पप्पु कन्स्ट्रक्सनलाई तत्काल कारवाही गर्न विकास समितिको निर्देशन

संघीय संसदको विकास तथा प्रविधि समितिले तीनकुनेस्थित वाग्मती पुल निर्माणमा पप्पु कन्स्ट्रक्सनले बदमासी गरेको निष्कर्ष निकाल्दै तत्काल कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले निर्माणाधिन पुल निर्माणमा गम्भिर त्रुटीहरु भेटिएको निष्कर्ष निकाल्दै ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनलाई कारवाही गर्न सरकारलाई निर्देशन दिएको हो । समितिले काठमाडौं तीनकुनेस्थित वाग्मती नदीमा निर्माणाधीन पुलको स्थलगत अवलोकलन गरी तयार पारेको प्रतिवेदनमा पप्पु कन्स्ट्रक्सनलाई कारबाही गर्नुपर्ने सुझाव दिएको थियो । सोही प्रतिवेदनको आधारमा समितिले कम्पनीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । पप्पु कन्स्ट्रक्सन कम्पनी विवादित निर्माण कम्पनी हो । यसले अन्य आयोजनाहरुको काम पनि सुरु गर्ने अनि अलपत्र छाड्ने गरिरहेको छ । पप्पु कन्स्ट्रक्सनका ठेकेदारसमेत रहेका हरिनारायणप्रसाद रौनियार सांसद समेत रहेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कन्स्ट्रक्सनका तत्कालिन अध्यक्ष तथा सांसद रौनियारविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेपछि उनको सांसद पद स्वतः निलम्बनमा परेको थियो । उपत्यका सडक विस्तार आयोजनाको निर्देशन विपरित गुणस्तरहिन काम गरेको पाइएकाले सो कम्पनीलाई कार्वाही गर्न सरकारलाई निर्देशन दिनु परेको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिइन् । काम अघि नबढाउन निर्देशन दिँदादिदै पनि अटेर गरी निर्माण अघि बढाउने निर्माण व्यवसायीलाई कारवाही गर्नुपर्ने समितिको ठहर छ ।
निर्माणाधीन उक्त पुल २०७५ असार ५ गतेसम्ममा निर्माण सम्पन्न गरिसक्ने गरी काठमाडौं उपत्यका सडक विस्तार आयोजना र पप्पु कन्स्ट्रक्सनबीच २०७१ पुस ४ गते सम्झौता भएको थियो । सम्झौता अनुरुप हालसम्म निर्माण सम्पन्नपछि हस्तान्तरण गरी सञ्चालनमा आइसक्नु पर्ने थियो । तर, विवादका कारण उक्त पुलको निर्माणकार्य रोकिएको छ । निर्माणधीन पुलको ३ वटा पाइल्समा गम्भीर त्रुटी देखिएको थियो । यसपछि काठमाडांै उपत्यका सडक विस्तार आयोजनाले निर्माण व्यवसायीलाई फाउन्डेसनमा रहेको पाइल्सको समस्या समाधान गरेर मात्र काम अगाडि बढाउन निर्देशन दिएको थियो । तर, व्यवसायीले उक्त निर्देशनको पालना नै नगरी पुलको सव–स्ट्रक्चर निर्माण गरी स्ल्याब ढलानको तयारी गरेपछि विवाद सतहमा आएको हो ।