आर्थिक रूपमा सक्षम बन्दै महिला
व्यवसाय र चेतनाले फेरिँदै जीवनशैली

एक दशक पहिलासम्म गाउँका महिलालाई कसैले ऋण पत्याउँदैनथे । महिलाले कहाँबाट कमाउँछ, पछि तिर्न सक्दैनन् होला भन्ने मानसिकताले महिलालाई आर्थिक कारोबार गर्न कठिन थियो । महिलालाई मेसिनका रूपमा काममा जोताउने, बाहिर घुलमिल हुन नदिने, केही कुरा बुझने जान्ने अवसरबाट वञ्चित गराइन्थ्यो ।
पुरुषले सिन्कोसमेत नभाँच्ने र महिलाको बिहान उठेदेखि रातमा सुत्ने बेलासम्म हात खाली नहुने गरी कामममा जोतिनु पर्ने पृत्रिसतात्मक सोचबाट एक दशक पहिलासम्म जुम्ली महिला पीडित थिए । तर समयको विकाससँंगै अन्तरनिहित क्षमता र चेतनाले दुर्गमका महिलाको जीवनशैली भने फेरिँदै गएको पाइन्छ ।
अहिले सहजै बैठक भेलामा महिलाहरू खुलेर बोल्न सक्ने, आफ्ना कुरा निर्धक्क राख्न सक्नेमात्र भएका छैनन्, आर्थिक रूपमा पनि पुरुषभन्दा सक्षम भएका छन् । सरकारी तथा गैसरकारी निकायको क्षमता विकास कार्यक्रम, महिला सशक्तीकरणका नीति र समूह सहकारीका जनचेतनाले महिलाको जीवनशैली फेरिन थालेको हो ।
विगत ३/४ वर्ष पहिलासम्म घरको मेलापातमै पिल्सिन बाध्य हिमा गाउँपालिका–१ दियारगाउँकी नन्ददेवी अधिकारी आजभोलि गाउँकै नमुना उद्यमी बनेकी छन् । महिलाले व्यापार व्यवसाय गर्न सक्दैनन्, कमाउन सक्दैनन् भन्ने समाजको संकीर्ण सोचलाई समेत चिर्न अधिकारी सफल भएकी हुन् ।
उनी भन्छन्, “अहिले मेरो श्रीमान्भन्दा मलाई सबै संस्थाले ऋण पत्याउँछन् । बैंक तथा वित्तीय संस्थाहरू प्नि पुरुषभन्दा महिलाको विश्वास बढी गर्छन् । गाउँमा हुने विकास निर्माणदेखि आर्थिक उपार्जनका क्षेत्रमा पुरुष सरह महिलाको समान सहभागिता खोज्न थालेका छौं ।”
पहिले बोल्नसमेत लजाउने हिमा–१ कै दियारगाउँकी उर्मिला अधिकारी अहिले आफ्नो जीवनशैलीमा आर्थिक, सामाजिक रूपमा आएको परिवर्तन देखेर आफै दंग पर्छिन् । सामाजिक रूपमा महिलालाई दोस्रो दर्जाका नागरिकका रूपमा हेर्ने कुदृष्टिविरुद्ध बोल्न महिला एकता भएको बताइन् । हिमाका उर्मिला नन्ददेवीजस्तै सयौ विपन्न महिला व्यावसायिक बनेका छन् । जसले उनीहरूको जीवनशैलीमा सुधार आएको छ ।
प्लानको सहयोग र क्याडको साझेदारीमा संचालित (बाल छिटो तथा जबर्रजस्ती विवाह न्यूनीकरण परियोजना) ले हिमाको महिलाको जीवनशैली सुधारमा उल्लेखनीय काम गरेको हिमाकी कृष्णकुमारी रोकाया बताउँछिन् । क्याड नेपालले हिमा–१ स्थित दियारगाउँको हिमालचुली सहकारी संस्थामा ३५ लाख लगानी गरेपछि नन्ददेवी, उर्मिलाजस्तै हिमाका १ सय ३२ जना दलित, विपन्न महिला व्यवसायतिर उन्मुख भएका हुन् ।
बाख्रा पालन, कुखुरा पालन, तरकारीखेती, खुद्रा व्यापारलगायतका व्यवसायमा जुटेर हिमाका १ सय ३२ जनै महिला आफ्नो घरपरिवार चलाइरहेका छन् । घरको सामान्य नुन तेलदेखि लत्ताकपडा किन्नसमेत पुरुषकै मुख ताक्नु पर्ने बाध्यता अन्त्य भएको महिलाहरू बताउँछन् ।
हिमालचुली सहकारी संस्थामा आबद्ध ५ सय ३० जना महिला सदस्यलाई क्याड जीवनशैली परिवर्तन, क्षामता विकास, व्यवसायमा अग्रसर गराउन विभिन्न क्षमता विकासका तालिम अभिमुखीकरण गराउँदै आएको फिल्ड अधिकृत देवेन्द्र आचार्यले बताए । उनका अनुसार विगतमा घरधन्दामै व्यस्त हुने हिमाका महिलाको जीवनशैली आजभोलि फेरिएको छ ।