलो संख्यामा भारतीय नागरिकहरु एक्स्पो अवलोकन गर्न आउने अपेक्षा गर्दै पत्रकार सम्मेलन गरिएको प्रचार संयोजक नन्दकिशोर राठीले बताए ।

प्रतिक्रिया दिनुहोस्