राष्ट्रिय कफी दिवस आज मनाइँदै

आज राष्ट्रिय कफी दिवस मनाइँदै छ । मंसिर १ गते मनाइने राष्ट्रिय कफी दिवस यसपटक चुनावका कारण आज मनाउन लागिएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्यांकअनुसार आर्थिक वर्ष २०७१/७२ मा नेपालको २ हजार ३ सय ८१ हेक्टर जमिनमा कफीखेती भएकोमा २०७८/७९ मा ३ हजार ३ सय ४३ हेक्टर पुगेको छ ।
तर, खेती बढे पनि यसबीचमा कफी उत्पादन भने १ सय ९ मेट्रिक टनले घटेको तथ्यांक छ । आर्थिक वर्ष २०७१/७२ मा ४ सय ६३ दशमलव ५८ मेट्रिक टन कफी उत्पादन भएको थियो । २०७८/७९ मा ३ सय ५५ मेट्रिक टन मात्रै उत्पादन भएको बताइएको छ ।
बोर्डका सूचना अधिकारी दीपक खनालका अनुसार माटोको कमजोर उर्बराशक्ति तथा गुणस्तरीय बीउ र मलको अभावमा उत्पादकत्वमा सुधार हुन नसक्दा जमिनको क्षेत्रफल बढेअनुसार उत्पादन बढ्न नसकेको हो । नेपालमा कफी उत्पादन हुने जमिनको क्षेत्रफल हरेक वर्ष बढ्दै गए पनि उत्पादन भने घट्दै गएको देखिएको छ । उत्पादकत्वमा सुधार गर्न नसक्दा कफी खेती गरिने जमिनको क्षेत्रफल बढे पनि उत्पादन बढ्न नसकेको हो ।