निर्माणाधीन चम्पावती हाइड्रोमा तोडफोड

लमजुङ र गोरखाको सीमा क्षेत्र चेपे खोलामा निर्माणाधीन सात मेगावाटको चेपे ‘ए’ जलविद्युत आयोजनामा तोडफोड भएको छ । लमजुङको बृहत सिँचाइ आयोजना राइनासटार सिँंचाइ आयोजनाको मुहान नै प्रभावित पर्नेगरी आयोजना निर्माण गरेको भन्दै प्रभावित स्थानीयले हाइड्रो तोडफोड गरेका हुन् ।
जिल्लाकै सबैभन्दा ठूलो सिँचाइ आयोजना राइनासटार सिँचाइ आयोजना प्रभावित हुनेगरी जलविद्युत आयोजना निर्माण गरेको भन्दै त्यसको विरोधमा उत्रिएका हुन् । यसअघि पटक पटक आयोजनाको काम रोक्न दबाब दिएका स्थानीयले काम नरोकिएपछि आक्रोशित हुँदै तोडफोड गरेका हुन् ।
आक्रोशित बनेका स्थानीयले आयोजनाको दुईवटा ट्रक, दुईवटा मोटरसाइकल, दुई जेनेरेटर र स्टोरमा आगलागी गरेका छन् भने आयोजनाको कार्यालय भवनमा तोडफोड गरेको प्रहरीले जनाएको छ । लमजुङका प्रहरी प्रमुख डीएसपी प्रकाश श्रीमलका अनुसार आयोजनाको डोजर र निर्माणाधीन पावर हाउसमा समेत स्थानीयले तोडफोड गरेका छन् ।
२०५२ सालमा सम्पन्न भई सञ्चालनमा आएको राइनासटार सिँचाइ योजनाको मुहान नै मासिने गरी जलविद्युत आयोजनाको विद्युतगृह निर्माण भइरहेको उपभोक्ताहरूको आरोप छ । आयोजनाको विद्युतगृह नहरको मुहानभन्दा करिब दुई सय मिटर तल हुने गरी निर्माण भइरहेको छ ।
सोही ठाउँमा विद्युतगृह बने राइनास नगरपालिकाको ८ सय ५० बढी हेक्टर जग्गामा सिँचाइको सुविधा पुगेको राइनासटार सिँचाइ योजनाको मुहान मासिने निश्चित देखिएपछि उपभोक्ता आक्रोशित भएका हुन् । प्रवर्द्धक कम्पनी चम्पावती हाइड्रो पावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको उक्त आयोजनाको ६० प्रतिशत काम पूरा भइसकेको आयोजना पक्षले जनाएको छ ।
नेपाल विद्युत प्राधिकरण र निर्माण कम्पनी चम्पावती हाइड्रोपावर कम्पनी प्रालिबीच ‘टेक अर पे’ को आधारमा विद्युत खरिद सम्झौतामा हस्ताक्षर भएको थियो । सन् २०२२ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्यसहित आयोजनाको काम सुरु भएको थियो । कम्पनीले आयोजनाको लागत एक अर्ब ३० करोड रुपैयाँ अनुमान गरेको छ । प्रतिमेगावाट करिब १८ करोड ५० लाख पर्न जाने उक्त आयोजनाले वार्षिक ४१.३७ गिगावाट विद्युत उत्पादन गर्ने जनाएको छ ।
उत्पादित विद्युत वर्षायामका ६ महिना प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र हिउँदका ६ महिना ४ रुपैयाँ ८० पैसामा प्राधिकरणले खरिद गर्ने सम्झौता भएको हो । आयोजनाबाट निस्कने विद्युत ५ किमि टाढा रहेको चिप्पेटी सबस्टेसनमा लगेर जोडिनेछ ।