बेनीमा सातौं म्याग्दी महोत्सव हुने

पुसदेखि बेनीमा सातौं म्याग्दी महोत्सव एवं माघे संक्रान्ति मेला हुने भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा माघे संक्रान्ति पर्वको अवसरमा २८ पुदेखि ७ माघसम्म बेनीको खुलामञ्चमा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला २०७९ को तयारी थालिएको छ ।
संघका अध्यक्ष बेलबहादुर कटुवालले २८ पुसदेखि ७ माघसम्म हुने महोत्सवबारे जानकारी गराएका छन् । स्थानीय उत्पादनको बजार प्रवद्र्धन, कला र संस्कृतीको संरक्षण, पर्यटन प्रवर्द्धन, कृषि, जलविद्युत, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरी लगानी भित्र्याउने र ब्यापार प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको अध्यक्ष कटुवालले बताए ।
महोत्सवको अवसरमा स्थानीय उत्पादन र राष्ट्रिय अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीका साथै लोक दोहोरी, खेलकुद प्रतियोगिता, राष्ट्रिय र स्थानीय कलाकारबाट गीत तथा नृत्य प्रस्तुति, पालिकास्तरीय पुख्र्यौली नाच प्रतियोगिता र झाँकी प्रदर्शनीलगायतका कार्यक्रमआयोजना गरिने महोत्सव मूल आयोजक समितिले जानकारी दिएको छ ।
महोत्सवमा हेली सयर, कालिगण्डकी नदीमा र्याफ्टिंग, बालउद्यान, मिनि चिडिया घर, स्थानीय उत्पादनको प्रदर्शनीलगायतको कार्यक्रम हुनेछन् । महोत्सव सफल बनाउन ३९ वटा उपसमितिमार्फत तयारीलाई तीव्रता दिइएको छ । महोत्सवलाई सफल बनाउन संघ, जिल्ला समन्वय समिति, ६ वटा स्थानीय तहलगायतको सहकार्य रहने छ । १० दिनसम्म सञ्चालन हुने महोत्सवमा एक करोड २५ लाख आम्दानी र एक करोड खर्च हुने अनुमान गरिएको छ ।
महोत्सवमा २ सय ५८ वटा व्यावसायिक स्टल राखिने भएको छ । स्थानीय उत्पादनलाई बिक्री र प्रचारप्रसार गर्नका लागि निःशुल्क स्टलको व्यवस्था गरिएको छ । १० दिनसम्म संचालन हुने महोत्सवमा करिब डेढ लाख आन्तरिक तथा बाह्य पर्यटक र करिब १० करोड बराबरको व्यावसायिक आर्थिक कारोबार हुने संघले बताएको छ । जिल्लाको सम्भावनालाई उजागर गर्ने उद्देश्यले २०५७ सालदेखि संघले महोत्सव लगाउँदै आएको छ ।