Logo

पर्यटकीयस्थलमा बाक्लियो पर्यटकको भीड

हिउँद महिना सुरु भएसँगै इलामका पर्यटकीय स्थलहरूमा पर्यटकको भीडभाड बढ्न सुरु भएको छ । खान, बस्नसँगै दृष्यावलोकन र रमाइलो गर्नका लागि पर्यटकको भीडभाड सुरु भएको हो । सन्दकपुर, श्रीअन्तु, कन्याम, माइपोखरी, पानीटार, इलाम चियाबगानलगायतका ठाउँमा उल्लेख्य मात्रामा पर्यटक आउन थालेका छन् । भारतको दार्जिलिङ, मिरिक, सिक्कमलगायतका ठाउँमा जाने पर्यटकसमेत यही बाटो भएर जाने हुँदा यहाँ पर्यटकको चाप बाक्लिएको हो ।

विगतका केही वर्षमा कोरोना त्रासका कारण हिँडडुल गर्न नपाएका पर्यटक यसपटक धक फुकाएर हिँड्न पाएको बताउँछन् । काठमाडौंबाट इलाम आएका सन्दिप महर्जन केही दिनमात्र बस्ने सोचमा इलाम आएको भए पनि उनको बसाइले एक साता नाघिसकेको बताउँछन् । उनी इलाम आएसँगै उनका साथीहरूले समेत इलाम आउने बताएपछि साथीहरूको पर्खाइमा आफ्नो बसाइ लम्बिएको बताए ।

चियाबारीसँगै नजिकै रहेको भारतका समेत विभिन्न ठाउँमा सहज रूपमा घुम्न पाइने भएपछि यहाँबाट पर्यटकहरू सो क्षेत्रमा समेत जाने गरेका छन् । सोचेभन्दा पनि इलाम राम्रो लागेको अवलोकन भ्रमणमा आएकी सलिना दाहालले बताइन् । उनले इलाम आउने सपनाजस्तै भए पनि पूरा भएकोमा खुसी व्यक्त गरिन् । उनीसँगै इलाममा ३२ जनाको टोली घुम्न आएको उनले बताइन् ।

इलाममा विभिन्न प्रकारका घुम्ने ठाउँ छन् । अवलोकनका लागि प्राकृतिक क्षेत्रसहित धार्मिकस्थल, रामसार क्षेत्रमा सूचिकृत क्षेत्रहरू छन् । हिउँ पर्ने ठाउँदेखि धान फल्ने तराईसम्म यस जिल्लामा पर्ने हुँदा कृषि क्षेत्रमा समेत राम्रो सम्भावना छ । कृषि क्षेत्रको अवलोकनका लागि समेत यहाँ धेरै पर्यटक आउने गरेका छन् । चिया, अलैंचीको अवलोकन र अध्ययनका लागि समेत यहाँ अध्ययनकर्ताहरू आउने गरेका छन् । साथै लोपोन्मुख रातो हाब्रे (रेडपाण्डा) हेर्नका लागि समेत यहाँ पर्यटकहरू आउने गरेका छन् ।

सूर्योदय र सूर्यअस्त देशकै अब्बल क्षेत्र मानिएको श्रीअन्तु डाँडामा दैनिक सयौं संख्यामा पर्यटक आउने गरेका छन् । शुक्रबार त पर्यटकलाई राख्न नै समस्या हुने गरेको होमस्टे सञ्चालकहरू बताउँछन् । श्रीअन्तुमा होमस्टे र होटल गरी एक सय बढी संख्यामा रहेका आवासगृहले समेत थाम्न नसकिने गरी पर्यटकहरू आउने गरेको पर्यटन व्यवसायी रुद्र घिमिरेले बताए । उनले पछिल्लो समय भारत र बंगालादेशबाट समेत पर्यटक आउन थालेको बताए । श्रीअन्तु पोखरीमा डुंगा सयरसहित घाम उदाएको र अस्ताएको हेर्नकै लागि यहाँ पर्यटकहरू आउने गरेका छन् ।

पर्यटकहरूको सहजताका लागि प्रायः सबै होटल तथा होमस्टेमा आगो बाल्ने सुविधा हुन्छ । त्यससँगै मासु पोल्दै आफैं समेत खान सकिने हुँदा यो क्षेत्र पर्यटकको रोजाइमा पर्न थालेको छ । चिसो क्षेत्र भए पनि यहाँ कुनै दिन पर्यटकको कमी हुँदैन । फर्किंदा स्थानीयस्तरमा उत्पादित वस्तुसमेत लैजाने हुनाले सो क्षेत्रको व्यापारसमेत फस्टाएको छ । चिसो क्षेत्र मानिएको जिल्लाकै सबैभन्दा उचाइको (३६३६ मिटर) सन्दकपुरमा पनि पर्यटकको उस्तै भीड लाग्ने गरेको छ ।

यहाँ प्रायः भारत, बंगालादेश, भुटानसहित तेस्रो मुलुकबाट आउने पर्यटकको संख्या बेसी हुने गरेको छ । सो स्थानबाट फिर्दा कतिपय पर्यटक रामसार क्षेत्रमा सूचिकृत माइपोखरी समेत भएर फिर्ने गरेका छन् । नौवटा कुना रहेको माइपोखरीमा अनेकौं प्रकारका माछा छन् । माइपोखरी माइ भगवतीको दर्शनसँगै माछा अवलोकन गर्न यहाँ धेरै पर्यटक पुग्ने गरेका छन् ।

ताप्लेजुङ पाथीभराको दर्शन गर्न जाने पर्यटकसमेत यहींको बाटो भएर जाने गरेका छन् । ताप्लेजुङ पुग्न नसक्ने, रोगी वृद्धवृद्धा तथा साना बच्चालाई इलाममा रहेको पाथीभरा मन्दिरको दर्शन गराएर मनोकामना पूरा हुने विश्वास छ । त्यही भएर इलाम रोङमा रहेको पाथिभरा मन्दिरमा समेत सयौँ भक्तजन आउने गरेका छन् । झापासँग नजिक भएका कारण पनि यहाँ धेरै पर्यटक आउने गरेका हुन् ।

सानी पाथिभरासमेत भनेर चिनिने यस मन्दिरमा भक्तजन र पर्यटकको आवागमन उत्तिकै बाक्लो छ । पर्यटक र भक्तजनको बाक्लो उपस्थिति भएपछि रोङ गाउँपालिकाले प्रदेश र संघीय सरकारको समन्वयमा पर्यटन पूर्वाधार निर्माणको कामसमेत सुरु गरेको छ । यहाँ तीर्थालुका लागि खान–बस्नका लागि कुटिडाँडा बजारमा साना मझौलास्तरका होटल रेस्टुराँ र मन्दिर व्यवस्थापन समितिबाट संचालित गेष्ट हाउससमेत रहेका छन् । मेची राजमार्गको हाँसपोखरी भएर पूर्वी नेपालको प्रमुख धार्मिकस्थल सानी पाथिभरा दर्शनका लागि यात्रा तय गरिन्छ ।

पाथिभरा मन्दिर दर्शनका लागि कुटिडाँडा र हाँसपोखरी दुवै क्षेत्रबाट पदयात्रा गरिन्छ । धेरै भक्तजनले हाँसपोखरीमा रहेको सिद्धिदेवी मन्दिरको दर्शनपछि सानी पाथिभरा दर्शनका लागि पैदल यात्रा गर्दै आएका छन् । भक्तजनको सुविधाका लागि यहाँ पक्कि पदमार्ग निर्माणको काम भएको छ । हाँसपोखरीबाट पाथिभरा मन्दिरसम्म पुग्ने घोडेटो बाटोको दूरी नौ सय मिटर छ । रोङ गाउँपालिका–३ स्थित डाँडामा रहेको पाथिभरा देवीको मन्दिरको यात्राका क्रममा कुटिडाँडाका होटलमा खाजा र खाना खान पाइन्छ ।

पूर्वपश्चिम राजमार्ग चारआलीबाट उत्तर मेची राजमार्ग भएर एक घण्टाको उकालो यात्रामा पाथिभरा मन्दिर आइपुगिन्छ । भक्तजनको सुविधाका लागि पाथिभरा क्षेत्रमा गाउँपालिकाले निजी क्षेत्रको लगानीमा केवलकार संचालनको योजनाअघि सारेको छ । पर्यटक र भक्तजनको भीड लागेपछि रोङ गाउँपालिकाले पर्यटन प्रदेश र संघीय सरकारसँगको समन्वयमा पर्यटन पूर्वाधार निर्माण गर्दै आएको पालिका अध्यक्ष मनिकुमार साङबोले बताए ।

चाडबाडका साथै शनिबार र मंगलबार तीर्थालुको बढी भीड लाग्ने गरेको पाथिभरामा नेपाल, भारत र भुटानसम्मका तीर्थयात्री र पर्यटक आउने गरेका छन् । तीर्थालुका लागि खान र बस्नका लागि कुटिडाँडा बजारमा साना मझौलास्तरका होटल रेस्टुराँ र मन्दिर व्यवस्थापन समितिबाट संचालित गेष्ट हाउस पनि छन् । यीसँगै जिल्लाका अन्य दर्जनौं पर्यटकीय स्थलमा पर्यटकको बाक्लो उपस्थिति हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्