संरक्षण नहुँदा सधैं मारिन्छन् रेडपाण्डा

मंगलबार दिउँसो जाजरकोट कुशे गाउँपालिका–९ पैंक गाउँमा रेडपाण्ड भेटियो । स्थानीयवासीको मद्दतमा उक्त रेडपाण्डा प्रहरीको जिम्मा लगाइयो ।
प्रहरी चौकी पैंकलाई जिम्मा लगाएको रेडपाण्डा केही समयमै मृत्यु भएको खबर सार्वजनिक भयो । प्रहरीले कुशे गाउँपालिकामा रहेको डिभिजनलाई बुझाउने तयारी गरेको रेडपाण्डा बाटोमै मरेपछि जिउँदो बुझाउने प्रयास असफल भएको जाजरकोटका प्रहरी प्रमुख (डिएसपी) सन्तोष निरौलाले जानकारी दिए ।
बाक्लो निगालो हुने ठाउँबाट रेडपाण्डा गाउँमा आएपछि सबैले जानकारी पाएलगत्तै उद्धार गरिए पनि जिउँदो रेडपाण्डालाई सुरक्षित स्थानमा लिएर छाड्ने प्रयास असफल भएको हो । यसरी महिना पिच्छे लेकबाट गाउँमा रेडपाण्ड आएपनि रेडपाण्डाको बारेमा गाउँलेलाई जानकारी नहुँदा कुकुरको सिकार हुने गरेको बारेकोट गाउँपालिका–५ का जनकबहादुर शाहीले जानकारी दिए ।
उनले भने, “बारेकोटका पाटन क्षेत्रमा आगलागीबाट सबैभन्दा धेरै रेडपाण्डा मारिएको पाइन्छ । लाटो जनावर भएकाले भाग्ने थाहा नपाउँदा मर्ने र मारिने गरेको छ । वर्षायाममा भैंसी, भेडासँग पाटन क्षेत्रमा लिइएका कुकुरले सबैभन्दा बढी रेडपाण्डाको सिकार गर्ने गरेका छन् ।”
त्यस्तै पाटन क्षेत्रमा जडिबुुटी संकलनकर्ताले समेत रेडपाण्डा मर्ने गरेका पाइएको छ । हिउँदयाममा सिकार गरिएको रेडपाण्डाको अवशेष जंगलभरी भेटिने गरेको शाहीले बताए । जिल्ला प्रहरी कार्यालयले मात्र अघिल्लो आर्थिक वर्षमा पाँचवटा रेडपाण्डाका मुद्दा चलाएको प्रहरीकोे तथ्यांकमा उल्लेख छ ।
जानकारी आएका मात्र पाँच वटा घटना छन् । अन्य जानकारी नपाएका चोरीपैठारीका घटना भए पनि गाउँ घरमै मिल्ने गरेका छन् । जाजरकोटमा बारेकोट, कुशे गाउँपालिका र नलगाड नगरपालिकामा रेडपाण्ड पाइने गर्दछ । डोल्पाको मुड्केचुला र जुम्लाको पातारासी र सिंजा गाउँपालिकामा रेड पाण्डा पाइने गर्दछ ।
गाउँगाउँमा रेडपाण्डासम्बन्धी सचेतना नपुग्नु पनि रेडपाण्डा मारिनुमा मुख्य हात रहेको छ । विभिन्न संघ, संस्थाले रेडपाण्डासम्बन्धी कार्यक्रम गरे पनि ती सबै प्रभावकारी नदेखिएको सरोकारवालको दाबी छ । वर्षेनी रेडपाण्डासम्बन्धी सदरमुकाममा निश्चित व्यक्तिको सहभागितामा कार्यक्रम हुने गरेका छन् ।
सदरमुकाममा रहेको डाँफे युवा क्लबले रेडपाण्डासम्बन्धी कार्यक्रम चलाउने गरे पनि त्यो प्रभावकारी नभएको आरोप लाग्दै आएको छ । गाउँमा रेडपाण्डासम्बन्धी क्लब गठन गरेको सदरमुकाममा प्रचार गरिए पनि त्यो समितिले आफूले गर्ने कामको विषयमा जानकार नै नभएको पाइएको छ ।
त्यस्तै डोल्पाको मुड्केचुला गाउँपालिकाको पाटन क्षेत्रमा समेत रेडपाण्डा पाइने गरेको छ । गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीका अनुसार रेडपाण्डा संरक्षणका लागि पालिकाले विशेष महत्व दिएर काम गरिरहेको छ । डिभिजन वन कार्यालयको सहकार्यमा पालिकाले आफैँले पनि धेरै प्रचार र संरक्षणका काम गरेको अध्यक्ष शाहीले जानकारी दिए ।
डिभिजन वन कार्यालयका कर्मचारी फिल्डमा कम खटिने र सदरमुकममै बसेर गाउँ गएको प्रतिवेदन तयार गर्ने गरेको आरोप लाग्दै आएको छ । घटना घटेपछि मात्र घटना स्थलमा गएर मुचुल्का बनाउने काम मात्र कर्मचारीले गर्दै आएको आरोप लाग्ने गरेको नौलो विषय होइन । सदरमुकाममा जतिकै सक्रियाता पालिकामा रहेका डिभिजन वनहरूले गरेको भए धेरै सुधार हुने अपेक्षा सबैले लिए पनि काम हुन सकेको छैन ।
सदरमुकाममा घर भई पालिकामा खटिएका कर्मचारीले सबैभन्दा बढी कामचोर भएको स्थानीयबासीको भनाइ छ । यही विषयमा डिभिजन वन कार्यालय, जाजरकोटका प्रमुख राधाकृष्ण दाससँग टेलिफोन सम्पर्क गर्न खोज्दा फोन सम्पर्क हुन सकेन । कुशेको दुईवटा र बारेकोटको चारवटा सामुदायिक वन समूहसँग सहकार्य गरेर रेडपाण्डा संरक्षणसम्बन्धी कार्यक्रम गरिरहेको रेडपाण्डा नेटवर्कका भुपलाल खत्रीले बताए ।
दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । बासस्थान विनास, खण्डीकरण, चोरी शिकारीका कारण संरक्षित क्षेत्रमै संख्या कम हुनु यसका प्रमुख चुनौती हुन् । रेडपाण्डा संरक्षणमा स्थानीय सरकार जागरुक नहुनुले पनि अर्को समस्य थपिएको छ । रेडपाण्डाको संरक्षण र चोरी शिकारीमा स्थानीय सरकारले नीतिगत व्यवस्था गर्नुपर्नेमा नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए ।
लजालु स्वभावको वन्यजन्तु रेडपाण्डाको बासस्थान भनेको निगालोको जंगल नै भएकाले त्यसको संरक्षण गरिनु पर्ने उनको भनाइ छ । वन क्षेत्रमा हुने आगलागी, गाईवस्तु चरिचरन, बढ्दो मानवीय गतिविधिले रेड पाण्डाको संरक्षण चुनौतीपूर्ण देखिएको उनले बताए । उच्च पहाडी क्षेत्रका वन क्षेत्रमा पाइने रेडपाण्डाको आयु ८ देखि १० वर्षसम्म हुन्छ । पुस र फागुनमा भाले लाग्ने र जेठदेखि साउनसम्म गर्भाधान हुने महिनाको रूपमा लिइन्छ ।
रेडपाण्डालाई पर्यटन प्रवर्द्धन गर्न र अध्ययन अनुसन्धान गर्न महत्वपूर्ण वन्यजन्तु मानिँदै आइएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा कुनै पनि व्यक्तिले नियन्त्रणमा राखेको वा मारेको र ओसारपसार गरेको पाइएमा ५ देखि १५ वर्ष कैद, ५ देखि १० लाख रुपैयाँ वा दुवै सजाय हुने प्रावधान छ । रेड पाण्डाको सहवास समय र सन्तान जन्माउने समयमा रेड पाण्डाको बासस्थानमा स्थानीयलाई जान नदिने, चरिचरण गर्न नदिने, कुकुर जान नदिने गरेमा यसको संरक्षण हुने जानकारको भनाइ छ ।
रेडपाण्डाको बासस्थान विनास नगराई सामुदायिक वनलाई रेडपाण्डा संरक्षणमैत्री गतिविधि सञ्चालन गराएमा प्रभावकारी हुने अपेक्षा स्थानीयले लिएका छन् । समुद्र सतहबाट झण्डै तीन हजार ६ सय मिटर उचाइमा रेडपाण्डा बढी पाइन्छ । विश्वकै दुर्लभ वन्यजन्तु रेडपाण्डा बासस्थान र आहारा संकटमा पर्दै गएको छ ।
निगालोको टुसा र पात रेडपाण्डाको मुख्य आहारा हो । रातो हाब्रेको नामाले चिनिने रेड पाण्डाको बासस्थान विनाश, चोरी शिकारीका घटनालगायतका कारण संरक्षणमा कठिनाइ थपिँदै गएको हो । दुर्गम क्षेत्रमा यातायात, मानव बस्ती र चरिचरण क्षेत्रको विस्तार, वन डढेलो, रासायनिक वस्तुको अधिकतम प्रयोग, चोरी शिकारजस्ता कार्य भइरहेको छ ।