Logo

“धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पूर्वाधार”

आठौं धादिङ महोत्सव पुष ७ गतेदेखि धादिङवेसी खुल्ला मञ्चमा

“धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पूर्वाधार” नारासहित धादिङ उद्योग वाणिज्य संघ धादिङले पत्रकार सम्मेलन गरी महोत्सवको लक्ष्य, उद्देश्य र कार्यक्रम विषयमा जानकारी दिएको छ ।

“जिल्लाको सांस्कृतिक विविधताको संरक्षण गरी समग्र आर्थिक, सामाजिक विकासका लागि पर्यटन कृषि, घरेलु उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, क्षेत्रको विकास तथा साँस्कृतिक जागरण र पर्यटन क्षेत्रको प्रवर्द्धनमा टेवा पुर्‍याउँदै विभिन्न जातजाति, वर्ग र समुदायको बीच सद्भाव एवं भातृत्व अभिवृद्धि गरी आर्थिक उत्पादनको दृष्टिले जिल्लाको समुन्नतिमा संगठित रूपले प्रयत्नशील रहने” लक्ष्य लिएको संस्थाका अध्यक्ष विष्णुप्रसाद थपलियाले जानकारी दिए । ।

यसैगरी जिल्लालाई औद्योगिक, व्यापारिक, कृषि तथा पर्यटकीय क्षेत्रको रुपमा विकसित गर्ने, स्थानीय स्तरबाट उत्पादित वस्तुहरुको बजारिकरण र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, घरेलु उद्योगको प्रवर्द्धनमा टेवा पुर्‍याउने, घरेलु उत्पादन र कृषिलाई व्यवसायिक र आधुनिकीकरण तर्फ उन्मुख गराउने, निकासी योग्य वस्तुको पहिचान एवं बजार प्रवर्द्धनमा सहयोग पुर्‍याउने, यस जिल्ला तथा आसपासका अन्य पर्यटकीय स्थलहरुको विकास र विस्तारमा टेवा पुर्‍याउने, स्थानीय बजारको विकास विस्तार एवं विशिष्टिकरण तर्फ उन्मुख गराउने, उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष अन्तरक्रिया गराई सकारात्मक सम्बन्ध विस्तार गराउने, आधुनिक एवं नयां प्रविधि, उपकरण एवं मेसिनका बारेमा जानकारी गराउने, स्थानीयकला, साहित्य तथा लोक संस्कृतिको जगेर्ना गर्ने, विभिन्न जातजातीबीच सांस्कृतिक, सामाजिक तथा धार्मिक सद्भाव अभिवृद्धि गर्ने, लगानीका अवसरहरुको सृजना गर्ने, बहुप्रतिक्षित जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माणको काम अघि बढाउन सकारात्मक दबाव सिर्जना गर्ने उद्देश्य रहेको महोत्सव आयोजक समितिको रहेको अध्यक्ष थपलियाले बताए ।

बिक्री तथा प्रदर्शनी प्रवर्द्धनका लागि एक सय २० वटा स्टलमा स्थानीय तहभित्र उत्पादन हुने वस्तु तथा सेवाको प्रदर्शनी, कृषि प्रदर्शनी, साना तथा घरेलु उत्पादनको प्रदर्शनी तथा बिक्री वितरण, विविध साँस्कृतिक प्रदर्शनी, पर्यटन प्रवर्द्धन सम्बन्धी विविध कार्यक्रमहरु, स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय औद्योगिक वस्तुहरुको प्रदर्शनी तथा बिक्री, हस्तकलाको प्रदर्शनी तथा बिक्री वितरण, राष्ट्रिय तथा स्थानीय ख्याति प्राप्त कलाकारहरुबाट दैनिक साँस्कृतिक प्रस्तुति, खनिजजन्य वस्तुको प्रदर्शनी तथा बिक्री, जडिबुटीको प्रदर्शनी, बिक्री तथा जानकारी, आदिवासीहरुको भेषभुषा, सँस्कृति तथा रहनसहनको प्रदर्शनी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स वस्तुहरुको प्रदर्शनी तथा बिक्री/सूचना प्रविधी सम्बन्धी जानकारी, अटो मोबाईल्सको प्रदर्शनी तथा बिक्री वितरण, रमाईलो मेला/वालउद्यान महोत्सवका आर्कषणका रुपमा रहने पत्रकार सम्मेलनमा जानकारी गराए ।

महोत्सवको उपेक्षित उपलब्धीहरु धादिङ जिल्लाभित्र उत्पादित कृषिजन्य उत्पादन, जडिबुटी उत्पादनको प्रचारप्रसार एवं प्रवर्द्धन र व्यवसायीकरण हुनेछ, पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसार एवं प्रवर्द्धनका कारण जिल्लामा आन्तरिक तथा वाह्य पर्यटकहरुमा वृद्धि भइ नयाँ रोजगारीको श्रृजना हुनेछ र यस क्षेत्रको समग्र आर्थिक स्थितिमा सुधार आउनेछ, यस जिल्लाभित्र विविध भाषाभाषी/जातजाती/साँस्कृतिक तथा परम्पराको प्रचार प्रसार/प्रस्तुतिको माध्यमबाट जातिय भाषिक तथा साँस्कृतिक एकताको सन्देश दिइनेछ, तीन लाख जनाभन्दा बढीले महोत्सव अवलोकन गर्नेछन्, १० करोड भन्दा बढीको कारोबार हुनेछ, वस्तु तथा सेवाको उत्पादन र व्यवसायमा विविधीकरण तथा व्यवसायीकरण गर्न सहयोग पुर्‍याउनेछ , यस जिल्लाभित्रका सेवा तथा वस्तु उत्पादन र व्यवसायको तुलनात्मक लाभको क्षेत्रको पहिचान तथा विकासमा सहयोग पुग्नेछ ।

स्थानीय उत्पादनको राष्ट्रियकरण गर्न सहयोग पुग्नेछ, उत्पादक, प्रशोधक, वितरक र उपभोक्ताबीचको सम्बन्धलाई प्रगाढ बनाउन सहयोग पुग्नेछ । महोत्सवलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न मूलआयोजक समिति, सल्लाहकार समिति, सचिवालय समिति, विषयगत समिति गठन गरेको र १२ उपसमिति गठन गरेको छ । धादिङ जिल्लाको ऐतिहासिक, साँस्कृतिक, सामाजिक तथा आर्थिक विकासमा योगदान पुर्‍याउने तथाजिल्लाभित्रउत्पादित वस्तु तथा सेवाहरुको प्रदर्शनी गरी प्रचारप्रसार एवं प्रवर्द्धन गर्ने उद्देश्यले यसअघि प्रथमधादिङ महोत्सव २०६४, धादिङ कृषि पर्यटन तथा औद्योगिक मेला २०६८, राष्ट्रिय र्‍याफ्टिङ तथा धादिङ महोत्सव २०७०, मध्यमाञ्चल क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सव २०७१, पाँचौं धादिङ महोत्सव २०७३, धादिङ कृषि पर्यटन तथा औद्योगिक मेला २०७५, सातौं धादिङ महोत्सव २०७६ भव्यतापूर्वक सम्पन्न गरिसकेको छ ।

यी मेला महोत्सवबाट जिल्लामा उत्पादित कच्चा पदार्थको बिक्री तथा प्रवर्द्धनमा वृद्धि भएको छ, भने राफ्टिङ, ट्रेकिङ र साइक्लिङ गर्ने पर्यटकमा पनि वृद्धि हुनुका साथै होमस्टेहरु समेत सञ्चालन आएका छन् । जिल्लामा होटल व्यवसाय सञ्चालनमा वृद्धि भएको छ । कृषिमा औद्योगिकरण र व्यवसायीकरण गर्न तर्फ कृषकहरु पनि अग्रसर बन्दै गइरहेका छन् । यसलाई अझ प्रवर्द्धन गर्नका लागि धादिङवेसी स्थित खुल्ला मञ्चमा पौष ७ देखि १७ गतेसम्म आठौं धादिङ महोत्सव २०७९ सम्पन्न गर्ने आयोजकले बताए । पत्रकारहरुको विभिन्न प्रश्नलाई सम्बोधन गर्दै अध्यक्ष थपलियाले महोत्सवबाट बचत भएको रकमले सुविधा सम्पन्न तालिम हल बनाउने र महोत्सव सकिएको एक महिनाभित्र आम्दानी खर्च सार्वजानिक गर्ने प्रतिबद्धता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्